‘मैले जित्ने कसैले अनुमानसमेत गरेका थिएनन्, प्रतिस्पर्धीहरुको जमानत जफत भयो’ – Nepal Press
नेपाल टक

‘मैले जित्ने कसैले अनुमानसमेत गरेका थिएनन्, प्रतिस्पर्धीहरुको जमानत जफत भयो’

हुम्लाका माओवादी प्रदेश सांसद रनसिंह परियार भन्छन् : हुम्लामा सडक पुर्‍याउनु पहिलो प्राथमिकता

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक भइसकेको छ । प्रतिनिधिसभाको १६५ क्षेत्रमा भएको निर्वाचनमा प्रत्यक्षतर्फ नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा एक जनामात्रै दलित समुदायबाट निर्वाचित भए । नेकपा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका २ जना निर्वाचित हुन सकेनन् । नेपाली कांग्रेसले दलित समुदायबाट प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार नै बनाएन ।

प्रदेशसभातर्फ २०७४ सालको निर्वाचनमा राजनीतिक दलबाट ४ जना दलित समुदायका उम्मेदवार प्रत्यक्ष तर्फ निर्वाचित भएका थिए । यस वर्ष ३ जनामात्रै प्रत्यक्षतर्फ निर्वाचित हुनसके । जसमा कर्णाली प्रदेशसभा सदस्यमा नेकपा माओवादी केन्द्रबाट रनसिंह परियार, गण्डकी र मधेसमा एमालेबाट क्रमशः सीताकुमारी सुन्दास र लखनदास तत्मा निर्वाचित भएका छन् ।

यी ३ जनामध्ये हुम्ला प्रदेशसभा क्षेत्र नम्बर १ बाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद रनसिंह परियार काठमाडौं आएका वेला नेपाल प्रेसकर्मी केशव भुलले कुराकानी गरेका छन् । निर्वाचनको समीक्षासँगै प्रदेशसभामा पुगेर गर्ने कामलगायतका विषयमा उनै प्रदेश सांसद रनसिंह परियारसँग गरिएको कुराकानीको सम्पादित अंशः

– सात वटा प्रदेशसभामा ३ जनामात्रै दलित समुदायबाट निर्वाचित हुँदा तपाईं पनि पर्नुभयो, कस्तो महसुस भइरहेको छ ?

अब समावेशी नीति र सिद्धान्तअनुसार सबैभन्दा पछाडि परिएको वर्ग र समुदाय नै दलित हो । समावेशी सिद्धान्तअनुसार भन्ने हो भने मुलुकभरमा करिब १४ प्रतिशत जनसंख्या रहेको दलित समुदायबाट राजनीतिक दलले १४ प्रतिशत नै उम्मेदवार बनाउनुपर्ने हो । तर, त्याे हुन नसके पनि थोरै संख्यामा हाम्रो पार्टी नेकपा माओवादी केन्द्रले उठायो । जसमा हुम्ला प्रदेशसभा क्षेत्र नम्बर १ मा मलाई प्रत्यक्ष निर्वाचन प्रणालीका लागि टिकट दियो । त्यसको अनुभूति र कथा धेरै लामो छ ।

– पार्टीबाट टिकट पाउन तपाईंले कत्तिको सकस भोग्नुपर्‍यो ?

पक्कै पनि सकस त हुने नै भयो । टिकट पाउँदा म निर्वाचित क्षेत्रमा प्रत्यासी धेरै हुनुहुन्थ्यो । धेरै साथीहरुको बीचमा एकापसमा टिकट प्राप्त गर्न संघर्ष भयो नै । यो संघर्षले पार्टीको जिल्ला कार्यालय, प्रदेश कार्यालयमा छलफल गर्दा पनि टुंगो लाग्न नसकेपछि ३ जना प्रत्यासीको नाम केन्द्रीय कार्यालयसम्म पुग्यो । केन्द्रीय कार्यालयले जसरी मलाई टिकट प्रदान गर्‍यो, त्यो मेरा लागि र समग्र मेरो समुदायका लागि पहिलो खुड्किलो र विजय थियो । त्यसपछि मैदानमा जाँदा त सकस हुने नै भयो ।

मलाई दलित समुदायको एक कमजोर पात्रका रुपमा मात्र हेर्नुभयो । तर, उहाँहरुले मसँग सिंगो पार्टी छ भन्ने बिर्सिनुभयो । अर्कोतिर गठबन्धनका अधिकांश मत गए पनि कतिपय गठबन्धन दलका इमानदार नेता-कार्यकर्ताले मलाई नै मत दिनुभयो र म निर्वाचित हुन सफल भएँ ।

– के तपाईंले प्रत्यक्ष निर्वाचन पहिलोपटक लडेको हो ?

हो, म २०६४ सालको संविधानसभाको समानुपातिकको बन्दसूचीमा परेको थिएँ । तर, छनोट प्रक्रियामा पर्न सकेन । प्रत्यक्षतर्फ अहिले पहिलो पटक नै मैले निर्वाचन लडेको हो । २०६४ सालको निर्वाचन र अहिलेको अनुभूतिबीच आकाश-पातलको फरक हुने नै भयो । त्यो वेला हामी जनयुद्धबाट भर्खर जनताको बीचमा आएका थियौं । अहिले हामी जनताकै बीचमा हुँदा पनि विभिन्न प्रकारको राजनीतिक सकसपूर्ण लडाइँ लडिरहेका छौं । अहिलेको निर्वाचन धेरै फरक ढंगबाट अघि बढेको छ ।

– गठबन्धन भए पनि तपाईंको क्षेत्रमा नेपाली कांग्रेसबाट बागी र नेकपा एसबाट आधिकारिक उम्मेदवार उठ्दा जित्छु भन्ने कत्तिको विश्वास थियो ?

अब देशैभर गठबन्धनको आधारमा पार्टीले जीत हासिल गर्नेगरी अघि बढिरहेको अवस्थामा हुम्ला प्रदेशसभा क्षेत्र नम्बर १ मा हामीले सोचेजस्तो र हाम्रो गठबन्धन सफल हुन सकेन । देशभरमा ५ दलसँग गठबन्धन भए पनि हाम्रो जिल्ला र निर्वाचन क्षेत्रमा गठबन्धनभित्रका ३ दलमात्रै थिए । गठबन्धनबाट मैले टिकट पाउनेबित्तिकै कांग्रेस र एसले पाउने कुरै भएन । तर, कांग्रेसबाट पार्टीका एकदमै पुरानो नेता, जो ३० देखि ४० वर्ष कांग्रेसको राजनीति गरेको व्यक्ति गठबन्धनको विरुद्ध उम्मेदवार बन्नुभयो । कांग्रेसको धेरै मत उहाँले काट्नुभयो नै । अर्को गठबन्धन दल नेकपा एसले त आफ्नो केन्द्रीय सदस्यलाई नै पार्टीबाट आधिकारिक उम्मेदवार बनायो ।

त्यहाँ निर्वाचनको प्रचारप्रसारमा जाँदा यतिसम्म हल्ला फिजाइयो कि, एक जना कमजोर दलित समुदायको व्यक्तिले कसरी निर्वाचन जित्न सक्छ ? मेरो राजनीति र कामको मूल्यांकन ती हल्ला फिजाउनेले गर्न सक्नुभएन । मलाई दलित समुदायको एक कमजोर पात्रका रुपमा मात्र हेर्नुभयो । तर, उहाँहरुले मसँग सिंगो पार्टी छ भन्ने बिर्सिनुभयो । अर्कोतिर गठबन्धनका अधिकांश मत गए पनि कतिपय गठबन्धन दलका इमानदार नेता-कार्यकर्ताले मलाई नै मत दिनुभयो र म निर्वाचित हुन सफल भएँ ।

त्यसैले मैले धेरै खालको सकस व्यहोर्नुपर्‍यो । जुन भ्रम फैलाइएको थियो, हुम्ला प्रदेशसभा क्षेत्र नम्बर १ का जनताले त्यसको ठीक उल्टो नतिजा देखाइदिनुभयो । यसले जनता नै सबैभन्दा माथि छन् भन्ने पुष्टि गरेको छ । ती गलत भ्रम फैलाउनेका अगाडि एक जना दलित समुदायको उम्मेदवारलाई निर्वाचित गराएर यो ठाउँमा पुर्‍याएर मलाई जनताको सेवा गर्ने ठूलो अवसर दिनुभएको छ । यसमा म आभारी छु ।

– पार्टीको मतले मात्रै विजयी हुनुभयो कि गठबन्धनको पनि निर्णायक मत हो ?

शत प्रतिशत हाम्रो पार्टीकै मत हो । मैले विश्वास गर्ने भनेको आफ्नो पार्टीकै मतलाई हो । कांग्रेसका केही मत हुम्ला प्रदेशसभा २ का उम्मेदवारको कारणले पनि आए । उहाँले गठबन्धनलाई सहयोग गर्नुपर्छ भनेर जुन नेतृत्व गर्नुभयो, उहाँलाई मान्ने नेपाली कांग्रेसका नेता कार्यकर्ताले मलाई मत दिनुभयो ।

साथै केही मेरो व्यक्तिगत सदासयताका मत पनि आयो । अर्को, कैयौं समुदायगत मत पनि मलाई आयो । सबै सिमान्तकृत समुदायले मलाई मत दिनुभयो । हुम्ला जस्तो एकदमै दुर्गम ठाउँमा जसरी पार्टीले टिकट दिएर उदाहरण देखाइदियो, त्यो नौलो उदाहरणमा यहाँका नागरिकले मत दिएर अत्यधिक मतले जिताउनुभयो ।

म दलित समुदायमा जन्मिएर आर्थिक हिसाबले कमजोर त थिएँ होला । तर, राजनीतिक, वैचारिक नीति र सैद्धान्तिक हिसाबले कमजोर पक्कै थिएन । यदि म कमजोर भएको भए त पार्टीले नै टिकट दिने पनि थिएन र अहिले निर्वाचित पनि हुँदैन थिएँ ।

– निर्वाचन प्रचारप्रसारका क्रममा गैरदलित र दलित समुदायका उम्मेदवारमा के के फरक पाउनुभयो ?

जनतासमक्ष जाँदा मैले त्यस्तो केही फरक भेटाउन सकिनँ । अत्यधिक मात्रामा जनताको माया र साथ पाएँ । जुन निर्वाचन प्रचारप्रसारका क्रममा जनताको माया र साथ पाएँ, त्यति वेला नै मैले निर्वाचन जित्छु भन्ने लागिसकेको थियो । तर, समाजमा बुद्धिजीवी भनिएका र मेरो प्रतिस्पर्धी उम्मेदवारले भने अनेक भ्रम फैलाए । भन्न सक्ने जति भन्न भ्याए पनि । एक जना दलित समुदायको पराजित हुने कमजोर उम्मेदवारलाई मत दिएर के गर्नुहुन्छ ? भोलि उसलाई कसरी नमस्कार गर्नुहुन्छसम्म पनि भन्न भ्याए । म दलित समुदायमा जन्मिएर आर्थिक हिसाबले कमजोर त थिएँ होला । तर, राजनीतिक, वैचारिक नीति र सैद्धान्तिक हिसाबले कमजोर पक्कै थिएन । यदि म कमजोर भएको भए त पार्टीले नै टिकट दिने पनि थिएन र अहिले निर्वाचित पनि हुँदैन थिएँ ।

– सिमान्तृकत समुदायबाट उम्मेदवार उठ्न निर्वाचन खर्च व्यहोर्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठ्छ । कति भयो निर्वाचनमा खर्च ?

अहिलेको निर्वाचन खर्चिलो छ । यस हिसाबले हेर्ने हो भने जति पनि हुन्छ । जति गर्दा पनि पुग्दैन । मेरो हकमा कार्यकर्ता परिचालनमा मात्रै खर्च भएको हो । तर, म धेरै खर्च गरेर निर्वाचित भएको होइन र खर्च नै गरेर हुन जरुरी पनि थिएन । खर्च एकिन भन्न सकिने कुरा त भएन ।

तर, आधारभूत खर्च भयो नै । कार्यकर्ता परिचालनबाहेक अरु खासै खर्च भएन । सीमा नाघेर खर्च गरिएन । तोकिएको सीमा नाघ्ने त कुरै भएन । त्यही सालाखाला १५ देखि १६ लाख जति खर्च भयो । अहिलेको निर्वाचन प्रणालीमा यस खर्चलाई अधिकतम खर्चका रुपमा लिएको छैन र लिन पनि सकिँदैन ।

– १५ देखि १६ लाख खर्च कहाँबाट जुटाउनुभयो ?

 

सबैभन्दा बढी खर्च त पार्टीले गरेको हो । त्योबाहेक सबै मेरा भाइहरुले गरे । म त टिकट लिएर गएकोमात्रै हो । म एउटा व्यक्तिमात्र निर्वाचन लडेको हो । मसँग त पार्टी, पार्टीको विचार, सिद्धान्त, नीति र योजना थियो । त्यही बोकेर निर्वाचन लडेको हो ।

– निर्वाचन जितेपछिका दिन कसरी बितिरहेका छन् ?

जितपछि शुभकामना आदानप्रदान र भेटघाटमै दिन बितिरहेको छ । सबैले पराजित हुन्छ भनेको उम्मेदवारले यति धेरै मत ल्याएर जितेपछि सबैजना अचम्मित नै हुनुभएको छ । एक जना दलित समुदायको व्यक्तिका विरुद्ध ४-४ जना उम्मेदवार भिड्नुभएको थियो । तर, मसँग भिड्ने अधिकांशको धरौटीसमेत जफत भयो ।

जितेपछि अर्कै लोकमा पुग्ने पनि होइन, पराजित हुँदा पनि कहीं हराउने होइन । जितेपछि पनि जनताको बीचमै रहने हो र पराजित भए पनि जनताको बीचमा नै रहन्थे ।

– अरुले निर्वाचन जित्नुहुन्न भनिरहेका वेला साँच्चिकै जितिँदैन कि क्या हो भन्ने लाग्यो कि लागेन ?

मैले पराजित हुने त अपेक्षसमेत गरेको थिएन । किनभने मेरो साथमा सिंगो पार्टी थियो । म प्रचारप्रसारमा जाँदा जनताको माया देखेर निर्वाचन जित्छु नै भन्ने लागिसकेको थियो । निर्वाचन सकिएपछि मैले भने पनि अधिकांशलाई- तपाईंहरुले जिते पनि मैले हारे पनि केही छैन । निर्वाचन भव्य र सभ्य रुपमा सफल भयो यही नै हो जीत भनेको । जितेपछि अर्कै लोकमा पुग्ने पनि होइन, पराजित हुँदा पनि कहीं हराउने होइन । जितेपछि पनि जनताको बीचमै रहने हो र पराजित भए पनि जनताको बीचमा नै रहन्थे ।

– कर्णाली प्रदेशसभामा तपाईंमात्रै दलित समुदायबाट निर्वाचित हुनुभयो । के जिम्मेवारीको अपेक्षा गर्नुभएको छ ?

हामीले जनताको सेवकका रुपमा काम गर्ने हो । भलै जनताले अपेक्षा गरेको जति त गर्न नसकिएला । तर, जनताका आधारभूत समस्याको सूची तयार गरेर विकास निर्माणदेखि नीतिगत तहमा काम गरिनेछ । यहाँलाई थाहा नै होला, मुलुकभरका ७७ जिल्लामध्ये अहिलेसम्म सदरमुकामसम्म पनि गाडी नपुगेको जिल्ला हुम्ला हो । मेरो पहिलो प्राथमिकता हुम्लामा सडक पुर्‍याउनु हो । अर्को कुरा पर्यटनका हिसाबले हुम्ला सबभन्दा धेरै सम्भावना बोकेको जिल्ला हो । कैलाश मानसरोवरलाई व्यवस्थित गर्ने हो भने यसबाट यहाँका जनतालाई त फाइदा हुन्छ नै । त्योभन्दा बढी राज्यलाई पनि फाइदा पुग्छ । यसले जनताको आर्थिक अवस्थामा सुधार गर्छ ।

हुम्ला विषादीमुक्त जिल्ला पनि हो । त्यहाँ अर्गानिक खेती हुन्छ । त्यसलाई आधुनिक कृषि प्रणालीबाट विकास गरेर जाने हो भने त्यहाँको अर्गानिक उत्पादनलाई अन्तराष्ट्रिय बजारसम्म पुर्‍याउन सकिन्छ । पशुपालनको क्षेत्रमा भन्ने हो भने एकदमै चरन क्षेत्र भएको ठाउँ पनि हो । हिमाली क्षेत्रलाई व्यवस्थित गने हो भने धेरै फाइदा लिन सकिन्छ । त्यहाँको वेंशीतिर बाख्रापालनका लागि चरन क्षेत्र एकदमै छ । त्यहाँ बाख्रापालन गरियो भने काठमाडौंसम्म मासु पुर्‍याउन सकिन्छ ।

– तपाईंले राजनीतिक जिम्मेवारी के पाउनुहुन्छ नि ?

जनताका यी कुरा उठाउने हो । पद र जिम्मेवारीको विषयमा त सबैजना स्पष्ट हुनुहुन्छ नि ! नेपालमा गणतन्त्र स्थापना भएदेखि समावेशीका जुन आधार तय भए, त्यो आधार तय गर्ने विचार कसको हो यो गहन ढंगले बुझ्नुपर्छ । यदि माओवादी पार्टीले यो विचार ल्याउँदैन थियो भने हामी वडा सदस्य नपाउने बाबुका छोराछोरी, अर्काको घरमा हलिया बसेर जीवन जिउने बाबुका छोराछोरी, कुकुरभन्दा तलको जीवन जिउने बाबुका छोराछोरीले यो अवस्थामा आउन पाउने थिएनौं । यो समावेशी व्यवस्थाले आज म माननीय बन्ने अवस्थामा आइपुगेको छु । त्यसैले अब बन्ने संघीय तथा प्रादेशिक सरकारमा पार्टीले पक्कै पनि समावेशिताको सिद्धान्त र नीतिअनुसार काम गर्नेछ । सबै सिमान्तकृत समुदायलाई सम्बोधन गर्नेछ । यदि त्यो ठाउँमा पुगियो भने जनताको जनजीविकाको पक्षमा काम गर्नेछु ।

– कर्णाली प्रदेशका दलित तथा सिमान्तकृत समुदायले तपाईंबाट के अपेक्षा गर्ने ?

कर्णाली प्रदेशमा दलित समुदायको जनसंख्या २६ प्रतिशतभन्दा बढी छ । यहाँको दलित समुदायको वास्तविक अवस्था भनेको परम्परागत ढंगबाट नै जीवन बितिरहेको छ । यसलाई कसरी नवीकरण गरेर अघि बढ्ने र अहिलेको गणतन्त्रको अधिकार दिलाउने भन्ने हो । एकजना सांसदले बोलेरमात्रै त हुँदैन । तर, अहिलेसम्म बनेको नीति कार्यान्वयन गर्न मैले मेरो शक्तिले भ्याएसम्म सदनमा आवाज उठाउनेछु । जुन पीडाका साथ म आएको छु त्यसैअनुसार म सिमान्तकृत समुदायका मुद्दा उठाउनेछु । एक जनाले सदनमा उठाएरमात्र त केही हुँदैन ।

अझै पनि सिमान्तकृत समुदाय आफूमाथि भइरहेको थिचोमिचो सहेर बसिरहेका छन् । उनीहरु आफूमाथि भइरहेको दमन बाहिर ल्याउँदा उल्टै आफैंमाथि केहि हुन्छ कि भन्ने त्रासमा बाँचिरहेका छन् । तर, जसरी संविधान र कानूनमा दलितलाई अधिकार दिएको छ, त्यो जानकारी नै नपाएर आफ्नो पीडा बाहिर ल्याउन नसकेकाहरुलाई पीडा बाहिर ल्याउन बल पुर्‍याउनेछु । प्रत्यक्ष रुपमा अनुभूति गराउने कुरा र नयाँ व्यवस्थाले ल्याएको व्यवस्थालाई कार्यान्वयनमा जोड दिनेछु ।

मैले जनताको काम गर्ने भनेर र केही आशा देखाएर जनताको मत लिएर आइसकेपछि, निर्वाचित भइसकेपछि मैले जनताको आवाजलाई उठाउन सकेन भने म माननीय बनेको कुनै अर्थ हुनेछैन ।

– निर्वाचनअघि आश्वासन बाँडेर काम नगरेका थुप्रै उदाहरण छन् । तपाईंलाई काम गर्नुहुन्छ भनेर कसरी विश्वास गर्ने ?

त्यस्तो लाग्नु स्वाभाविक पनि हो । जुन कुरामा पनि परम्परागत रुपमा पहिलेकाले के गरे भन्ने जोडिन्छ र आउँछ नै । त्यही प्रकारको चेतना भएका व्यक्ति सबै हुन्छन् भन्ने पनि होइन । तर, जुन बिर्सिने गलत प्रवृत्ति छ, त्यसैलाई मात्र हेर्ने हो भने पनि फरक देखिने कुरा भएन । म पनि उस्तै हुनसक्ने भए । तर, त्यस्तो पक्कै पनि हुँदैन । मैले जनताको काम गर्ने भनेर र केही आशा देखाएर जनताको मत लिएर आइसकेपछि, निर्वाचित भइसकेपछि मैले जनताको आवाजलाई उठाउन सकेन भने म माननीय बनेको कुनै अर्थ हुनेछैन ।

– निर्वाचित भएपछि काठमाडौं आउनुको रहस्य के हो ?

यसको रहस्य केही पनि छैन । टिकट लिन पनि काठमाडौं नै आइयो । अहिले जितिसकेपछि पनि आउनुपर्‍यो नै । यहाँ नेतृत्व तहलाई धन्यवाद पनि दिनैपर्‍यो र बधाई पनि खानैपर्‍यो । धेरैजसो उच्च तहको नेतृत्व राजधानी काठमाडौंमा बस्ने भएकाले आउन त परिहाल्यो नै । आज तपाईंसँग भेट भयो भोलि अर्कोसँग होला । हुम्लाका समस्या के छन् ? त्यहाँको अहिले अवस्था कस्तो छ ? त्यस क्षेत्रका जनताले के सोचिरहेका छन् ? त्यहाँका जनता कसरी अघि बढिरहेका छन् भन्ने कुरा जानकारी गराउन पनि त काठमाडौं आउनै पर्‍यो र सुनाउनैपर्‍यो । यतिमात्र नभएर निर्वाचनको भोगाइ, चुनौती, खुशी साट्न पनि आउनैपर्‍यो । त्यस्तो कुनै विशेष रहस्य बोकेर आइएको होइन ।

– तपाईंको राजनीतिक इतिहासबारे केही बताइदिनुहुन्छ कि ?

पक्कै पनि । म सुरुमा ७ कक्षा पढ्ने वेलादेखि नै मार्क्सवाद अध्ययन गरेको व्यक्ति हो । दलितले पढ्नुहुँदैन भन्ने वेला ‘मेरो दिमागले दलितले किन पढ्नु हुँदैन’ भनेर मनैदेखि संघर्ष गर्नुपर्छ भन्ने मानसिकताबाट अघि बढेको व्यक्ति हो । मैले विद्यार्थी कालदेखि नै राजनीति सुरु गरें । घरको आर्थिक अवस्था एकदमै कमजोर भएकाले पुर्ख्यौली पेशा गरेर मेरा बाबुआमाले मलाई उच्च शिक्षा पढाउन सक्ने कुरा भएन । आर्थिक अवस्था राम्रो भएको भए पक्कै पनि म मेरा समकक्षी साथीभाइसँगै काठमाडौंलगायत अन्य शहरमा आएर पढ्न सक्ने थिएँ । तर, उच्च शिक्षालाई बाहिर गएर अघि बढाउन नसक्ने भएपछि एसएलसी सक्नेबित्तिकै २०५२ सालमा प्राथमिक तहको शिक्षकको अस्थायी जागिर खाएँ । १० वर्ष मैले शिक्षण पेशा पनि गरें । पछि पढाउँदै प्लस टु पास गरें ।

सुरुमा विद्यार्थी राजनीति नेकपा एमालेबाट गरेको थिएँ । त्यतिवेला हुम्लामा जनयुद्धको रापताप अघि बढेको थिएन । २०५७ सालमा जनयुद्धको रापताप हुम्लामा पनि गयो र माओवादीको जातीय छुवाछूत गर्नेमाथि, महिला हिंसा गर्नेमाथि, शोषण दमन गर्नेमाथि ठाउँको ठाउँ कारबाही गर्ने नीति देखेपछि म माओवादीतिर आर्कषित भएँ । माओवादीले निरन्तर जनजीविकाको पक्षमा काम गरेको देखेपछि यो पार्टीभन्दा अरु कुनै पनि पार्टीले परिवर्तन गर्न सक्दैन भन्ने लाग्यो ।

मैले पनि सोचें, सारा जनता शोषण दमनमा छन्, सिमान्तकृत समुदाय पीडामा बाँचिरहेको छ, म एक्लैले मात्र जागिर खाएर के हुन्छ ? म भन्दा तलका जनताको पक्षमा नबोल्ने हो भने म पढेको कुनै अर्थ छैन भन्ने लाग्यो । त्यसपछि म २०५९ सालमा जागिर छोडेर भूमिगत भएँ ।

तर, एकातिर सरकारी जागिर खाने, अर्कोतिर माओवादीमा आवद्ध हुने कुरा मिलेन । शिक्षकको तलब खान जिल्ला सदरमुकाम जानुपर्ने तर, माओवादीलाई समर्थन गरेपछि त्यो सहज भएन । माओवादी पार्टीको नेतृत्व तहले पनि एउटा सिमान्तकृत समुदायको व्यक्ति विचारमा पनि परिपक्व छ, शिक्षित छ भनेपछि म आवश्यक छ भन्ने पनि ठान्यो । त्यसपछि मैले पनि सोचें, सारा जनता शोषण दमनमा छन्, सिमान्तकृत समुदाय पीडामा बाँचिरहेको छ, म एक्लैले मात्र जागिर खाएर के हुन्छ ? म भन्दा तलका जनताको पक्षमा नबोल्ने हो भने म पढेको कुनै अर्थ छैन भन्ने लाग्यो । त्यसपछि म २०५९ सालमा जागिर छोडेर भूमिगत भएँ ।

त्यतिवेला अस्थायी भए पनि सरकारी जागिर त्यो पनि एक दलित समुदायको व्यक्तिले छोडेर भूमिगत भएपछि सबै अचम्मित पनि भए । यो मान्छे पागल भयो, यसका नहुने दिन आए भनेर पनि भने । विभिन्न उखान टुक्का पनि बनाए । भूमिगत भएको ३ महिनामा दलित मुक्ति मोर्चाको जिल्ला सदस्य भएँ । २०६५ मा दलित मुक्ति मोर्चाको केन्द्रीय सदस्य र पार्टीको जिल्ला कमिटी सदस्य भएँ । २०६६ मा पार्टीको भेरी कर्णाली व्युरो सदस्य भएँ । त्यसपछि दलित मुक्ति मोर्चाको सचिवालय सदस्य भएँ ।

२०७८ सम्म कर्णाली प्रदेशको मुक्ति मोर्चाको सह-संयोजक भएर काम गरें । त्यसपछि विभिन्न टुक्रिएका माओवादीसँग एकता भएपछि पार्टीले आयोजक कमिटी बनाउँदा सदस्य भएँ । एमालेसँगको एकतापछि पार्टीको कर्णाली प्रदेश सदस्य र दलित मुक्ति मोर्चाको सचिवालय सदस्य भएको थिए । पार्टी फुट्यो । अहिले म दलित मुक्ति मोर्चाको कर्णाली प्रदेश सह-इन्चार्जको जिम्मेवारीमा छु । पार्टीको बैकल्पिक केन्द्रीय सदस्य छु । यसैमा टेकेर अहिले प्रदेशसभा सदस्य निर्वाचित पनि भएँ ।

– प्रदेशसभा सदस्य निर्वाचित हुन २० वर्ष कुर्नुपर्‍यो है ?

कैयौं वर्ष कुर्नुपर्छ । कतिपले पालो नै पाउनुभएको छैन । कसैले चाँडै पालो पाए, मैले अहिले पाए कोहीले पछि पाउँछन् । राजनीति भनेको यस्तै हो । २०६४ मा समानुपातिक प्रणालीबाट निर्वाचित भएको भए एक कार्यकाल संविधानसभा सदस्य भइसक्थे । नभएपछि बदलिँदो परिस्थितिअनुसार कहींकतै थकाइ नमारेर अघि बढें । जनताको निम्ति लागियो । पार्टी नीति र विचारलाई बोकेर हिँडियो र आज यो प्रतिफल प्राप्त गरिएको छ ।

– अन्तमा के भन्न चाहनुहुन्छ ?

हाम्रो विचार सम्प्रेषण गर्ने मौका दिनुभएकोमा तपाईंलाई विशेषगरी धन्यवाद । जे जतिले यहाँबाट मेरो विचार हेर्नुभयो र पढ्नुभयो उहाँहरुलाई पनि धन्यवाद । यतिमात्र नभएर मलाई हुम्ला प्रदेशसभा क्षेत्र नम्बर १ बाट अत्यधिक मत दिएर निर्वाचित गराउने हुम्लावासी जनतालाई पनि यहीबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर