भारतीय ओभरलोड गाडीलाई सीमा रोक्न माग गर्दै व्यवसायीले थाले आन्दोलन – Nepal Press

भारतीय ओभरलोड गाडीलाई सीमा रोक्न माग गर्दै व्यवसायीले थाले आन्दोलन

रुपन्देही । भारतीय मालबाहक सवारीले बोक्दै आएको ओभरलोड भन्सारविन्दुमै समायोजन गरिनुपर्ने लगायतका माग राख्दै ढुवानी व्यवसायीहरुले रुपन्देहीको भैरहवामा विरोध प्रदर्शन गरेका छन् ।

कानुन विपरीत भारतीय ट्रकले गरिरहेको अधिक भारबहनले नेपाली व्यवसायी मर्कामा परेको उल्लेख गर्दै उनीहरुले नियन्त्रणका लागि दबाब दिएका छन् ।

क्षमताभन्दा तीन–चार गुणा ओभरलोड बोकेका भारतीय ट्रक निर्वाधरुपमा नेपालभर चल्दा नेपाली व्यवसायी मर्कामा परेको भन्दै भन्सारविन्दुमै भार मिलान गरिनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका हुन् ।

शुक्रबार रुपन्देहीको बेलहिया नाकामा प्रदर्शन गरेका व्यवसायीले आफूहरु चल्नै नसक्ने अवस्था आएकाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए । बेलहिया नजिकै बाइपासमा रहेको ट्रक पार्किङस्थलबाट नाराबाजी गर्दै व्यवसायीले भन्सार कार्यालयको गेटमा पुगेर बिरोध सभा गरेका थिए ।

महासंघका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले नेपाली प्रशासन र सरकार यस बिषयमा जानकारी भए पनि माग पूरा गर्न गम्भीर नदेखिएको बताए । ‘नेपाली व्यवसायी अत्यन्तै गम्भीर अवस्थामा रहेका छन्, प्रत्येक वर्ष यही विषयमा ध्यानाकर्षण गराउनु परिरहेको छ । यो भन्दा दुःखको कुरा के हुन्छ’ उनले भने ।

यसरी अधिक ओभरलोड बोकेर आउने भारतीय ट्रकलाई सीमामै रोकेर भारमिलान गर्नुपर्छ । तर जरिवाना गरी निर्वाध नेपालभर जान दिइन्छ । यसले एकातर्फ नेपालका सडकलगायतका संरचना भत्किने, भाँसिने समस्या बढिरहेको छ भने नेपाली ट्रक व्यवसायी मारमा छन् ।

‘भारतीय ट्रकले ओभरलोड नबोक्ने हो भने, नेपाली ट्रकहरु खाली बस्नै पर्दैन, भार मिलान हुँदावित्तिकै हाम्रा ट्रकले काम पाउँछन्’ उनले भने ।
ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेशको आयोजनामा भएको बिरोध प्रदर्शनमा यातायात मजदुर संघका साथै आधा दर्जन व्यवसायिक संस्थाका प्रतिनिधि सहभागी थिए ।

महासंघले भारतीय ट्रकले भन्सार बिन्दुसम्म ओसारेका समान नेपाली ट्रकले ढुवानी गर्न पाउने व्यवस्था मिलाउन माग गर्दै मंसिर दोस्रो साता भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएको थिए । संयुक्त ढुवानी व्यवस्थापन समितिका पदाधिकारी, सदस्य तथा मजदुरहरुले भारतीय मालबाक सवारीकै कारण आफूहरु पलायन हुने अवस्था आएको बताए ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेश संयोजक यमप्रसाद पाण्डेले भने–‘मनपरि सामान बोकेर नेपाल आउने भारतीय ट्रकहरुलाई मुलुकभर ढुवानीमा छुट दिइएको छ, भारतीय ट्रककै कारण मुलुकको सडक, पुल लगायतका संरचना ध्वस्त भएका छन् भने नेपाली व्यवसायी धरासायी भएका छन्, यस्तै अवस्था रहे हामी पलायन हुने अवस्था आउँछ ।’

उनले ओभरलोड बोकेर आउने भारतीय ट्रकलाई भन्सार विन्दुमै रोकेर भारमिलान गरी नेपाली ट्रकलाई सामान बोक्न दिनुपर्ने बताए । मुलुकभित्र नियम अनुसार नेपाली ट्रकले ढुवानी गर्न पाउनु पर्ने र आफूहरुका माग पूरा नभए निरन्तर आन्दोलन गर्ने उनले बताए ।

पाण्डेले भारतीय ट्रकले अधिक भार बोकेको बारे सुरक्षा निकायले ध्यान नदिएको आरोप लगाए । ‘धेरै भार बोक्ने ट्रकसित जरिवाना अशुलेर नियम विपरितको तौल घटाउन लगाउनु पर्छ,’ उनले भने, ‘तर, यहाँ जरिवाना असुुलेर अधिक भार बोक्न दिने गरिएको छ ।’

भारतीय ट्रकले नियमले तोकेको भन्दा तेब्बर तौल बोकर ढुवानी गररहेको जनाउँदैं ट्रक यातायात व्यवसायीका संस्थाले अब निरन्तर आन्दोलन गर्ने उनले बताए । पेट्रोलियम पदार्थको मूल्य बृद्धिका कारण मारमा परेका व्यवसायी भारतीय ट्रकको मनपरिले झन धरासायी बनेको उनले बताए ।

‘हाम्रा ट्रकदेखि तिनमा प्रयोग हुने इन्धन, टायर, पार्टस लगायत बस्तु् भारतबाटै आयात गरिन्छ,’ उनले भने, ‘यी बस्तुमा अत्यधिक भन्सार महशुल लगाइएको छ । जसले गर्दा हामी भारतीय ट्रकसित प्रतिस्पर्धा गर्न सक्दैनौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर