एजेन्डा कार्यान्वयन गर्न प्रदीप पौडेलले थाले छलफल – Nepal Press

एजेन्डा कार्यान्वयन गर्न प्रदीप पौडेलले थाले छलफल

काठमाडौं । काठमाडौं ५ बाट निर्वाचित नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रतिनिधिसभा सदस्यका उम्मेदवारसँग छलफल गरेका छन् ।

सबैको साझा प्रयासले मात्रै सबै एजेन्डाहरू कार्यान्वयन गर्न सम्भव हुने भएकाले उनले आफ्ना प्रतिस्पर्धीसँग छलफल गरेका हुन् ।

आफ्ना प्रतिस्पर्धीसँग भेटेपछि उनले फेसबुकमा लेखेका छन्, ‘यस क्षेत्र र समग्र राष्ट्रको विकासका लागि सहयात्राको सुरुवात गर्न यस क्षेत्रका प्रतिनिधिसभा सदस्यका उमेदवारसँग छलफल कार्यक्रम सुरु गरेको छु ।’

निर्वाचनको दौरानमा प्रस्तुत भएका प्रतिबद्धता, एजेण्डालाई सबैको साझा मुद्दा बनाएर सँगसँगै अगाडि बढ्ने उनले प्रतिबद्धता जनाएका छन् ।

छलफलमा काठमाडौं ५ का उम्मेदवारहरु सुशान्त श्रेष्ठ, भीमबहादुर मगर, रमेश केसी, मधुसुदन पाठक र विनिता अर्यालको उपस्थिति थियो । सहभागी उम्मेदवारहरुले निर्वाचित सांसद पौडेलले निर्वाचनपश्चात छलफल कार्यक्रम आयोजना गरेर नयाँ शैलीको थालनी गरेको भन्दै आफ्नो तर्फबाट पूर्ण साथ र सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नवनिर्वाचित सांसद पौडेलले यस क्षेत्रका जनताको सल्लाह, सुझाव र गुनासाहरु तथा यस क्षेत्रमा रहेका समस्याहरु सम्बोधन गर्न र सांसदसँग जोडिने माध्यमका रुपमा प्रतिस्पर्धी उम्मेदवार सुशान्त श्रेष्ठले बनाएको गुनासो एपलाई थप परिमार्जनसहित सञ्चालनमा ल्याउने उद्घोषसमेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर