बुटवलमा अक्सिजन सुविधासहितका २ वटा स्वास्थ्य केन्द्र बन्ने – Nepal Press

बुटवलमा अक्सिजन सुविधासहितका २ वटा स्वास्थ्य केन्द्र बन्ने

रुपन्देही । बुटवलमा अक्सिजन सुविधासहितका २ वटा स्वास्थ्य केन्द्र बन्ने भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं १३ र १७ मा १६–१६ शैयाका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्र बनाउन थालिएको हो ।

एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा प्रति भवन १करोड ५७ लाख लागत लाग्ने र ६ देखि ८ महिनाभित्रमा निर्माण सम्पन्न भएर हस्तान्तरण हुने बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए ।

स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि यही मंसिर ९ मा टेण्डर स्वीकृत भएर निर्माणको प्रक्रिया अघि बढ्ने चरणमा रहेको पाण्डेले बताए ।
कोभिड १९ महामारी र महामारीजन्य विपद् व्यवस्थापनमा समेत सहयोग हुने गरी निर्माण हुने अक्सिजन सिलिण्डरसहितका बहुउदेश्यीय स्वास्थ्य केन्द्र भवनको छिटै नै शिलान्यास गरिने छ ।

स्वास्थ्य केन्द्रमा नर्स, प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मीहरु रहने र सामान्यदेखि अक्सिजन दिएर उपचार गर्नेसम्मका उपचार हुनेछन् । ३–३ कठ्ठा जग्गामा बन्ने स्वास्थ्य केन्द्रमा भवन निर्माणको काम छिटै शुरु हुने गरी प्रक्रिया अघि बढेको हो ।

बुटवललाई स्वास्थ्य क्षेत्रमा अग्रणी शहर बनाउनका लागि साना स्तरका देखि विशिष्टीकृत अस्पताल बनाउने योजनाअनुसार स्वास्थ्य केन्द्र निर्माणको काम अघि बढाएको नगर प्रमुख खेलराज पाण्डेयले बताए । उनले उपचारका लागि बुटवलबासीले अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य गर्ने गरी भौतिक पूर्वाधार र जनशक्ति उत्पादनमा ध्यान दिएको जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर