विजयकान्तको विश्लेषण- सत्ताको बार्गेनिङले उपेन्द्र अस्ताए, उदाएका सीकेले मधेसको मुद्दा बोक्न सक्दैनन्
काठमाडाैं । जनमत पार्टीका अध्यक्ष सीके राउतसँग जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भारी मतान्तरले सप्तरी २ बाट पराजित भए । ८ हजारको यो ठूलो मतान्तरको पराजयपछि यादव पाँच वर्षका लागि संसद बाहिर रहनेछन् । डेढ दशकअघि मधेस विद्रोहको नेतृत्व गर्दै राष्ट्रिय राजनीतिमा उदाएका यादव यसपटक नराम्रोसँग पराजित भए । यादवमात्रै होइन, क्षेत्र परिवर्तन गरेका लोकतान्त्रिक समाजवादी पार्टी नेता लक्ष्मणलाल कर्णको त पर्सा १ बाट जमानत नै जफत भएको छ । जसपाका प्रदीप यादव २२ हजार बढी मतले निर्वाचित हुँदा कर्णले ११ सय मतमात्रै पाए ।
लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी ३ मा स्वतन्त्र उम्मेदवार राम आधार कापरभन्दा पछि परेका छन् । सर्लाही २ मा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो माओवादी केन्द्रको चुनाव चिह्न लिएर उठेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवसँग प्रारम्भिक मतगणनामा पछि परेका छन् । भलै ठाकुर र महतोको क्षेत्रमा धेरै मत गन्न बाँकी नै छन् ।
अर्कातिर रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी कैलाली ३ मा निर्वाचित भइसकेका छन् । रेशमकै बाबु लालवीर चौधरीले स्वतन्त्र रुपमा बर्दिया २ बाट प्रतिनिधिसभामा जितेका छने । कैलाली १ मा रेशमी श्रीमती रञ्जिता श्रेष्ठले अग्रता लिइरहेकी छन् । कोर मधेसमा मधेसवादी दलका शीर्ष नेताहरु पछि परिरहँदा पश्चिम नेपालमा उन्मुक्ति पार्टी दरिलो रुपमा प्रस्तुत भइरहेको छ । मधेसको मुद्दा बोकेर राष्ट्रिय राजनीतिमा उदाएका दलका नेताहरु किन पछि परिरहेका छन् ? २०६४ सालमा दुईदुई ठाउँबाट निर्वाचन जितेका उपेन्द्र यादव पराजित हुनुको कारण के हुनसक्छ ? पश्चिम नेपालमा नागरिक उन्मुक्ति पार्टी उदाउनुको राजनीतिक कारण के हो ? यिनै विषयमा हामीसँगको संवादमा प्राध्यापक तथा राजनीतिक विश्लेषक विजयकान्त कर्णले यसरी गरे विश्लेषणः
अहिले मधेसी पार्टीहरु जसरी कमजोर देखिए, त्यसको मूल कारण भनेको काठमाडौंमा उनीहरुले गरेको सत्ता बार्गेनिङ प्रमुख कारण हो । त्यो उनीहरुका लागि नै प्रत्युत्पादक भयो ।
उपेन्द्र यादवको पराजय : काठमाडौंमा सत्ताको बार्गेनिङमात्रै गर्नुको परिणति
यसबारे अहिले नै समीक्षा गर्ने वेला भइहालेको छैन । २०६४ मा उहाँको पार्टीको उदय भयो । २०७० मा नराम्रोसँग हार्नुभयो । त्यसवेला दुई सीट जित्नुभएको थियो । महन्थ ठाकुरले चार सीट र विजय गच्छदारले तीन सीट जित्नुभएको थियो ।
जनमत पार्टीले प्रतिनिधिसभामा एउटामात्रै सीट जितेको हो । उपेन्द्र जीको पार्टीले अहिले पनि चार ठाउँमा लिड गरिरहेको छ । उहाँको पराजयले उहाँलाई जरुर असर गरेकै हो । गृह जिल्लामा हार्नु भनेको सेट ब्याक हुनु हो ।
अहिले मधेसी पार्टीहरु जसरी कमजोर देखिए, त्यसको मूल कारण भनेको काठमाडौंमा उनीहरुले गरेको सत्ता बार्गेनिङ प्रमुख कारण हो । त्यो उनीहरुका लागि नै प्रत्युत्पादक भयो । मधेसी जनताले उनीहरुलाई सत्ताको बार्गेनिङ गर्न मत दिएका थिएनन् । काठमाडौंमा मधेसी जनताको अधिकार, मुद्दामाथि बोल्न, मधेसी जनतालाई नीति निर्माणमा पहुँच राख्न मत दिएका थिए । तर, काठमाडौं गएपछि उहाँहरु भटाभट मन्त्री बन्न थाल्नुभयो । कहिले एमालेतिर, कहिले कांग्रेस त कहिले माओवादीतिर गएर जसरी हुन्छ, मन्त्री बन्ने ध्येय राख्नुभयो ।
२०६४ पछि काठमाडौं ठूलो संख्यामा सांसद लिएर आएका थिए उनीहरु । त्यो संसद संख्या सत्ता प्राप्तिबाहेक अरु मुद्दामा कामै लागेन । २०७४ मै पनि मधेसी जनताले अनुमोदन गरेका थिए । मधेस प्रदेशमा सरकार पनि बनाए । तर, फेरि उहाँहरु त्यही बन्नुभयो । त्यसैको परिणति देखिएको हो अहिले । यादवजीलाई जनताले पटकपटक अवसर दिएकै हो । तर, उहाँले सक्नुभएन । अब उहाँ पार्टी बनाउनतिर लाग्नुहुन्छ सायद । उहाँको पार्टी सबैभन्दा बढी फुट्ने पार्टी पनि हो र सबैभन्दा छिटो कमब्याक हुने पार्टी पनि हो ।
राउतको ठाउँमा अरुले मधेसको मुद्दालाई कडा ढंगले उठाएको भए धेरैथोक हुनसक्थ्यो । तर, राउतले आफूले जिते । सिंगो मधेस जित्न सकेनन् । उनले पूरै मधेसलाई उठाउन सकेनन् । स्वतन्त्र मधेस त मधेसी जनताले अस्वीकार गरेको मुभमेन्ट हो !
सीके राउतले मधेसको मुद्दा बोक्न सक्दैनन् : स्वतन्त्र मधेस मधेसी जनताले अस्वीकार गरेको नारा हो
उहाँले एक-दुई सीट जितेर कमाल गर्ने अवस्था देखिँदैन । उहाँभन्दा बढी त नागरिक उन्मुक्ति पार्टीले जितिरहेको छ । त्यसैले अहिल्यै बोलिहाल्न हतार हुनसक्छ । सीके राउत सात-आठ वर्षदेखि नेपालको राजनीतिमा हुनुहुन्छ । स्वतन्त्र मधेस बनाउनतिर लाग्नुभयो । पछि सकिँदैन भनेर ओलीसँग सम्झौता गर्नुभयो ।
मधेसलाई स्वतन्त्र राज्य होइन, यो देशलाई स्वीकार गरेर उहाँ अगाडि बढ्नु राम्रो देखिन्छ । उहाँले संसदमा लगातार मधेसको मुद्दा उठाउनुभयो, लडिरहनुभयो भने मधेसी जनताको मत जित्ने सम्भावना रहन्छ । तर, एक-दुई सांसदको भरमा त्यो सम्भव देखिँदैन । अब उहाँले काठमाडौंमा सदन र सडकमा के गर्नुहुन्छ, त्यसले सबै निर्क्योल गर्नेछ । अर्कोतर्फ उहाँहरुले पार्टीको संगठन कसरी बनाउनुहुन्छ, त्यसमा पनि भर पर्छ ।
यदि मधेसमा सीके राउत नभएर अर्को कोही नेता हुन्थ्यो भने मधेसको जनमतलाई पूँजीमा बदल्न सक्थे । राउतको ठाउँमा अरुले मधेसको मुद्दालाई कडा ढंगले उठाएको भए धेरैथोक हुनसक्थ्यो । तर, राउतले आफूले जिते । सिंगो मधेस जित्न सकेनन् । उनले पूरै मधेसलाई उठाउन सकेनन् । स्वतन्त्र मधेस त मधेसी जनताले अस्वीकार गरेको मुभमेन्ट हो ! स्वतन्त्र मधेसको मुद्दालाई मधेसी जनताले स्वीकार गरेनन् ।
मधेसी जनताले कांग्रेस, एमाले र मधेसी पार्टीहरुमा केही फरक देखेनन् । मधेसी दल सत्तामा पुगेपछि ठूला दल जस्तै बने । फरक देखिएन । त्यस्तो स्थितिमा मधेसी दलबाट फाइदा के ?
मधेसी जनताले मधेसवादी दल र राष्ट्रिय दलहरुबीच केही फरक देखेनन्
उपेन्द्र यादव पराजित हुँदैमा उनी सकियो भन्न अलि मिलेन । बाँके, कैलालीतिर एक सालअघि नागरिक उन्मुक्ति भन्ने पार्टीको नामै थिएन । अहिले बर्दिया, रुपन्देहीमा समेत चुनौती दिइरहेका छन् । तर, मधेसमा कांग्रेस, एमालेको कमब्याक भएको हो ।
मधेसी जनताले कांग्रेस, एमाले र मधेसी पार्टीहरुमा केही फरक देखेनन् । मधेसी दल सत्तामा पुगेपछि ठूला दल जस्तै बने । फरक देखिएन । त्यस्तो स्थितिमा मधेसी दलबाट फाइदा के ? अब स्कुल नै बनाउने हो भने, जागिरकै लागि भने त राम्रो भनेको कांग्रेस, एमाले र माओवादी नै होलान् । मधेसवादी दलभन्दा राम्रो तिनीहरु नै होलान् भन्ने मधेसी जनताले सोचे र उनीहरु कमब्याक भए ।
मधेसको मुद्दा त समावेशिताको थियो । राज्यमा पहुँचको थियो, पहिचानको थियो । त्यसमा मधेसवादी दल चुके । हिजो कांग्रेस, एमालेहरुले राम्रो प्रस्तुति नदिँदा मधेसवादी दलहरुको उदय भएको हो । तर, तिनले पनि उस्तै काम गरेकाले अहिले सजाय पाएका हुन् । फेरि मधेसी जनतालाई विश्वास दिलाउन सके उनीहरु ब्याक हुने सम्भावना चाहिँ छ ।
तर, ठूला दलले मधेसको मुद्दा उठाउन सक्दैन
मधेसका जनता अन्यायमा थिएनन् भने थारु पार्टी नै खुल्दैन थियो । उपेन्द्र यादव त एमाले र माओवादीका नेता थिए । फोरम किन जन्मन्थ्यो र ! सद्भावना किन जन्मन्थ्यो । जमानामै तराई कांग्रेस किन जन्मन्थ्यो र !
ओलीसँग दुईतिहाइ बहुमत थियो । संविधान संशोधन गरेर, सबै पार्टीलाई एक ठाउँमा राखेर उनले मधेसको मुद्दा सम्बोधन गर्न सक्थे । तर, सबै ठूला दलले मधेसको मुद्दालाई मजाकको विषयमात्रै बनाए । चुनावका लागि राजनीतिक मुद्दामात्रै बनाए ।
माओवादी, एमाले, कांग्रेसले मधेसको मुद्दा उठाउन सक्दैनन् । सक्ने भए २०४८, २०५१, २०५६ सालमै एड्रेस गर्ने थिए । राष्ट्रिय पार्टीहरुले मधेसको मुद्दालाई एड्रेस गरिदिएको भए धेरै राम्रो हुने थियो । तर, यी पार्टीहरुले समावेशिताको अभ्यास नै कहिल्यै गरेनन्, गर्दैनन् ।
रेशम चौधरीले नै थारुको मुद्दा सम्बोधन त गर्न सक्दैन । उनीहरुले संसदमा लगातार विपक्षमा रहेर बोलिरहेमा धेरै ठूलो काम गर्न भने सक्छन् । मुद्दा नै सम्बोधन गर्न सक्छ भन्ने चाहिँ छैन ।
रेशम चौधरी र नागरिक उन्मुक्तिको उदयको अन्तर्य
रेशम चौधरीलाई झूटा मुद्दा लगाएर जेल थुने । चोर, फटाहाहरुलाई चाहिँ उन्मुक्ति दिए । रेशमहरु निर्दोष छन् भनेर सरकारकै रिपोर्टले भन्छ । तर, त्यो रिपोर्ट कहाँ लुकाए ? न्यायका लागि थारुहरु रोईकराई गरेर सबै शक्ति केन्द्रमा पुगे । तर, उनीहरुले न्याय पाएनन् ।
निर्दोष थारुहरुसँग राज्यले ठूलो ज्यादती गरेको छ । पश्चिम नेपालका तथाकथित लोकतान्त्रिक, वामपन्थी नेताहरुले नै अन्याय गरेका छन् । त्यसैको नतिजा हो नागरिक उन्मुक्ति पार्टीको उदय । यो ठूला दलका लागि ठूलै चुनौती हो । रेशम चौधरीले नै थारुको मुद्दा सम्बोधन त गर्न सक्दैन । उनीहरुले संसदमा लगातार विपक्षमा रहेर बोलिरहेमा धेरै ठूलो काम गर्न भने सक्छन् । मुद्दा नै सम्बोधन गर्न सक्छ भन्ने चाहिँ छैन ।
२०–२५ वर्षअघि बनेको सुदूरपश्चिम प्रान्त हुने । हजारौं वर्षदेखि बसेको थारु प्रान्त किन नहुने ? एउटा थारु प्रान्त बनाउँदा राज्यलाई के समस्या हुन्छ ? थारुलाई मुक्त कमैया बनाउन मिल्ने, शोषण गर्न मिल्ने, लुट्न मिल्ने तर, प्रान्त बनाउन नमिल्ने ? त्यसको नतिजा यसपटक देखिएको हो ।
महन्थ ठाकुरलाई समेत जनताले अनुमोदन नगर्ने सम्भावना धेरै छ
महन्थ ठाकुर पहिला पनि चुनाव हार्नुभएको हो । तर, राजनीतिमा निरन्तर हुनुभयो । एउटा चुनावले दल र नेताहरुको भविष्य निर्धारण गर्न सक्दैन । तर, जसपा र लोसपाले मधेसी जनताले खोजेको कुरा छाडेपछि ती दल र नेताहरुको यस्तो हविगत भएको हो । यसमा जनताको भन्दा पनि उहाँहरुको आफ्नै देन बढी छ । त्यसैले अब उहाँहरुले कोर्स करेक्सन नगरी कुनै उपाय छैन ।
भारतीय एजेण्टहरूलाई जसपा अकस्मात एमालेसँग मिलेको पचेको थिएन । त्यसैले लोसपा सकिएको तिनलाई मतलव छैन । तिनले जसपालाई मात्र गाली गर्छन किनकी त्यसको लागि तिनलाई दुतावासले हण्डी खुवाएको छ ।