हर्क साम्पाङको अभिव्यक्तिबारे के भन्छन् धरानका दलित जनप्रतिनिधि ? दलीय भ्रातृ संगठन पनि एकजुट
सोमबार प्रहरीमा मुद्दा दर्ता गरिँदै
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईविरुद्ध धरान उपमहानगरपालिकाका दलित समुदायबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिसहित सबै राजनीतिक दलका भ्रातृ संघ संगठन एक ठाउँमा उभिएका छन् । साम्पाङले सामाजिक सञ्जालमा दलित समुदायमाथि अपमानजनक टिप्पणी गरेको भन्दै कानूनी उपचारको बाटोमा अघि बढ्ने उनीहरूको तयारी छ ।
उपमहानगरपालिकाका कार्यपालिका सदस्य रहेका दलित समुदायका ३ जनासहित एमालेनिकट नेपाल उत्पीडित जातीय मुक्ति समाज, कांग्रेसनिकट नेपाल दलित संघ, माओवादीनिकट नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा एक ठाउँमा उभिएका हुन् । यस्तै नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति संगठन, जनता समाजवादी पार्टी निकट शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातन्त्र उत्पीडित संगठन लगायतका विभिन्न संघ–संगठनको पनि एक स्वर भएको छ ।
६ दिनअघि मंसिर २७ गते धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले आफ्नो फेसबुक पेजमा लेखेको स्टाटसले विवाद सुरु भएको थियो । दलितभित्र पर्ने एउटा अमुक जातलाई होच्याउने शब्द प्रयोग गरेपछि धरान उपमहानगरपालिकाका दलित समुदायबाट प्रतिनिधित्व गर्ने ३ जना कार्यपालिका सदस्यले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएका थिए । उपमहानगर प्रमुख साम्पाङको अभिव्यक्तिले दलित समुदायमाथि चोट पुगेको उनीहरूको निष्कर्ष थियो ।
विवादपछि साम्पाङले आत्मालोचनासहित माफी माग्ने र आफ्नो अभिव्यक्ति सच्याउने अपेक्षा थियो । तर, उनले दुवै काम गरेनन् । बरु एकपछि अर्को स्टाटस लेख्दै आफ्नो अभिव्यक्तिको बचाउ गरिरहेका छन् । उनको यस्तो शैलीबाट आजित भएर त्यस क्षेत्रका राजनीतिक दलका भ्रातृ संघ–संगठन छलफलमा जुटेका थिए । उनीहरूले शुक्रवार संयुक्त विज्ञप्ति जारी गर्दै साम्पाङमाथि कानूनी कारबाहीको माग गरेका थिए ।
तर, अझैसम्म साम्पाङले गल्ती स्वीकार नगरेपछि सबै राजनीतिक दलका भ्रातृ संगठनले सोमबार इलाका प्रहरी कार्यालय धरानमा उजुरी गर्ने भएका छन् । त्यसका लागि आइतबार कानून व्यवसायीसँग छलफल गरेर दलित समुदाय तथा यस क्षेत्रमा काम गर्ने व्यक्ति तथा निकायको उपस्थितिमा उजुरी दर्ता गर्ने तयारी गरेका हुन् ।
साम्पाङको अभिव्यक्तिबारे धरान उपमहानगरपालिकाका ३ कार्यपालिका सदस्य र दलीय भ्रातृ संगठनका प्रतिनिधि के भन्छन् त ?
उहाँले घमन्ड देखाउनुभयो
देवीमाया विक
कार्यपालिका सदस्य, धरान उपमहानगरपालिका
धरानका नगरपिता हर्क साम्पाङ राईले ‘चमारे बुद्धि भनेर’ फेसबुकमा लेख्नुभयो ।
हामी ३ जना कार्यपालिका सदस्यले संयुक्तरुपमा विज्ञप्ति जारी गरेर विरोध गर्यौँ । थर उहाँले हाम्रो मात्रै होइन कसैको कुरा नसुनेर निरन्तर लेखिरहनुभएको छ । ‘बरु शिर काट्न तयार छु झुक्न तयार छैन’ भनिरहनुभएको छ ।
मानव हो, सामान्य गल्ती हुन्छ भन्ने पनि उहाँले महसुस गर्नुभएको छैन । उहाँले आफूभन्दा माथि कोही पनि छैन भनेर घमन्ड देखाइरहनुभएको छ । उहाँको अभिव्यक्तिले समग्र दलित समुदायमाथि चोट पुगेको छ । उहाँ मैले दलित समुदायमाथि अपमान गरेको छैन भनिरहनुभएको छ । सुरुमा त उहाँले अञ्जानमा लेख्नुभएको होला भनेर सोधेका थियौ ।
तर, उहाँले निरन्तरको लेखाइ र घमण्डले गर्दा अब हामी कानूनी बाटोमा अघि बढ्ने निर्णयमा पुगेका छौँ । एक–दुई दिन हेर्यौं हामीले । आइतबार हामी सल्लाह गर्दैछौं । उहाँले आफूले जानेर वा नजानेर कमजोरी भयो भन्ने महसुस नै गर्नुभएको छैन । त्यसैले अब कानूनी बाटो नै निर्विकल्प भएको छ ।
मुद्दा हाल्ने तयारी गरेका छौँ
सावित्रा परियार
कार्यपालिका सदस्य, धरान उपमहानगरपालिका
नगरप्रमुख राईको अभिव्यक्ति गम्भीर रूपमा परिणत भएको छ । अहिलेसम्म उहाँले तेस्रो पटक जातीय विभेद गरिसक्नुभएको छ ।
उहाँलाई व्यक्तिगतरुपमा पनि सम्झाउने प्रयास गर्यौँ । तर कहिले पनि उहाँले आफूलाई सच्याउने प्रयास गर्नुभएन ।
दलित समुदायप्रतिको भावना सुधार गर्नुपर्छ भन्दा पनि उहाँ आफूले सही नै गरेँ भन्ने तर्क गरिरहनुभएको छ । हामीले विज्ञप्ति जारी गरेपछि आत्मालोचना हुनुहोला भन्ने ठानेका थियौ ।
तर उहाँले झन् प्रहार गर्न थाल्नुभयो । त्यसपछि यस क्षेत्रका दलित समुदायको क्षेत्रमा काम गर्ने राजनीतिक दलका भ्रातृ संगठनको बैठक बसेर संयुक्त विज्ञप्ति जारी गर्यौँ ।
दलित आयोगले पनि ध्यानाकर्षण गरायो । उल्टै आयोग र हामीमाथि आक्रमण हुन थालेपछि र सुधार नहुने देखिएपछि मुद्दा नै अघि बढाउने तयारी गरेका छौँ ।
७० लाख दलितको अपमान भयो
दिनेश गजमेर
कार्यपालिका सदस्य, धरान उपमहानगरपालिका
दलित आयोगले गृह मन्त्रालयलाई लेखेको पत्रमा आत्मालोचित हुनुको साटो उल्टै आयोगलाई नै चुनौती दिने गरी स्टाटस लेख्नुभएको छ ।
संवैधानिक आयोग केही पनि होइन भन्नेजस्तो गरेर प्रश्न उठाउनुभएको छ । केही नाप्दैन भन्ने खालका कमेन्ट गरिरहनुभएको छ । यसले सिंगो ७० लाख दलित समुदाय केही पनि होइनन् भन्नेजस्तो भयो ।
तल्लो जाति भनिएका दलित समुदायको नाम सूची पाउ भनेर पनि भनिरहनुभएको छ । यसले समुदायमाथि आक्रमण गरेको पुष्टि भएको छ । उहाँका समर्थकले पनि एकदमै तुच्छ तरिकाले कमेन्ट गरिरहनुभएको छ । उहाँले आफ्नो गल्ती नसच्याउने भएपछि हामी पनि संविधानले दिएको अधिकार प्रयोग गर्दै अघि बढ्ने सोचका साथ अघि बढेका छौ । छलफल गरेर निष्कर्षमा पुग्छौ ।
कसरी कानूनी बाटोमा अघि जान सकिन्छ भनेर आइतबार कानून व्यवसायीसँग छलफल गर्दै छौ । त्यसपछि हामी इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिने तयारीमा छौ । सबै दलका भातृ संगठनका उपमहानगर कमिटी अध्यक्ष तथा प्रमुखबाट साम्पाङलाई प्रतिवादी बनाएर इलाका प्रहरी कार्यालय धरानमा उजुरी हाल्दै छौ । त्यसपछि उपमहानगरपालिकाको कार्यालयमा आएर विरोध सभा गर्ने तयारी छ । आइतबार नै संघर्ष समिति गठन पनि गर्दै छौ ।
अब आत्मालोचनाले पुग्दैन
गणेश परियार
धरान उपमहानगरपालिका, नेपाल दलित संघको सभापति
मंसिर २७ गते नगर पिताले विभिन्न प्रकारका शब्द लेख्नुभयो । हामीलगायत सबैको आपत्ति छ । उहाँले त्यस्तो बोल्नु र लेख्नु हुन्थेन । आलोचना भएपछि आत्मालोचना गर्नुपर्ने थियो, तर गर्नुभएन । जितेपछि मभन्दा माथि कोही पनि छैन भन्ने अहम्ता भयो ।
दलित समुदायले पनि उहाँलाई मतदान गरेका छन् । अब उहाँलाई आत्मालोचना मात्र नभएर कानूनी कारबाहीको माग गर्दछ ौं । गरेको होइन भनेर भन्नुहुन्छ तर लेखेर हटाइहाल्नुहुन्छ । मैले गलत गरेको छु भनेर नभन्ने, तर हटाउनुले पुष्टि भयो । हामी उहाँमाथि जातीय छुवाछुत विरुद्धको र साइबर क्राइम विरुद्धको मुद्दा दर्ता गर्छौ । यो भनेको ७० लाख दलित समुदायमाथिको अपमान हो ।
अब न्यायिक प्रक्रियामा जान्छौँ
लीला शंकर
संयोजक, नेपाल जातीय उत्पीडित समाज, धरान उपमहानगरपालिका
धरान उपमहानगरपालिकाका प्रमुखको बोली र लेखाइले सिंगो दलित समुदायमाथि चोट परेको छ । यसमा विरुद्ध धरानका सबै राजनीतिक दलका भातृ संघ संगठन एक साथमा आन्दोलनमा अघि बढ्ने निष्कर्षमा पुगिसकेका छौ ।
हाम्रो विज्ञप्ति आइसकेपछि केहि सच्याउनुहुन्छ कि भन्ने हामी सबैको बुझाई थियो । उहाँले पक्कै पनि मेरो यस्तो मनसाय होइन, भूलवश भएको हो भन्नुहुन्छ कि भन्ने लागेको थियो । । त्यसो नगरेर हामीलाई कानूनी बाटोमा जानका लागि र न्यायको पाटो रोज्नका लागि बाध्य बनाउनुभयो । दलित आयोगले ध्यानाकर्षण गराउँदा पनि उल्टै आयोगमाथि नै अवहेलना गर्नुभयो । आयोगमाथि निरन्तर फेसबुक र ट्विटरमार्फत आक्रमण गरिरहनुभएको छ । अब हामी मुद्दा मामिलाको बाटोमा अघि बढ्ने निष्कर्षमा पुगिसकेका छौ । अब जे हुन्छ, न्यायिक प्रक्रियाले नै गर्छ ।
उर्मिला बराइली
केन्द्रीय सदस्य, दलित मुक्ति मोर्चा
नगरप्रमुख राईले चमारे भनेर सामाजिक सञ्जालमा लेख्नुभयो । त्यसले दलित भनेको बुद्धिहीन केही नभएका भन्ने ढंगले उहाँले इंगित गर्नुभएको छ । २१ औँ शताब्दिमा आएर जसरी यो शब्द प्रयोग गर्नुभएको छ, यो एकदमै आपत्तिजनक छ । दलितले के गर्न सक्छन् र भन्ने अझै पनि उहाँको बुझाइ देखिन्छ ।
यसमा मेरो गल्ती भयो भनेको भए चित्त बुझाउन सकिन्थ्यो । तर, उहाँले दलित समुदायको क्षेत्रमा काम गर्ने संवैधानिक निकायदेखि सबैमाथि आक्रमण गरिरहनुभएको छ । यो देशभरका ७० लाख दलित समुदायमाथिको आक्रमण हो । यसप्रति हाम्रो संगठन कडा कानूनी कारबाहीको माग गर्दछ ।
नगरप्रमुख जस्तो व्यक्तिले अपमानजनक अभिव्यक्ति दिइरहनुभएको छ । यसलाई हटाउन पनि सक्नुहुन्थ्यो । सच्याउन पनि सक्नुहुन्थ्यो । यिनीहरूले के गर्छन् र भनेर निरन्तर आक्रमण गरिरहनुभएको छ । कानूनले नै वर्जित गरेको कुरा उहाँलाई जानकारी नरहने भन्ने कुरै भएन नि । राष्ट्रिय दलित आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेकोमा पनि उहाँले खिसीटिउरी गर्ने अभिव्यक्ति दिइरहनुभएको छ । यो अत्यन्तै अमानवीय छ ।
यो मुद्दा दलितको मात्र नभएर सबैको हो । मान्छे भन भनेर कहिलेसम्म हारगुहार गरिरहने ? सबैको यसमा ध्यानाकर्षण हुनुपर्ने देखिन्छ । यो हाम्रो मात्र नभएर सबै समुदायको साझा मुद्दा हो ।