मकवानपुरमा प्रहरी कार्यालयमै कांग्रेस कार्यकर्ताद्वारा पत्रकारमाथि आक्रमण प्रयास (भिडिओ)
हेटौँडा । आफूहरूलाई कुटपिट गर्ने कांग्रेस कार्यकर्ताविरुद्ध उजुरी दिन पुगेका पत्रकार थप असुरक्षित बनेका छन् । कांग्रेस र भ्रातृ संगठनका कार्यकर्ता जिल्ला प्रहरी कार्यालय मकवानपुर पुगेर पत्रकारको समूहमाथि आक्रमण गर्न खोजेका छन् ।
नेपाली कांग्रेस वागमती प्रदेश सभापति एवं नवनिर्वाचित सांसद इन्द्रबहादुर बानियाँविरुद्ध समाचार लेखेको भन्दै कांग्रेस कार्यकर्ताले गएराति एक होटलमा रमेश बञ्जरा (इन्द्र) र रामकुमार एलनमाथि कुटपिट गरेका थिए ।
दोषीलाई कारबाहीको माग गर्दै उजुरी दिन पुगेका पत्रकारहरूमाथि कांग्रेस कार्यकर्ताले प्रहरी कार्यालयमै आक्रमण गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको छ । नेता बानियाँका पीए मिलन पुडासैनी, तरुण दलका नेता विकशलाल श्रेष्ठ, कुमार पोखरेललगायत करिब एक सय जनाको संख्यामा रहेका कांग्रेस कार्यकर्ता प्रहरी कार्यालयमा पत्रकार कुट्न पसेका थिए ।
प्रहरीले बल प्रयोग गरी उनीहरूलाई गेटबाहिर निकालेको छ । अहिले पनि कांग्रेसका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।
पत्रकारहरू अहिले प्रहरी सुरक्षामा कार्यालय परिसरमा छन् ।
यो पनि पढ्नुहोस् : कांग्रेस कार्यकर्ताद्वारा मकवानपुरका दुई पत्रकारमाथि कुटपिट, इन्द्र बानियाँविरुद्ध समाचार लेखेको आरोप