श्रीमान चौधरीविरुद्ध रामगोपालपुर नपाको न्यायिक समितिमा पुगिन् नेहा (भिडिओ)
जनकपुरधाम । घरेलु हिंसाको शिकार बनेकी नेहा चौधरीले श्रीमान् डा. पंकज चौधरीविरुद्ध महोत्तरीको रामगोपालपुर नगरपालिकाको न्यायिक समितिमा पनि मुद्दा दायर गर्ने भएकी छन् ।
पीडित चौधरी आज रामगोपालपुर नगरपालिकाको कार्यालय पुगेकी थिइन् । तर, मेयर रामदुलास साह, न्यायिक समितिको संयोजक एवं उपमेयर रीनादेवी यादव, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार मण्डल कार्यालयमा नभेटेपछि उनी मुद्दा दर्ता नगरी फर्किन बाध्य भइन् ।
नगरपालिकाका एक कर्मचारीका अनुसार मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत कार्यक्रममा सहभागी हुन बर्दिबास गएका छन् । मेयर साहलाई फोन गर्दा आउन समय लाग्ने बताएको नेहाले जानकारी दिइन् । उनले भोलि मुद्दा दर्ता गर्ने बताइन् ।
नेहासँग कुमारी आमा निहारिका राजपुत पनि नगरपालिका गएकी थिइन् । निहारिकाले मेयर साहसँग नगरपालिकामा पटक–पटक आउँदा पनि भेट नभएको गुनासो गरिन् ।
‘गाउँको बुहारी तीन महिनादेखि सडकमा भौतारिरहेकी छन्, तपाईंहरु मिलाउन सक्नुहुन्न ?’ भन्ने निहारिकाको जिज्ञासामा मेयर साहले अहिले आफू कार्यक्रममा छु रहेकाले दुवै पक्षलाई बोलाएर छलफल गर्ने जवाफ दिएका थिए ।
नेहा काठमाडौंमा कक्षा ११ मा पढ्दै गर्दा डा. चौधरीसँग प्रेममा परेकी थिइन् । त्यतिवेला चौधरी एमबीबीएस अध्ययनरत थिए । प्रेममा परेको तीन वर्षपछि उनीहरुबीच विवाह भयो । नेहाका परिवारले ५१ लाख रुपैयाँ नगद र २० तोला सुन दाइजो दिएको थियो ।
विवाहमा करिब सवा करोड खर्च गरे पनि नेहालाई विवाहको २ महिना नबित्दै यातना दिन थालेको बताइएको छ । नेहाले श्रीमान र ससुराले दाइजो नपुगेको भन्दै यातना दिँदै आएको आरोप लगाएकी छन् ।
पछिल्लो पटक श्रीमानले निर्घात कुटपिट गरेपछि नेहालाई माइत पक्षले उद्धार गरी अस्पताल भर्ना गरेको थियो । अहिले उनी कानूनी लडाइँमा अघि बढेकी छन् । उनका श्रीमान् डा. चौधरीले भने डिभोर्स मुद्दा दर्ता गराएका छन् ।
तर, नेहा डिभोर्स दिने पक्षमा छैनन् । उनले घरमा बस्ने वातावरण नबनाए घर अगाडि धर्ना बस्ने बताएकी छन् ।