वागमती किनारका अनधिकृत बस्ती हटाउन दबाब दिँदै वसन्तपुरमा हस्ताक्षर अभियान (भिडिओ) – Nepal Press

वागमती किनारका अनधिकृत बस्ती हटाउन दबाब दिँदै वसन्तपुरमा हस्ताक्षर अभियान (भिडिओ)

काठमाडौं । वागमती किनारका अनधिकृत बस्ती हटाउन दबाब दिँदै वसन्तपुर डबलीमा हस्ताक्षर अभियान चलाइएको छ ।

उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले विश्व सम्पदा सूचीमा रहेको पर्यटकीय नगरी राजधानीको वागमती सभ्यता संरक्षण गर्न अनधिकृत बस्ती हटाउनका लागि आज दिनभर हस्ताक्षर अभियान राखेको हो ।

यसअघि मंसिर २० गते संघर्ष समितिले सुकुमबासीका नाममा राजनीति भइरहेको भन्दै काठमाडौं महानगरपालिका अगाडि प्रदर्शन गरेको थियो । असली सुकुमबासीको व्यवस्थापन गरी नक्कलीलाई कारबाही गर्न मेयर बालेन्द्र साहको उनीहरूले ध्यानाकर्षण गराएका थिए ।

नक्कली सुकुमबासीलाई हटाउने महानगरको कार्यमा आफूहरूको ऐक्यबद्धता रहेको भन्दै ज्ञापनपत्र पनि बुझाइएको थियो ।

राजधानी सहरको मुटुमा रहेको थापाथलीस्थित ‘वागमती खोलाको किनारामा रहेको सार्वजनिक/सरकारी जग्गा अतिक्रमण गरी आफूखुशी मनलागी, अस्वाभाविक एवं अनियन्त्रित कथित सुकुमबासीको बसोबासले सँगै रहेको खोलाको प्रदूषण, राजधानीको सौन्दर्यसमेतमा प्रतिकूल असर पारिरहेको’ ज्ञापनपत्रमा उल्लेख थियो ।

सुकुम्वासीका नाममा सार्वजनिक जग्गा अतिक्रमण भइरहेकाले नक्कली सुकुम्वासीलाई हटाउनुपर्ने र विश्वास सम्पदा सूचीमा रहेको पर्यटकीय नगरी काठमाडौंको सभ्यता संरक्षण गर्न अनाधिकृत वस्ती हटाउनुपर्ने भन्दै समितिले काठमाडौंको बसन्तपुरबाट हस्ताक्षर अभियान सुरु गरेको हो । समितिले सही सुकुम्वासी पहिचान गरि उचित व्यवस्थापन गर्नुपर्ने र नक्कली सुकुम्वासीलाई हटाउनुपर्ने माग राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *