पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक नुवाकोटगढी – Nepal Press

पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक नुवाकोटगढी

रुपन्देही । बुटवलको व्यस्त बजारबाट सजिलै पुग्न सकिने इतिहास बोकेको डाँडाको नाम हो नुवाकोट । अंग्रेजलाई हराएका नेपाली सेनाको आश्रयस्थल र प्राचीन पुर्खाहरुले नून बोक्दा रेकर्ड राख्ने भन्सार डाँडा नै नुवाकोटगढी हो । नुवाकोटगढी इतिहास अध्ययन गर्ने स्थलमात्र होइन, तराई हेर्ने डाँडाको रुपमा परिचित छ ।

पाल्पाको तिनाउ गाउँपालिका- २ मा रहेको यो स्थानमा केही समयअघिसम्म पैदल यात्राबाट मात्रै पुग्न सकिन्थ्यो । अहिले पक्की मोटरबाटोबनेकाले धेरैको पहुँचमा पुग्न थालेको छ नुवाकोटगढी ।

बुटवलबाट करिब १० किलोमिटर उकालो पक्की बाटोबाट नुवाकोटगढी पुग्न सकिन्छ । यहाँ बजार क्षेत्रभन्दा ४ देखि ६ डिग्री तापक्रम कम हुने भएकाले धेरैको गन्तव्य बनेको छ । बुटवलको मणिमुकुन्द सेन उद्यान र बुटवल मावि गेटबाट पुरानो सिँढीको पैदलमार्ग करिब साढे दुई घन्टा, बेलबास शान्तिचोकबाट ८ किलोमिटर पक्की उकालो बाटो, पाल्पाको दोभानबाट करिब ५ किलोमिटर ग्राभेल बाटोबाट पुग्न सकिन्छ नुवाकोटगढी ।

अहिले बुटवलबाट नुवाकोटगढी पुग्ने केवलकार निर्माण भइरहेको छ । यही आर्थिक वर्षमा केबलकार निर्माण सक्ने गरी काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । पुरानो बुटवलको माथिल्लो डाँडादेखि नुवाकोटसम्मको केवलकार निर्माण करिब ४ अर्ब लगानीमा भइरहेको हो । यो केवलकार सञ्चालनमा आएपछि बुटवलबाट पर्यटकहरू पाँचदेखि ७ मिनेटमै नुवाकोटगढी पुग्नेछन् ।

बुटवल, भैरहवाजस्ता शहर हेर्न पर्यटकहरू यहाँ पुग्ने गरेका छन् । वरिपरि रहेको घना जंगलको हरियालीले यहाँको सुन्दरता थपेको छ । डाँडाकाँडा, वनजंगल, नदीनालादेखि समथर फाँटको दृश्यले सबैको मन लोभ्याउने गरेको छ । कामको बोझले थकित सर्वसाधारण पुनर्ताजगी बन्न, युवायुवती आफ्नो दैनिकीलाई प्रेममय बनाउन, नयाँ-नयाँ सोच, विचार, रूचि जगाउन, मनमोहक दृश्य हेर्न पर्यटकहरू नुवाकोट पुग्ने गरेका छन् ।

व्यवसायीले गुरुयोजनाअनुसार भौतिक संरचनाको विकास गर्नुपर्ने भन्दै सडक, खानेपानी, नुवाकोटगढीको उत्खननलगायतका कामलाई समेत प्राथमिकता दिएका छन् । यहाँ विकासका सामान्य पूर्वाधार तयार छन् । यहाँ लुम्बिनी प्रदेश सरकारले सांस्कृतिक डबली निर्माणका लागि दिएको दुई करोड बजेटबाट काम भएको छ । वेलबास-नुवाकोट–दोभान सडक निर्माण पूरा भएपछि सिद्धबाबा क्षेत्रको जोखिम छल्न सिद्धार्थ राजमार्गमा चल्ने सवारीसाधनले समेत यो सडकलाई वैकल्पिक सडकको रूपमा प्रयोग गर्न थालेका छन् ।

नेपाल–अंग्रेज युद्धमा नेपाली वीरले अंग्रेज सेनालाई पराजित गरेको ऐतिहासिक जीतगढी किल्लाको सहायक गढी र गौतम बुद्धका पिता शुद्धोधनका गुरु ऋषि कालदेवलको आश्रमस्थलका लागि नुवाकोट प्रसिद्ध छ ।

नुवाकोटमा भगवती मन्दिर, भैरव कामना मन्दिर, खड्ग मन्दिर, राजा मणिमुकुन्द सेनको गृष्मकालीन दरबारको भग्नावशेष, तोपाहान क्षेत्र, खरखजाना घर, राजा शुद्धोधनका गुरु ऋषि कालदेवल (आशुतोष) को आश्रमस्थल, ऐतिहासिक रानीकुवाको संरक्षणका लागि गुरुयोजनाको प्रस्ताव अघि सारिएको छ । केही काम सुरु भएका छन् । केही योजनामा छन् ।

बुटवल क्षेत्रबाट जाडोमा घाम ताप्न र गर्मीमा शीतल हावा खाँदै तराईका समथर फाँट, रूपन्देही र नवलपरासीका विभिन्न शहरहरूको दृश्यावलोकन गर्दै भारतको सुनौली, नौतनुवासम्मको भू-भाग हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरू नुवाकोटगढीमा पुग्ने गरेका छन् ।

यहाँबाट बुटवलदेखि भैरहवासम्मको सबै दृश्यहरू देखिने, इतिहासबारे जानकारी लिने र डाँडाबाट प्राकृतिक आनन्द लिन कलेजका ४० विद्यार्थीसहित हिँडेरै यस क्षेत्रमा घुम्न आएको बुटवलको एम्स कलेजका प्राचार्य दीपक ढकालले बताए ।

नुवाकोट डाँडा पर्यटकहरूको लागि सेल्फी डाँडा बनेको छ । तराईका फाँटदेखि बुटवलको घना बस्ती क्यामेरामा कैद गर्न चलचित्र तथा वृत्तचित्र निर्माताहरू नुवाकोट डाँडामा पुग्ने गरेका छन् ।

पर्यटकहरूको आगमन बढेपछि नुवाकोट डाँडामा दृश्यावलोकनको लागि तिनाउ गाउँपालिकाले भ्यू प्वाइन्ट, सुरक्षाको लागि रेलिङबार तथा वनभोज स्थल निर्माण गरेको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए । निजी क्षेत्रसँगको सहकार्यमा पालिकाले इतिहास संरक्षणको साथै पर्यटन प्रवर्द्धनका योजना बनाउने उनले बताए ।

पछिल्लो समय नुवाकोट गढी पर्यटकीय गन्तव्यको रूपमा परिचित हँुदै गएको छ । नुवाकोट आफैंमा ऐतिहासिक तथा पुरातात्विक महत्वको ठाउँ भएकाले गाउँपालिका, प्रदेश र संघीय सरकारको लगानीमा थप पूर्वाधार निर्माण हुन लागेको छ । नेपाल अंग्रेज युद्धस्थल भएकोले नुवाकोटगढीको अवलोकन गर्न इतिहासविद्देखि विद्यालय तथा विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरू आउन थालेको नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले बताए ।

‘नुवाकोटको प्राचीन इतिहास जोडेर यसको दीर्घकालीन विकासको योजना बनाएका छौं, हामीले बनाएको योजनालाई तीनै तहका सरकारले अपनत्व लिएर दीर्घकालीन योजना बनाउन जरुरी छ । शहरी क्षेत्रको कोलाहलबाट मुक्त हुने स्थलको रुपमा यसलाई विकास गरिरहेका छौं’, नेपालले भने ।

नुवाकोटमा निजी क्षेत्रले पर्यटन पूर्वाधारका ठूला आयोजनामा लगानी गरिरहेका छन् । थ्रीस्टार लेवलदेखि अन्य होटलहरु निर्माण भइरहेका छन् । गर्मी र जाडो मौसमका लागि अनुकूल र रमणीयस्थल भएकाले व्यवसायी यहाँ लगानी गर्न हौसिएका छन् । आन्तरिक पर्यटकको संख्या बढेपछि यहाँ पर्यटनको सम्भावना देखेर व्यवसायीको आकर्षण बढेको हो । दिनभर बुटवलमा व्यवसाय गरेर साँझ विश्राम गर्ने उद्योगी व्यवसायीहरुको समेत आकर्षण बढेको पर्यटन व्यवसायी नकुल शाही बताउँछन् ।

नुवाकोट विकास समितिले यसको व्यवस्थित गुरुयोजना निर्माणका लागि पहल थालेको छ । यहाँ विश्रामस्थल र घरबासको लागि भौतिक संरचना निर्माण गर्ने योजना छ । नुवाकोटमा निर्माण हुने घरमा काठमात्र प्रयोग गर्ने, एउटै डिजाइनमा निर्माण गर्ने र दुई तलाभन्दा अग्लो बनाउन नमिल्ने मापदण्ड बन्दैछ । यो मापदण्डलाई ध्यानमा राखेर गुरुयोजना निर्माणको काम भइरहेको अध्यक्ष नेपाल बताउँछन् ।

नुवाकोटको इतिहासका बारेमा किताबमा पढेको र अहिले प्रत्यक्ष हेर्न आएको बताउँछिन् बुटवलस्थित नवीन स्कुलकी छात्रा कृष्टिना आचार्य । उनले नेपाल र अंग्रेज फौजबीचको लडाइँ र सेन राजाले बनाएका पूर्वाधारका भग्नावशेषहरु देख्न पाउँदा खुशी लागेको बताइन् ।

बुटवल उपमहानगरपालिका- ४ का भूमिराज पौडेल नियमितजसो नुवाकोट चढ्ने गर्छन् । साथीहरुसँग नुवाकोटमा हिंड्दा स्वास्थ्यका दृष्टिबाट फाइदा मिलेको उनी बताउँछन् । बजारको कोलाहलबाट थोरै समय भए पनि मन भुलाउन नुवाकोट उपयुक्त गन्तव्य भएको उनी बताउँछन् ।

परापूर्वकालमा नून, घ्यु र कपडाको व्यापार गर्न बटौली बजार आउने यो गोरेटो बाटोलाई संरक्षण गर्न जरुरी रहेको उनी बताउँछन् । आन्तरिक र बाह्य पर्यटकलाई भुलाउन सकिने हाइकिङको राम्रो सम्भावना नुवाकोटलाई बनाउन सकिने स्वस्थ र पर्यावरण जोगाउने रुपमा हाइकिङ धेरै उपयोगी हुने नाटा लुम्बिनीका अध्यक्ष रचना पन्तले बताइन् ।

प्राकृतिक पर्यटकीय सम्पदाले घेरिएको क्षेत्र भए पनि पर्याप्त योजना बनाउन नसकेका कारण व्यवस्थापन गर्न नसकएिको बताउँदै उनले सरकार र निजी क्षेत्रको सहकार्यमा पर्यटकीय क्षेत्रहरुको विकाससँगै प्रचार गरेर पर्यटन प्रवर्द्धन गर्न सकिने सुनाइन् ।

तिनाउ गाउँपालिका- २ का वडा अध्यक्ष यादवप्रसाद अर्यालले गाउँका जातिगत, भाषा, भेषभूषा र संंस्कृतिलाई चिनाउने गरी योजनाहरु तयार गरेको, स्थानीय मगर र कुमाल जाति र समुदायको संस्कृतिलाई जगेर्ना हुने गरी आवधिक पाँचवर्षे योजना बनाइरहेको बताए । डबलीमा सांस्कृतिक कार्यक्रमहरु गर्ने र पर्यटकहरुलाई मनोरञ्जन दिने गरी तयारी गरिरहेको र लोप हुन लागेको संस्कृति जगेर्ना र अर्कोतर्फ आयस्तरमा टेवा दिने गरी योजना बनाउने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *