६२ वर्षदेखि छातीमा गोलीको दाग बोकेर न्यायको लडाइँ लडिरहेका मनबहादुर गुरुङ
६२ वर्षअघि छातीको देब्रे कोखामा लागेको गोलीको दाग बोकेर ठमठम हिँडिरहेका छन् मनबहादुर गुरुङ (८०) । १८ वर्षको उमेरमै ब्रुनाइको विद्रोही गुरिल्लाद्धारा हानिएको गोली छातीमा लागेपछि फेरि बन्दुक बोकेर लडाइँमा उत्रिन कहिल्यै सकेनन् । तर, युद्ध मैदान छाडेर पनि भागेनन् । आफूले जस्तै गोली थाप्ने साथीहरूलाई २० वर्षसम्म सहयोग गरिरहे ।
२११५१७०८ ब्याच नम्बर रहेका भूतपूर्व ब्रिटिस आर्मी गुरुङ सन् १९६० मा पक्लिहवाबाट भर्ती भएका थिए । १६ वर्षको उमेरमै भर्ती भएका उनलाई थाहा थिएन, कलिलो काँधमा बन्दुक बोकेर संसारको कुन कुनामा पुग्नुपर्छ । काँधमा सट गन बोकेर हिँडेका गुरुङले कसलाई दुस्मन मानेर बन्दुक पड्काउनुपर्ने हो, त्यो पनि उनलाई थाहा थिएन ।
उनलाई एकै थोक मात्रै थाहा थियो, हाकिमले जुनसुकै समयमा, जहाँ पनि अर्डर दिन सक्छन्, त्यस वेला बन्दुक कक गर्ने हो । पड्काउने हो । आफ्नो ज्यान जोगाउने हो ।
दोस्रो विश्वयुद्ध सन् १९४५ मा सकिए पनि युद्धको त्रासदी सकिएको थिएन । संसार चरम शीत युद्धमा फसेको थियो । एकातिर सोभियत युनियनको गठबन्धन थियो । अर्कातिर अमेरिकाको । दुई ठूला राजनीतिक ध्रुवमा संसार विभक्त थियो । जुनसुकै वेला युद्धको घोषणा हुन सक्थ्यो । गुरुङको सट गनले ठूल्ठूला ट्यांकको सामना गर्नुपर्ने संशय थियो ।
पोखराका गुरुङ गल्लावालको पछि लागेर पक्लिहवा पुगेका थिए । त्यसपछि धरान गए । अनि गुरुङ लगायत २४ जनाको टोली मलेसिया लाग्यो । पहिलो र दोस्रो विश्वयुद्धमा पनि नेपालीहरूले म्यानमार, मलेसियाको जङ्गलहरूमा जापनिज सेनाहरूसँग लडेका थिए । विश्वयुद्ध सकिएको डेढ दशकपछि गुरुङ त्यहीँ पुगे । १० महिना ट्रेनिङ गरे । ट्रेनिङ सकिएपछि सिंगापुर गए । सिंगापुरमै हुँदा ब्रुनाईमा लडाइँ सुरु भयो ।
ब्रुनाईमा ठूलो तेलखानी थियो । उक्त तेलखानी त्यहाँको विद्रोही समूहले कब्जा गर्न खोजिरहेको थियो । बम र बारुद पड्किरहेको थियो । ब्रुनाईका राजा र प्रशासनले विद्रोही समूहलाई दबाउन सकिरहेको थिएन । विद्रोहीहरूले प्रतिदिन शक्तिशाली आक्रमण गर्दै अगाडि बढेपछि ब्रुनाईले मलेसियासँग सैन्य सहयोग माग्यो । तर, मलेसिया आफै कमजोर अवस्थामा रहेका कारण सहयोग दिन सकेन ।
अनि ब्रुनाईले बेलायतसँग सहयोग माग्यो । राजनीतिक र कूटनीतिक स्वार्थ मिलेपछि ब्रुनाईलाई सहयोग गर्न बेलायत तयार भयो । तर, बेलायतको स्वार्थका खातिर गोली भने गुरुङहरूको छातीले थाप्नुपर्ने भयो । यसपछि गोर्खा सैनिकका डन कम्पनी र सी कम्पनीका करिब डेढ सय गोर्खा सैनिक ब्रुनाईतिर लाग्ने आदेश आयो ।
गुरुङहरू ब्रुनाईको एक पुलिस स्टेसन पुगे । त्यहाँ उनीहरूका लागि अस्थायी स्टेसन बनाइएको थियो । क्याप्टेनको नेतृत्वमा पुगेका उनीहरू पुलिस स्टेसन पुग्दा स्टेसन नै शान्त थियो । केही पुलिसहरू ड्युटी गरिरहेका थिए । अलि पर रहेका विद्रोहीहरूले कति वेला आक्रमण गर्ने हुन् भनेर त्रसित थिए । वरिपरिका सबै क्षेत्र विद्रोहीले कब्जा गरिसकेका थिए ।
गुरुङ त्यस वेलाको समय सम्झन्छन्, ‘हामी गोर्खाली आएको थाहा पाएपछि उनीहरूको मनोबल घटेको रहेछ । थोरै ब्याक भएका रहेछन् ।’
पुलिस स्टेसनमा पुगेपछि क्याप्टेनले भने, ‘झोला राखेर एक छिन आराम गर । चुरोट खाऊ ।’
डन कम्पनीको टोली गाडीमा गए । गुरुङ सी कम्पनीमा थिए । सी कम्पनीका १५ जनाको टोली हिँडेरै सुरक्षित स्थानसम्म जानुपर्ने भयो । रोडको दुवै पट्टी लाइन लागेर १५ जनाको टोली मुभ भयो ।
गुरुङ सुनाउँछन्, ‘तर, मुख्य बाटोमा पुगेपछि थाहा भयो, दुस्मन कुनामा लुकेर बसेको रहेछ । हामीसँग सेक्सन कमान्डर दलबहादुर भन्ने नेपाली नै हुनुहुन्थ्यो । अर्का गोरा सेकेण्ड लेफ्टिनेन्ट थिए । दुवै जना सबैभन्दा अगाडि हिँडिरहनुभएको थियो । हामी बीचमा थियौँ । गुरिल्लाले अचानक फायर खोल्यो । दुवै कमान्डरलाई ठाउँको ठाउँ ढाले ।’
नेपाली कमान्डर अगाडि ढले । गोरा अलि ढिला ढले । गुरुङले रोइरहेका गुरुजीलाई हेरिरहे । उनी एकदमै रोइरहेका थिए । कमान्डरहरू ढलेपछि गुरुङहरू अलर्ट भए । सबै सुतेर बसे । तर, फायर खोल्न आदेश दिने कमान्डर ढलिसकेका थिए । आदेशविना फायर खोल्ने आँट कसैले गरेनन् ।
गुरुङले आफूभन्दा एक वर्ष सिनियरलाई भने, ‘गुरुजी, हामी के गरौँ ? फायर खोल्ने कि के गर्ने हो ? दुस्मन नै एकदमै नजिक आएको छ । उनीहरूले वेनिफिट लिन लागे ।’
एक जनाले भने, ‘हुकुम आएको छैन भाइ । कसरी फायर खोल्नु ! म त भन्न सक्दिनँ ।’
१५ जनामध्ये हुकुम दिने दुई कमान्डर ढलिरहेका छन् । गुरुङले सोचे, हुकुम कुरेर बस्ने हो भने आफ्नै ज्यान जान सक्छ । अनि हुकुमविनै फायर खोल्न सुरु गरे । रातको समय थियो, फायर खोलेपछि उनीहरू डराउँछन् भन्ने सोच थियो उनको । गुरुङले कभर फायर दिँदै टोलीलाई पछाडि सार्दै गए । करिब साढे दुई म्यागजिन गोली फायर गरिसकेका थिए, अचानक उनको छातीमा गोली लाग्यो ।
‘गोली लागेपछि छातीमा दुलो खोजेँ । कपडाको लुगामा दुलो नै नलाग्दो रहेछ । छातीमा छामेँ, रगत पनि आएको छैन । ढुंगा हो कि भनेर भुईँतिर छामेँ । ढुंगा पनि होइन रहेछ,’ गुरुङ सम्झिन्छन्, ‘तर पनि फायर खोलिरहेँ । चार म्यागजिन फायर सकियो । पाँच क्यागजिन पनि सकियो । यसो हेरेँ, उज्यालो हुने वेला भएको रहेछ ।’
गुरुङले माथि डाँडातिर हेरे । डाँडामा ठूलो घर थियो । घरको ढोकाबाट दुईजना मान्छे बन्दुक बोकेर निस्किए । एकातिर उनको छाती असह्य दुख्न थालिसकेको थियो । अर्कातिर माथि डाँडाबाट पनि आक्रमणको सामना गर्नुपर्ने अवस्था बन्यो । गुरुङसित विकल्प थिएन, माथि डाँडातिरै राइफल सोझ्याए । पड्काए । दाँयातिरकालाई लाग्यो । ऊ त्यहीँ ढल्यो । अर्को व्यक्ति घरभित्र पिलिक्क पस्यो ।
‘मैले ताकेर हानेको चाहिँ त्यहीँ ढलेको रहेछ । पछि हाम्रो कम्पनीले उसको लास त्यहीँ भेटेको थियो,’ गुरुङ भन्छन् ।
यसपछि गुरुङसँग भए जति गोली सकियो । दुई कमान्डर ढलेका छन् । एउटा रोइरहेका छन् । खुन बगिरहेको छ । उनी भन्छन्, ‘अब सबै खतम भयो भनेर म दौडिएँ । दौडिँदै जाँदा झिसमिसमा हाम फालेँ । त्यहाँ खाल्डो रहेछ । खाल्डोमा दोस्रो विश्वयुद्धमा तक्मा पाएका मानबहादुर आले दाइ रहेछन् । उहाँको हात भाँचिएको रहेछ ।’
मानबहादुरसँग कुरा भएपछि थप फोर्सका लागि दौडेर पुलिस स्टेसनतिर लागे । फायर चल्न थालेपछि पुलिस स्टेसन बन्द गरिएको रहेछ । बाहिरबाट कराए गुरुङ । उनलाई ट्रेनिङ दिने नरसिंह थापा सर्जन भएका थिए । उनले सोधे, ‘को हो तँ ?’
‘म मन बहादुर हो ।’
‘के भयो ?’
‘उता मान्छे गुल्टियो । राइफल एकातिर छ, मान्छे एकातिर छ ।’
‘तँलाई के भएको छ ?’
‘मलाई छातीमा गोली लागेको छ ।’
पुलिसले गेट खोलिदियो । राइफल कमान्डरलाई बुझाए । गुरुङ ड्रेसिङ रुमतिर लागे । एक छिनमा एम्बुलेन्स आयो । उनलाई अस्पताल लगियो ।
घाइते भएका दुई कमान्डर पनि अस्पताल पुगेका रहेछन् । नेपाली कमान्डर चाहिँ रोइरहेका थिए । एक छिनमा उसको सास त्यहीँ गयो ।
अस्पतालमै बटालियन कमान्डर आए । मनबहादुरलाई भने, ‘आयौ मनबहादुर ? दुःख पाइयो । अप्रेसन गर्ने मान्छे आउँछ । नआत्तिनु ।’
गुरुङले भने, ‘हुन्छ साप ।’
गुरुङको छातीमा लागेको गोलीले फोक्सोमा रगत जमाएको रहेछ । त्यहाँ खुन बगेको रहेछ । त्यसलाई पम्पले तानिदिए । सफा गरिदिए । त्यहाँ उनलाई भनियो, ‘तीन दिनपछि सिंगापुर जाने हो । त्यहाँ ठूलो अस्पताल छ । छेडेको रहेछ, त्यहाँ गोली निकाल्छ ।’
सिंगापुर अस्पताल लगियो उनलाई । त्यहाँ भनियो, ‘भोलि वा पर्सी हुन्छ अप्रेसन ।’
तर, पर्सी पल्ट अप्रेसन गर्दा गोली निकाल्न सकिएन । उनलाई भनियो, ‘धेरै गहिरोमा छ गोली । सकिँदैन । स्पेसल डाक्टरहरू युकेबाट आउँदै छन् । तिमी पल्टनमै गएर एक महिना जति बस । केही काम गर्नु पर्दैन । डाक्टरहरु आएपछि तिमीलाई बोलाउँछौँ ।’
एक महिनापछि बोलाए । गुरुङ गए । भिडियो एक्स रे गरे । गोली करङभित्र अड्किएको रहेछ । उनको अप्रेसन सफल भयो ।
अप्रेसनपछि ठिकठाक भए । पल्टनमै गए । ठूला कामहरू गर्न नसक्ने भए । लडाइँमा जाने साथीहरूलाई सहयोग गर्न थाले । बिरामीहरूलाई हेर्ने काम पाए । उनलाई हेडक्वार्टरमै बस्न भनिएको थियो । तर, गुरुङको मनले मानेन । उनले भने, ‘म त लडाइँ गर्ने सिपाही हो । हेडक्वार्टरमा बस्दिनँ । कम्पनीमै जान्छु ।’
अलि पछि गुरुङ मलेसिया फिरे । कोर्ट मास्टरको काम गरे ब्यारेकमा । सन् १९८० मा २० वर्षपछि सेवा निवृत्त भए । ३६ वर्षको उमेरमा रिटायर्ड भएर नेपाल फिरे ।
दोस्रो बिदामा नेपाल आउँदा नै विवाह गरिसकेका थिए । चार छोरा र एक छोरीका पिता बने । तर, नेपाल आएपछि पनि शान्तसँग बसेनन् गुरुङ । भूपू गोर्खा सैनिकहरूको हक अधिकारका लागि गेसो नामक संस्था स्थापना गरेर न्यायको लडाइँमा होमिए ।
उनले बुझेका थिए, ‘यदि गोरालाई गोली लागेको थियो भने उसले धेरै क्षतिपूर्ति पाउने थियो । तर, गोर्खाली भएकाले पाएनन् उनले । उनलाई त जागिरबाट घर जान पनि भनेका थिए । तर, जबरजस्ती आफ्नै जिदले पेन्सन पकाएर मात्रै फिरे ।’
अहिले पनि गेसोको उपाध्यक्षमा राखेका छन् उनलाई । तर, पहिलाजस्तो काम गर्न सक्दैनन् । गुरुङ सुनाउँछन्, ‘गोराहरुले राम्रो सुविधा पाउँछन् । हामी नेपालीले पाउँदैनौँ । त्यतिखेर पनि मैले पेन्सन नपाउने अवस्था थियो । पेन्सन धेरै पाउँछ भन्ने तर कागज नदिने गर्थे । कतिपय नेपालीहरूलाई त्यतिकै खेदेका छन् । तर, मैले कर गरी गरी पेन्सन पकाएँ । हाम्रो लडाइँ भनेको समानताको लडाइँ हो । आउँदो १० तारिखमा म आफ्नो बयान दिन बेलायत जाँदै छु । ८० वर्ष पुगे पनि न्यायको लडाइँमा म अझैँ थाकेको छैन ।’
०००