राष्ट्रपतिको जन्मगाउँ भोजपुरमा बन्यो सुविधासम्पन्न प्राविधिक शिक्षालय (भिडिओ) – Nepal Press

राष्ट्रपतिको जन्मगाउँ भोजपुरमा बन्यो सुविधासम्पन्न प्राविधिक शिक्षालय (भिडिओ)

भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो जन्मथलोमा निर्माण भएको श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयको उद्घाटन गरेकी छन् । बुधबार राष्ट्रपतिले रामप्रसादराई गाउँपालिका-५ मानेभञ्याङ, आमबोटेमा बनाइको उक्त शिक्षालय भवन उद्घाटन गरिन् ।

आर्थिक तथा भौतिकरूपमा विकट ठाउँका वासिन्दालाई प्राविधिक शिक्षाको पहुँचका लागि राष्ट्रपति भण्डारीको पहलमा माइतीघर आम्बोटेको ५५ रोपनी जग्गामा ११ करोड ३९ लाख ७३ हजार ८ सय रूपैयाँ लगानीमा भवन बनाइएको हो ।

माइतीघरको झ्यालमा राष्ट्पति भण्डारी ।

शिक्षालयलाई राष्ट्रपतिबाट ३७ रोपनी र परिवारका अन्य सदस्यले १८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । राष्ट्रपति भण्डारीले बुबा-आमा रामबहादुर पाण्डे-मिथिला पाण्डेको नाममा शिक्षालय स्थापनामा पहल गरेकी हुन् ।

उद्घाटनपछि सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षालयको स्थापनाले स्थानीयलाई प्राविधिक शिक्षा लिन सहज हुने बताइन् ।

‘प्राविधिक शिक्षालाई जोड दिँदै सीपयुक्त जनशक्ति उत्पादनमा राज्यले ध्यान दिनुपर्छ । यसले रोजगारीको सिर्जनासँगे देशको आर्थिक विकासमा टेवा पुग्छ । मुलुकलाई स्वावलम्बी र आत्मनिर्भर बनाउने अभियानमा यहाँको जनशक्तिले महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु’, राष्ट्रपतिको भनाइ थियो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले बेहेरेश्वर महादेव र शिवालय मन्दिरको दर्शनसँगै आफू अध्यायन गरेको बेहेरेश्वर माध्यमिक विद्यालयको निरीक्षणसमेत गरेकी थिइन् ।

के-के छन् पूर्वाधार ?

यहाँ एकाडेमिक भवन, छात्र-छात्राका लागि होस्टल, स्टाफ क्वाटर, कम्प्युटर ल्याव, प्रयोगात्मक कक्षा भवनका ब्लक निर्माण गरिएको छ । महिला छात्रबाससँगै अन्य भवन पनि बनेको । भवन निर्माणमा करिब १८ महिना समय लागेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्रका कर्मचारी तथा आयोजनाका साइट इन्जिनियर नारायण अधिकारीले जानकारी दिए । यो शिक्षालय भवन निर्माणको ठेकेदार कम्पनी भने मार्सेली निर्माण सेवा रहेको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (सीटीईभीटी) बाट सम्वन्धन प्राप्त यस शिक्षालयमा तत्काल बाली विज्ञानको पठनपाठन हुनेछ । पछि आवश्यकताको आधारमा अन्य विषय पनि थपिने तयारी छ । विद्यार्थी भर्नाको लागि यसअघि नै आवदेन खुलाइसकिएको छ ।

शिक्षालय रहेको यो स्थान भोजपुर सदरमुकामदेखि करिब २० किलोमिटर सडकमार्गबाट पुगिन्छ ।

मानेभञ्ज्याङको शिवालय मन्दिरमा पूजा अर्चना गर्दै राष्ट्रपति भण्डारी । तस्बिर : युवराज विष्ट/रासस
आफूले पढेको भोजपुरको मानेभन्ज्याङ्गस्थित बेहेरेश्वर माविमा विद्यार्थीसँग सामूहिक तस्बिर खिचाउँदै राष्ट्रपति भण्डारी । तस्बिर : युवराज विष्ट/रासस ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *