लाइसेन्स परीक्षाको नयाँ व्यवस्थामा मुख्यमन्त्री पाण्डेले गरे हस्तक्षेप – Nepal Press

लाइसेन्स परीक्षाको नयाँ व्यवस्थामा मुख्यमन्त्री पाण्डेले गरे हस्तक्षेप

मान्छे मार्न यस्तो नियम ल्याइएको जिकिर

काठमाडौं । सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को प्रयोगात्मक परीक्षाको नयाँ व्यवस्थामा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले हस्तक्षेप गरेका छन् ।

मुख्यमन्त्री पाण्डेको हस्तक्षेपसँगै प्रयोगात्मक परीक्षामा ७० अंक प्राप्त गरे पास हुने व्यवस्था तत्काल लागू नहुने भएको छ । मुख्यमन्त्री पाण्डेले आफू पदमा रहेसम्म यस खालको व्यवस्था लागू गर्न नदिने नेपाल प्रेसलाई जानकारी दिए ।

यस्तो नियम मान्छे मार्न ल्याएको भन्दै उनले आफू मुख्यमन्त्री भइन्जेल लागू हुन नदिने जिकिर गरे ।

‘नभई नहुने तीनवटा क्याटागोरीमा फेल भए पनि लाइसेन्स दिनु भनेको दुर्घटना निम्त्याउनु हो’, उनले भने, ट्राफिक संकेत पालना नगरेमा १५ नम्बर घट्ने, टर्निङ इण्डिकेटर लाइट नबलेमा १० अंक घट्ने र दुई पटकसम्म अंकित रेखा छोएमा ५ नम्बर घट्ने हुँदा पनि पास हुने अवस्था हुन्छ । टर्निङ लाइट नबल्दा दुर्घटना हुने सम्भावना अत्यधिक हुन्छ । पछाडिको गाडीले अगाडिको गाडी कता जाँदैछ भनेर कसरी थाहा पाउने ?’

बागमती प्रदेशको श्रम, रोजगार तथ यातायात मन्त्रालयले ७० अंक प्राप्त गर्नेलाई ड्राइभिङ लाइसेन्सको प्रयोगात्मक परीक्षामा पास हुने व्यवस्था मिलाउन यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय, यातायात व्यवस्था कार्यालय हेटौंडा, यातायात व्यवस्था कार्यालय भरतपुर चितवनको नाममा मंसिर १४ गते परिपत्र गरेको थियो ।

सोही परिपत्रअनुसार यातायात कार्यालयहरुले सो व्यवस्था लागू गर्नै लाग्दा मुख्यमन्त्री पाण्डेले हस्तक्षेप गरेका छन् । उनले यो व्यवस्था अत्यन्त अव्यवहारिक भएको र केन्द्र सरकारले अव्यवहारिक निर्देशिका जारी गरेको आरोप लगाए ।

के छ निर्देशिकामा ?

दुईपांग्रे सवारीसाधनको ट्रायल मापदण्ड

मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार १०० तोकिएको छ । त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य हुनेछन् । मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो आठको अंकभार २० तोकिएको छ । दुई पटकसम्म अंकित रेखा छोएमा प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ । यस्तो अवस्थामा फेल भने भइदैन ।

यद्यपि दुई पटकभन्दा बढी सो रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा धेरै पटक खुट्टाले भूईं टेकेमा, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था कार्यविधिमा छ । साँघुरो फलेकको अंकभार १० तोकिएको छ ।

साँघुरो फलेकमा खुट्टाले भूईंमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअघि नै फलेकबाहिर निस्के पनि अनुत्तीर्ण हुनेछ । निर्देशिकामा युटर्नको अंकभार १० तोकिएको छ । टर्निङ लाइट नबालेको खण्डमा १० अंक घट्नेछ । त्यस्तो अवस्थामा पनि अंकित रेखा छोए भने अनुत्तीर्ण हुनेछ । ट्राफिक संकेतका लागि १५ अंक तोकिएको छ । ट्राफिक संकेत पालना नगरेको खण्डमा १५ अंक घटाइनेछ ।

निर्देशिकामा उबडखाबडको अंकभार १५ तोकिएको छ । एक पटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा ५ अंकभार घटाइनेछ । तर, एक पटकभन्दा बढी स्टार्ट बन्द भयो भने प्रयोगात्मक परीक्षा दिने अनुत्तीर्ण हुनेछन् । त्यसैगरी उकालोको अंकभार २० तोकिएको छ । त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनलाई १० अंकभार तोकिएको छ ।

चार पांग्रेको हकमा

कार, जीप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको कुल अंकभार १०० तोकिएको छ । कार्यविधिमा कार, जीप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो आठको अंकभार २० तोकिएको छ । दुई पटकसम्म अंकित रेखा छोए प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ । तर, ट्रायल फेल भइँदैन ।

दुई पटकभन्दा बढी अंकित रेखा छोए, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गए, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएकोमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण हुने व्यवस्था गरिएको छ । निर्देशिकामा ट्राफिक संकेतको अंकभार १५ तोकिएको छ । पालना नगरे १५ अंक घट्ने प्रावधान राखिएको छ ।

सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ बमोजिम केही प्रदेशले यो नियम लागू गरिसकेका छन् । लुम्बिनी, गण्डकी र सुदूरपश्चिमलगायत पाँच प्रदेशमा लागू भएको छ ।

यातायात व्यवस्था विभागले दैनिक ४ हजार लाइसेन्स छाप्दै आएको छ । ट्रायल दिएर बसेका ३ लाख थान लाइसेन्स छपाइको प्रक्रियामा रहेको विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर