सरकारविरुद्ध एमाले र कांग्रेस निकट किसान महासंघ आन्दोलनमा – Nepal Press

सरकारविरुद्ध एमाले र कांग्रेस निकट किसान महासंघ आन्दोलनमा

धान किन्न आलटाल र सहज मल आपूर्ति नभएपछि थपिए आन्दोलनका कार्यक्रम

रुपन्देही । सरकारले धानको समर्थन मूल्य तोकेपनि किसानको धान किन्नमा आलटाल गर्नुका साथै मल सहज सहज आपूर्तिका लागि आन्दोलनरत अखिल नेपाल किसान महासंघ र नेपाल किसान महासंघले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेका छन् ।

नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ र नेपाली काँग्रेस निकट नेपाल किसान महासंघ लुम्बिनी प्रदेश समितिको संयोजकत्वमा रुपन्देहीमा आन्दोलनका कार्यक्रम थप चर्काउने निर्णय भएको हो ।

बुधवार बुटवलमा भएको संयुक्त भेलाबाट गत मंसिर २० गते जिल्ला प्रशासन कार्यालयमा बुझाइएको ज्ञापन पत्रको विषयमा भए गरेका प्रगतिको विषयमा बिहीवार जिल्ला प्रशासन कार्यालयमा धार्ना सहितको कार्यक्रम तय गरिएको अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश संयोजक तथा पूर्वमन्त्री आरती पौडेलले जानकारी दिइन् ।

बैठकले गरेको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले किसानको समस्या समाधानको लागि सरकार उदासिन भएका कारण आन्दोलनका थप कार्यक्रम चर्काउने निर्णय गरिएको बताइन् ।

उनका अनुसार पहिलो चरणमा मंसिर २९ गते जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई भेटेर पहिले प्रदान गरिएको ज्ञापन पत्रको विषयमा थप ध्यानाकर्षण गराउने र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरिएको छ । करिव ३ देखि ४ सय किसानहरुको सहभागितामा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने पौडेलको भनाइ छ ।

यस्तै नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका संयोजक बेग बहादुर कुँवरका अनुसार गत मंसिर २५ गते धानको समर्थन मूल्य अनुसार धान खरिद गर्नको लागि दबाब स्वरुप प्रदेशको खाद्य व्यवस्था तथा आपूर्ति कम्पनीमा तालाबन्दी गरिएकोमा किसानको मागलाई कुल्चिदै कम्पनीले ताला तोडेको छ ।

उनले किसानको मागप्रति बेबास्ता गरेको भन्दै यसको विरोध स्वरुप थप आन्दोलनका कार्यक्रम चर्काउने बताए । उनले सरकारले नै तोकेको मूल्यमा किसानको धान खरिद गर्न माग सहित खाद्य व्यवस्था तथा आपूर्ति कम्पनी प्रदेश कार्यालय भैरहवमा गरिएको तालाबन्दीलाई कम्पनी प्रशासनले सोही दिन नै तोडेर कार्य सञ्चालन गरेकोप्रति आपत्तिसहित घोर निन्दा गर्ने बताए । उनले किसानको मागप्रति सरकार नै उदासिन भएको कारण अव किसान आन्दोलनको तयारी समेत गरिएको बताए ।

अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश महासचिव महेन्द्र गिरीका अनुसार संयुक्त बैठकपश्चात विभिन्न १३ बुँदे मागसमेत प्रस्तुत गरिएको छ । जस अनुसार मलको आपूर्ति सहज बनाउनको लागि सहकारी भन्दा पनि किसान समूहमार्फत वितरणको व्यवस्थापन मिलाउन माग गरिएको छ भने उत्पादनमा आधारित अनुदानको व्यवस्थापन गर्न सरकारसंग माग गरिएको छ ।

यस्तै बाली विमा अनिवार्य तथा सहुलियत गर्न माग सहित उत्पादित वस्तुको बजारीकरणको ग्यारेन्टी सरकारबाट हुनुपर्ने माग समेत गरिएको छ । यस्तै किसान कार्ड किसान परिचय पत्रको व्यवस्थापन, अनिवार्य माटो परीक्षण ल्याव व्यवस्थाको माग, सहज रुपमा सहुलियत दरमा बीऊ उपलब्ध गराईनुपर्ने माग समेत किसान संगठनहरुले गरेका छन् ।

यस्तै स्थानीय स्तरमा यन्त्रीकरण मार्फत उत्पादन वृद्धिको माग गरिएको छ भने गत २५ गते खाद्य व्यवस्था, व्यापार आपूर्ति कम्पनीमा लगाईएको ताला तोडेर काम सञ्चालन भएको प्रति निन्दा गरिएको छ । मल वितरण समेत सहजताका लागि सरकारसंग माग गरिएको हो ।

अखिल नेपाल किसान महासंघ रुपन्देही जिल्ला अध्यक्ष कृष्ण प्रसाद पन्थीले किसानको आवाज दबाउने काम भएको भन्दै अव किसानहरुले निष्कर्षको आन्दोलनको तयारी गरेको बताए । स्थानीय तहले विनियोजन गर्ने बजेटको कम्तीमा पनि २० प्रतिशत बजेट कृषि क्षेत्रमा विनियोजन गर्न मागसहित दबाबको कार्यक्रम गरिने अध्यक्ष पन्थीले बताए ।

यसको लागि सरकारलाई तयार रहन चेतावनी दिँदै उनले पालिकागत रुपमा किसान जागरणसहितका आन्दोलनका कार्यक्रम अब सुरुवात हुने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर