पाल्पामा बिहे भोजमा प्रयोग गरिएको पानीमा कोलिफर्म’ भेटियो – Nepal Press

पाल्पामा बिहे भोजमा प्रयोग गरिएको पानीमा कोलिफर्म’ भेटियो

रुपन्देही । पाल्पाको बगनासकाली गाउँपालिकास्थित एक बिहे भोजमा सहभागी १ सय ५० जना एकैसाथ बिरामी परेपछि भएको अनुसन्धानमा यहाँ प्रयोग भएको पानीमा ‘कोलिफर्म’ नामक जीवाणु भएको पत्ता लागेको छ । जिल्ला स्वास्थ्य कार्यालयले गरेको परीक्षणमा यस्तो पत्ता लागेको हो ।

गएको शनिबार प्प्यूठानबाट पाल्पामा आएका जन्ती र माइती पक्षकाले बिहे भोज खाएपछि पाल्पा र प्युठानका गरी एक सय ५० जना बिरामी परेका थिए ।बिहेको भोजमा दुई वटा ड्रमको पानी प्रयोग भएकामा एउटामा कोलिफर्मको जीवाणु भेटिएको उक्त कार्यालयका प्रयोगशाला प्राविधिक मधुसुधन भट्टराईले बताए ।‘कोलिफर्म’ले झाडा पखाला लाग्ने गर्दछ ।

यही मङ्सिर १७ गते शनिबार बगनासकाली–१ घोरबन्दाका दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएर एक सय ५० जनाभन्दा बढी बिरामी भएका थिए । प्यूठानबाट आएका जन्तीसहित घर गाउँले र आफन्त पनि बिरामी भएका थिए । उनीहरुलाई पेट दुख्ने, बान्ता आउने, पखाला लाग्ने, टाउको दुख्ने र ज्वरो आउने भएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नरेश श्रेष्ठका अनुसार ढिलो गरी सूचना पाइएकाले खानेकुराको परीक्षण नगरिएको बताए । बिरामी भएका गाउँलाई गाउँपालिकाको स्वास्थ्य शाखाले घरघरमा स्वास्थ्यकर्मी खटाएर एक सयभन्दा बढीको उपचार गरेको त्यहाँका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिए ।

बिरामीमध्ये ३४ जनाको मिसन अस्पतालमा उपचार गरिएको थियो । बिरामीको दिसा परीक्षणमा पनि आउँको कीटाणु देखिएको थियो । चिकित्सकले पनि आउँको कीटाणु देखिएपछि पानीकै खराबी भएको हुनसक्ने बताएका थिए । बिहे भोजमा प्रयोग भएको खानेकुरा भने परीक्षण गरिएको थिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *