प्रदर्शनीको टिकटबाट सामुदायिक मुटु अस्पतालको कोष बढाउने योजना
प्रतिटिकटबाट ४ रुपैयाँ मुटु अस्पताल र ४ रुपैयाँ सामाजिक कोषलाई
रुपन्देही । बुटवलमा सञ्चालन हुन लागेको औद्योगिक प्रदर्शनीमा काटिने टिकटबाट यहाँको सामुदायिक मुटु अस्पताललाई प्रतिटिकट ४ रुपैयाँ र ४ रुपैयाँ सामाजिक कोषका लागि छुट्टाइने भएको छ ।
रुपन्देही उद्योग संघको आयोजनामा पुस ७ गतेदेखि हुन लागको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव– २०७९ मा काटिने सबै टिकटबाट आयोजकले दुवैतर्फ गरी ८ रुपैयाँ प्रतिटिकट यसरी प्रदान गर्ने योजना बनाएका छन् ।
प्रदर्शनीस्थल बुटवल मण्डपमा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने नाराका साथ पुस ७ देखि १९ गतेसम्म प्रदर्शनी आयोजना हुन लागेको हो । प्रदर्शनीको राष्ट्रपति िविद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेका संघका अध्यक्ष माधव पौडेलले जानकारी दिए ।
पौडेलले प्रदर्शनीको प्रवेश टिकटबाट ४ रुपैयाँ मुटु अस्पताललाई र ४ रुपैयाँ सामाजिक कोषमा छुट्टयाउने निर्णय भइसकेको र सोहीअनुसार हिसाबकिताब गरिने बताए । उद्योग संघको संरक्षकत्व र उद्योगीहरूकै अगुवाइमा यस क्षेत्रमा सञ्चालन भएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको कोष वृद्धि गर्न संघले यो अभियान चलाएको हो । त्यसै गरी सामाजिक कोष अन्त्रगतको ४ रुपैयाँबाट उद्योगीहरूलाई गरिने सहयोगको कोषमा जम्मा गरिने छ । संघले यसअघिका प्रदर्शनीमा पनि टिकटबाट केही रकम मुटु अस्पताललाई दिँदै आएको थियो ।
राजधानी बाहिर निर्माण हुँदै गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा कार्यक्रम आयोजना गर्ने पहिलो अवसर पाएको भएपनि प्रदर्शनी केन्द्रको भौतिक निर्माणको काम पूर्ण रूपमा नसकिएका कारण आर्थिक र व्यवस्थापनका रूपमा समस्या परेको पौडेलको भनाइ थियो ।
प्रदर्शनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनको सहभागिताका लागि छुट्टाछुट्टै १० वटा पेभिलियनको व्यवस्था गर्दै पहिलो पटक आल्मुनियमको पार्टेसनसहितका स्टल निर्माण गरिएको उनले बताए ।
स्वदेशी उत्पादनको प्रदर्शनी, नयाँ प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, युवा उद्यमीलाई प्रोत्साहन, स्वरोजगार सृजना, गोष्ठी र अन्तर्क्रियालाई विशेष योजनामा राखिएको अध्यक्ष पौडेलले जानकारी दिए ।
प्रदर्शनीमा करिब ७ लाख दर्शकले अवलोकन गर्ने र २५ करोडको कारोबार हुने अनुमान संघले गरेको छ ।