नेपालमै पहिलो पटक विदेशी कलेजको व्यवस्थापन सम्हाल्दै इस्लिङटन कलेज – Nepal Press

नेपालमै पहिलो पटक विदेशी कलेजको व्यवस्थापन सम्हाल्दै इस्लिङटन कलेज

काठमाडौँ । इस्लिङट्न कलेज, लण्डन मेट्रोपोलिटन विश्वविद्यालय, माई सेकेण्ड टिचर र आरभीआई ग्रुप बीचमा लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको बिए (अनर्स) बिजनेस प्रशासन कोर्ष अध्ययन गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

चार निकायबीच सम्झौता भएपछि विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित इस्लिङटन कलेजले नेपालमै पहिलो पटक विदेशको कलेजको व्यवस्थापन जिम्मा लिएको हो ।

लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा अनलाइन बिए (अनर्स) बिजनेस प्रशासन तहको कक्षा सञ्चालन गर्ने विषयमा चार निकायबीच सम्झौता भएको हो । जस अनुसार विश्वविद्यालयले तयार गरेको पाठ्यक्रम म्यानम्यार र थाइल्याण्डमा अध्यापन हुने छ । कक्षा फेब्रुअरी सेसनबाट सञ्चालन हुनेछ ।

विश्वको चर्चित मानिएको आरभीआई ग्रुपले विश्वविद्यालयको पाठ्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सम्पूर्ण सहयोग गर्नेछ । सिंगापुरमा कार्यालय रहेको आरभीआई ग्रुपले विश्वका २० शैक्षिक केन्द्र र ६ वटामा एकेडेमिक्स काम गरिरहेको छ ।

आरभीआईका प्रमुख कार्यकारी अधिकृत आर्गस एङगले आरभिआई ग्रुपले भियतनाम, इन्डोनेसिया, कम्बोडिया, म्यानमार, थाइल्याण्ड लगायत अन्य मुलुकमा काम गरिरहेको जानकारी दिए ।

यो साझेदारीमा समावेश गरिएको माई सेकेण्ड टिचर अनलाइन शिक्षाको लागि प्लेटफर्मको रूपमा प्रयोग गरिँदै छ । माई सेकेन्ड टिचरको सहयोगमा सबै पाठ्यक्रम सामग्री विद्यार्थीहरूलाई उपलब्ध गराइनेछ र तिनीहरूको असाइनमेन्ट पनि सोही प्लेटफर्ममा वितरण गर्ने माई सेकेण्ड टिचरका संस्थापक डा. बेन्सन सुङले जानकारी दिए ।

अनलाइन कक्षा सञ्चालन गर्न शिक्षकको पदपूर्ति लगायतका सम्पूर्ण काम माई सेकेन्ड टिचरले गर्नेछ । सम्झौता पत्रमा आरभीआइ ग्रुपका आर्गस एङ्ग, माई सेकेन्ड टिचरका संस्थापक डा.बेन्सन सुङ, इस्लिङट्न कलेज र इनोभेट नेपाल ग्रुपका संस्थापक अध्यक्ष सुलभ बुढाथोकी र लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा. वेन्डी ब्लोइसीले हस्ताक्षर गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर