रुपन्देही १ को रोचक चुनावी गणनाः छविलाल अघिअघि घनश्याम भुसाल पछिपछि
रुपन्देही । रुपन्देही क्षेत्र नं १ मा सुरुवाती मतगणनादेखि नै थोरै मतले अग्रता लिइरहेका नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले मतान्तर बढाउँदै लगेका छन् । उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिन एमाले छाडेर सत्तारुढ दलको गठबन्धनबाट उम्मेदवार बनेका घनश्याम भुसालले विश्वकर्मालाई पछ्याइरहेका छन् ।
९५९८७ मत खसेको यो क्षेत्रमा अहिलेसम्म ६३१८८ मत गणना भएको छ । पछिल्लो पटक सार्वजनिक परिणामअनुसार एमालेका विश्वकर्माले १५१९८ मत ल्याएका छन् भने सत्तारुढ गठबन्धनका उम्मेदार भुसालले १२५५३ मत ल्याएका छन् ।
सुरुवाती चरणमा यहाँबाट नागरिक उन्मुक्तिका धनीराम चौधरी प्रतिस्पर्धामा आएपनि अहिले पछाडि छन् । अहिले उनको ८४९६ मत रहेको छ । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदारले ७८४२ मत ल्याएका छन् भने जनमतका उम्मेदारले ३९६८ तथा स्वतन्त्र उम्मेदारले उम्मेदारले २०१० मत ल्याएका छन् ।
अन्य क्षेत्रको तुलनामा यो क्षेत्रमा धेरै जनाले मत ल्याएका कारण पनि अब अग्रता ल्याउनेलाई सजह देखिन्छ । एमाले, राप्रपा र जसपाको तालमेलका उम्मेदार छविलाल विश्वकर्माले भन्दा सत्तारुढ ५ दल तथा लोसपा, जनमुक्तिसहितका दलको गठबन्धनका उम्मेदार घनश्याम भुसालले यो क्षेत्रमा जित्नसक्ने धेरै सर्वेक्षण गर्नेहरुले बताएकाले पनि यहाँको चुनावी नतिजा रोचक बनेको हो ।
पछिल्लो मत परिणामको अवस्थालाई हेर्दा सर्वेक्षणमा देखाइएजस्तो घनश्याम भुसालको जित सहजता देखिदैन । गणना गर्न बाँकी रहेको करिब ३२ हजार मतले विश्वकर्मा र भुसालको नतिजा बताउने छ ।