विश्वकप : जर्मनी र कोस्टारिकाबीचको खेल महिला रेफ्रिले खेलाउने
काठमाडौं । पुरुष विश्वकप खेलको इतिहासमा पहिलो पटक महिला रेफ्रीले खेलाउने भएका छन्।
बिहीबार कतारमा जारी विश्वकप २०२२ अन्तर्गत समूह चरणमा जर्मनी र कोस्टारिकाबीचको खेल महिला रेफ्रीको टिमले खेलाउने छन् ।
स्टेफेनी फ्रापार्ट पुरुष विश्वकप खेलाउने पहिलो महिला रेफ्रि हुनेछिन् ।
फ्रेन्च फ्रापार्ट बुधवार मेक्सिको र पोल्यान्डको खेलमा ‘फोर्थ अफिसियल’ चुनिएपछि विश्वकपमा पहिलो महिला अफिसियल बनेकी थिइन् ।
उनलाई मैदानमा बिहीबार ब्रजिलियन न्यूजा ब्याक र मेक्सिकन कारेन डाइज मेदिनाले अलबेट रंशलामा साथ दिनेछन् ।
फ्रापार्ट सन् २०२० मा पुरुष च्याम्पियनन्स लिग खेलाउने पहिलो महिला रेफ्री बनेकी थिइन् ।
‘मैदानमा हुने दबाब हामीलाई थाहा छ । तर, मलाई के लाग्छ भने हामी आफूलाई परिवर्तन गर्दैनौँ बाहिरी कुरा सुन्दैनौ र मैदानमै केन्द्रित हुन्छौँ’, फ्रापार्टले बीबीसीलाई भनिन् ।
महिला रेफ्री भएकै कारण खेलाडी, म्यानेजर अफिसियलहरुले कमेन्ट गरेका छन् की छैनन्, भन्ने प्रश्नको प्रतिउत्तर गर्दै फ्रापार्टले भनिन्,‘ जबदेखि मैले सुरु गरे मैले टिम, क्लबहरू र खेलाडीहरूबाट धेरै नै साथ पाएकी छु । मैले पुरुष रेफ्री सरहनै रंगशालामा स्वागत पाएकी छु । र, आसा छ यस पटक पनि त्यस्तै हुनेछ ।’
कतार विश्वकपका लागि छनोट भएका ३६ अफिसियल मध्य फ्रापार्ट, र्वान्दाकी सलिमा मुकान्साङ्गा र जापानकी योसिमी यामासिता महिला रहेका छन् ।