विराटनगरमा १६ सय कुकुरको बन्ध्याकरण गरिने – Nepal Press

विराटनगरमा १६ सय कुकुरको बन्ध्याकरण गरिने

विराटनगर । विराटनगर महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । महानगरले मेयर नागेश कोइरालाको उपस्थितिमा विराटनगर–१९ स्थित वडा कार्यालयबाट अभियानको सुरु गरेको हो ।

अभियानअन्तर्गत सामुदायिक कुकुरको बन्ध्याकरण गर्नुका साथै रेबिजविरुद्धको खोपसमेत लगाइनेछ । पहिलो दिन कञ्चनबारी, नोवेल, पञ्चमुखीचोक, पाञ्चालीलगायतका स्थानबाट सामुदायिक कुकुरलाई नियन्त्रणमा लिएर बन्ध्याकरण गरिएको पशुपंक्षी विकास शाखाका प्रमुख शुभ नारायण यादवले जानकारी दिए ।

विराटनगर–१९ मा रहेको पशु सेवा सम्पर्क कार्यालयमार्फत बन्ध्याकरण गरिनेछ । विराटनगरका सबै वडाभित्र रहेका सामुदायिक कुकुर नियन्त्रणमा लिएर केन्द्रमा पुर्याइनेछ ।

केन्द्रमा पशु विशेषज्ञबाट मेल र फिमेल कुकुरको बन्ध्याकरण गरिने उनले बताए । सहारा एनिमल केयरसँगको सहकार्यमा सञ्चालन गरिएको अभियानअन्तर्गत पहिलो चरणमा ४ सय कुकुरको बन्ध्याकरण गर्नुका साथै रेबिजविरुद्धको खोप लगाइनेछ ।

बन्ध्याकरण र रेबिजको खोप लगाएपछि सम्बन्धित कुकुरलाई नियन्त्रणमा लिएकै स्थानमा लगेर छाडिनेछ । बन्ध्याकरण गरिएका कुकुरलाई मासु, अण्डालगायतका खानेकुरासमेत खुवाइने शाखा प्रमुख यादवले बताए ।

विराटनगरमा सामुदायिक कुकुरको समस्या रहेकाले बन्ध्याकरण अभियान सञ्चालन गरिएको नागेश मेयर कोइरालाले बताए । ‘मर्निङवाकमा हिंड्दा पनि सामुदायिक कुकुरको डर मान्दै हिँड्नुपर्ने अवस्था छ,’ उनले भने, ‘बन्ध्याकरण गरेर सामुदायिक कुकुरको वृद्धि रोक्ने र भएका कुकुरले टोकेमा रेबिज नलागोस् भनेर खोप अभियान पनि सँगै सञ्चालन गरेका छौँ ।’

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले महानगरले विभिन्न चरणमा १ हजार ६ सय कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य राखेको जानकारी दिए ।

उनका अनुसार एउटा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाउँदा २ हजार ५ सय रुपैयाँ खर्च लाग्नेछ । पहिलो चरणको सम्पूर्ण खर्च महानगरले व्यहोर्नेछ । अन्य प्राविधिक सहयोग सहाराले गरेको छ । दोस्रो चरणमा महानगर र सहाराले ६–६ सय कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाउने सम्झौता भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *