प्रेमिल अक्षरहरुले कुँदिएको मकालु आधार शिविरको भित्ता (तस्बिरहरु) – Nepal Press

प्रेमिल अक्षरहरुले कुँदिएको मकालु आधार शिविरको भित्ता (तस्बिरहरु)

इटहरी । मकालु बरुण राष्ट्रिय निकुन्जको साइनेज अनुसार मकालु हिमालको आधार शिविर ४८७० मिटर उचाईमा छ । यो उचाईमा पुग्न यो भन्दा अग्लो क्षेत्रबाट झर्नुपर्ने हुनाले पाँच हजार मिटर हाराहारीबाट ४८७० मिटरमा ओर्लेर ट्रेकरदेखि आरोहीहरु मकालु आधार शिविरमा पुग्छन् ।

आधार शिविरमै रहेका टिहाउसमा चियाको चुस्की लिनेहरुले खुशी व्यक्त गर्छन् । धेरैले त्यस्ता खुशीहरु टिहाउसका भित्तामा पोख्ने गरेका छन् । हस्तलिखित खुशीका अक्षरहरु टिहाउसका भित्तामा टल्किरहेका देखिन्छन् ।

आधार शिविरका भित्तामा पोखिएका यस्ता खुशीका अक्षरहरु औपचारिक आरोहण दल देखि विभन्न अभियानमा मात्रै हुँदैनन् । एकदम निजी प्रेमिल अभिव्यक्तिहरुका पनि हुन्छन् । जस्तै एउटा प्रेमिल अभिव्यक्ति छ विराटनगरका उपेन अधिकारी र तेह्रथुमकी कुसुम भट्टराईको । मायाको चिनो जनाउने पानको पानामा उपेन र कुसुम लेखिएका अक्षरसँगै क्याम्पसन लेखिएको छ– सि यु नेक्स्ट टाइम ।

निर्मल पुर्जाले गरेको हिमाल आरोहणको कुरा पनि भित्तामा देखिन्छ । सन २०१९ मा प्रोजेक्ट पोसिबलको नाममा ४८ घण्टामा सगरमाथा, ह्लोत्से र मकालु आरोहण गरेको कुरा भित्तामा लेखिएको छ ।

सोही छेउमा सन २०२१ को जर्जियन आरोहण दलको कुरा पनि लेखिएको छ ।एक कुनामा काठमाडौं विश्वविद्यालयदेखि इसिमोडको टोलीले २०२१ मा पुगेको टीमको नाम अटेका छन् ।

सन २०२० को मकालु हिमाल सफाइ अभियानको नेपाली सेनाको कार्यक्रमको जानकारी पनि भित्तामा अटेको छ । मेजर रुपक कार्की नेतृत्वको सेनाको टोली र गाइड छिरिङ जाङ्मो रहेको सफाइ दलका अरु नामहरु सहित लेखिएको अक्षरहरु अहिलेसम्म भित्ता बसिरहेका छन् ।

नेपाली र अंग्रेजी भाषामा लेखिएका मात्रै हैनन् जापानी र चिनियाँ अक्षरहरुमा पनि यस्ता अक्षहरु भित्तामा असरल्ल देखिन्छन् । स्पेनिस भाषामा मेक्सिन आरोहण दलका अक्षरहरु पनि लेखिएका छन् ।

आधार शिविरमा टिहाउस संचालन गर्ने याङ्जी शेर्पाका अनुसार मकालु आधार शिविर पुगेर सफल महँसुस हुनेहरुले भित्तामा लेख्ने गरेको बताउँछिन् । यो लेखन परम्परा कहिले र कसरी सुरु भएको ठ्याक्कै थाहा नभएको भन्दै उनी भन्छिन्, ‘यहाँ आउने र यहाँ आएर गर्ने योजना सफल हुनेहरुले धेरै लेख्छन् । पहिले विदेशीहरुले लेख्थ्यो । अहिले नेपालीहरु पनि लेख्छ ।’

याङ्जीका अनुसार अरु टिहाउसहरुमा भन्दा आधार शिविरका टिहाउसहरुमा यस्तो लेख्ने चलन धेरै छ । भन्छिन्, ‘मान्छेले खुशी भएर लेख्ने हुनाले नलेख भन्दिन् । बरु लेख्न सहयोग गर्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर