समानुपातिकबाट कुन समावेशी समूहका कति जना बन्दैछन् संघीय सांसद ?
काठमाडौं । २०७४ सालको निर्वाचनमा जस्तै यस पटक सम्पन्न निर्वाचनमा पनि प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीबाट खस आर्यकै बर्चस्व हुने भएको छ । समानुपातिक निर्वाचन प्रणाली सिमान्तकृत समुदाय र वर्गलाई संसदमा प्रतिनिधित्व गराउनका लागि ल्याइए पनि खर्स आर्यको बर्चस्व हुनेगरी कानूनी व्यवस्था गरिएकाले उनीहरुको बर्चस्व यस पटक पनि हुन लागेको हो ।
निर्वाचन आयोगले दलहरुलाई प्रतिनिधिसभामा समानुपातिकतर्फ समावेशी समूहबाट पठाउनुपर्ने उम्मेदवारको संख्यासहितको सूचीबारे पत्राचार गरेको छ । आयोगले नेकपा एमालेले प्राप्त गरेको ३४ सीटमध्येमा १९ जना महिलाको नाम पठाउन पत्राचार गरेको छ । आयोगको पत्रानुसार नेपाली कांग्रेसले पाएको ३२ सीटमध्ये २९ जना महिलाको नाम पठाउनुपर्नेछ ।
नेकपा माओवादी केन्द्रले पाएको १४ सीटमध्ये १२ जना महिला पठाउनुपर्नछ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सीटमा ५, राप्रपाले ७ सीटमा ५, जनता समाजवादी पार्टीले ५ सीटमा ४ र जनमत पार्टीले ५ सीटमा २ जना महिलाको नाम पठाउनुपर्नेछ ।
आयोगले दलले पाएको सीट संख्या र कुन समावेशी समूहबाट कति नाम चयन गर्ने हो, त्यसको विवरणसहितको पत्र दललाई पठाउने तयारी गरेको छ । दललाई ३ दिनको समय दिएर पत्र पठाउन लागिएको आयोगले जनाएको छ । आयोगले बिहीबारसम्म दललाई पत्र पठाउने तयारी गरेको छ । दलले समावेशी समूहबाट बन्दसूचीमा रहेकामध्येबाट नाम पठाउनुपर्नेछ ।
समानुपातिकतर्फ चार दलले १० प्रतिशत वा त्योभन्दा बढी सीट पाएका छन् । त्यसैगरी ३ दलले १० प्रतिशतभन्दा कम सीट पाएका छन् । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिकाअनुसार १० प्रतिशतभन्दा बढी सीट पाउर्ने दललाई एउटा र १० प्रतिशतभन्दा कम सीट पाउने दललाई अर्को तरिकाले पत्राचार गरिएको आयोगले जनाएको छ ।
एमालेले खस आर्यबाट ११ जना पठाउने
आयोगका अनुसार समानुपातिकतर्फ ११० मध्ये सबैभन्दा बढी नेकपा एमालेले ३४ सीट पाएको छ । जसअनुसार उसले सबैभन्दा बढी ११ जना खस आर्यबाट पठाउनेछ । त्यस्तै आदिवासी जनजातिबाट १०, दलित र मधेसीबाट ५-५, थारुबाट २ र मुस्लिम तथा पिछडिएको क्षेत्रबाट एकएक जना पठाउनुपर्नेछ ।
एमालेले ३४ जनाको नाम पठाउँदा हरेक समावेशी समूहबाट गरेर १९ जना महिलाको नाम भने अनिवार्य पठाउनुपर्नेछ । बाँकी रहेका १५ जनामा मात्रै पुरुष पठाउन पाइनेछ ।
कांग्रेसमा १० जना खस आर्यले भाग पाउने
नेपाली कांग्रेसले ३२ सीट प्राप्त गर्दा सबैभन्दा बढी खस आर्यबाटै १० जनाको नाम पठाउन पाइनेछ । उसले आदिवासी जनजातिबाट ९, दलित र मधेसीबाट ५-५, थारुबाट २ र मुस्लिम तथा पिछडिएको क्षेत्रबाट १-१ जनाको नाम पठाउनुपर्नेछ ।
कांग्रेसले सबै समावेशी समूहबाट गरेर २९ जना महिलाको नाम अनिवार्य पठाउनुपर्नेछ ।
माओवादीमा थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाट १-१ अनिवार्य
नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ १४ सीट पाएको छ । उसले खस आर्य र आदिवासी जनजातिबाट ४-४ जनाको नाम पठाउनुपर्नेछ । दलित र मधेसीबाट २-२ तथा थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक-एक जनाको नाम पठाउनुपर्नेछ ।
१४ जनाको नाम पठाउँदा माओवादीले सबै समावेशी समूहबाट अनिवार्य १२ जना महिलाको नाम पठाउनुपर्नेछ ।
रास्वपाले खस आर्यमा ४ जना पठाउन पाउने
१० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने अन्तिम दल राष्ट्रिय स्वतन्त्र पार्टी हो । उसले समानुपातिकतर्फ १३ सीट पाएको छ । रास्वपाले सबैभन्दा बढी खस आर्यबाट ४ जना पठाउन पाइन्छ । आदिवासी जनजातिबाट ३, दलित र मधेसीबाट २-२ तथा थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक-एकजना पठाउनुपर्नेछ । रास्वपाले पनि १३ जनामा सबै समूहबाट गरेर ५ जना महिला अनिवार्य पठाउनुपर्नेछ ।
यसैगरी थ्रेस होल्ड कटाउने तर १० प्रतिशतभन्दा कम मत पाउने दललाई भने समावेशी समूहबाट पठाउनुपर्ने संख्या निश्चित गरिएको छैन । तैपनि अधिकतमदेखि न्यूनतम संख्या भने तोकिएको छ । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाएको ७ सीटमा खस आर्य र आदिवासी जनजातिबाट न्यूनतम २-२ र अधिकतम ३-३ जनाको नाम पठाउनुपर्नेछ ।
यस्तै थारु, दलित, मधेसी, मुस्लिमबाट अधिकतम १-१ र न्यूनतम एकजना पनि नपठाउन पाइन्छ । त्यस्तै पिछडिएको क्षेत्रबाट नपठाए पनि उसलाई कुनै फरक पर्नेछैन ।
जनता समाजवादी पार्टीले पाएको ५ सीटमा खस आर्य र आदिवासी जनजातिबाट अधिकतम २-२ जना र न्यूनतम १-१ जनाको नाम पठाउनुपर्नेछ । थारु, दलित र मधेसीबाट भने अधिकतम १ जना र न्यूनतम एक जना पनि नपठाउन सक्नेछ । पिछडिएको क्षेत्रबाट एक जना पनि नपठाउँदा कुनै फरक पर्नेछैन ।
थ्रेस होल्ड कटाउने अन्तिम दल जनमत पार्टीले पाएको ५ सीटमध्ये खसआर्य र आदिवासी जनजातिबाट अधिकतम २-२ जना र न्यूनतम १-१ जनाको नाम पठाउनुपर्नेछ । थारु, दलित, मधेसी र मुस्लिमबाट अधिकतमा १-१ जना र न्यूनतम एक जना पनि नपठाउन सक्नेछ । पिछडिएको क्षेत्रबाट जनमतले एक जनाको पनि नाम नपठाए कुनै फरक पर्नेछैन ।