शेरबहादुर दाइलाई अन्तिम आग्रह- साइड लाग्नुस्, हाइट बढाउनुस्
नेपाली कांग्रेस संसदीय दलको निर्वाचन बुधबार सम्पन्न हुँदैछ । पार्टी संस्थापन पक्षको व्यापक ‘चलखेल’का बावजुद संस्थापन ‘इतरपक्ष’ले एकल ‘क्यान्डिडेट’ निर्माण गरेर एकताको सन्देशसँगै सभापति शेरबहादुर देउवालाई समेत उम्मेदवारी छाड्न दबाब सिर्जना गरेको छ । त्यतिमात्र नभई परिवर्तन तथा राजनीतिक स्थिरताका पक्षमा उभिन सम्पूर्ण सांसदहरुलाई समेत दबाब परेको छ । संस्थापनइतर ‘कोइराला-थापा’ पक्षभित्र विभिन्न शक्तिकेन्द्रलाई प्रयोग गरी तथा मन्त्री पदसमेत अन्धाधुन्ध रुपमा दिने आश्वासन दिएर सिर्जना गरिएको ‘बेमेल’को फाइदा उठाउने संस्थापन पक्षको तयारी वरिष्ठ नेता डा.शेखर कोइरालाले संसदीय दलको नेतामा गगनकुमार थापालाई समर्थन गरेसँगै ‘निस्तेज’ भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीका रुपमा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाललाई समर्थन गर्ने विषय सार्वजनिक भएलगत्तै कांग्रेस संस्थापन पक्षका सांसदहरुलाई प्रधानमन्त्री देउवाले दिएको ‘मन्त्री बनाउने’ आश्वासन पूरा नहुने बुझिसकेका छन् । तसर्थ पनि पार्टीभित्रको शक्ति ‘कोइराला-थापा’ पक्षमा केन्द्रित हुने देखेसँगै देउवा पक्षीय सांसदसमेत थापा पक्षमा उभिने संकेत देखिएको अनुमान लगाउन कठिन छैन ।
त्यसो त हिजो नेपाली कांग्रेस फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक निर्माणताका आफूलाई साथ दिने नेतासमेत बीचमै पुनः ‘मूलघर’ फिर्ता भएको जानकारी देउवाभन्दा टाढा छैन । त्यसैले पनि शक्ति आफूबाट क्षीण हुँदै गएको समय रक्षात्मक पंक्तिमा आफूलाई उभ्याउन पनि यतिवेला पार्टी सभापति देउवाले पार्टी महामन्त्री थापासँग संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिनुको सट्टा आफ्नो समर्थन पनि थापालाई नै भनेर ‘रुपान्तरण तथा पुस्तान्तरण’का पक्षमा आफूलाई उभ्याउँदा नै देउवाको ‘हाइट’ उठ्नसक्छ ।
पार्टी सभापति देउवाले यतिवेला छोरा पुस्ताका थापासँग ‘रिक्स’ लिएर निर्वाचन लड्नुभन्दा आफ्नै महामन्त्री थापालाई निर्विरोध रुपमा संसदीय दलको नेता बनाएर आफू राष्ट्रपतिमा ‘सिफ्ट’ हुनु नै देउवा तथा पार्टी संस्थापन पक्षको बृहत्तर हितमा देखिन्छ ।
संसदीय दलको निर्वाचनका सन्दर्भमा संस्थापन पक्षको तयारीसँगै संस्थापन इतर पक्षले समेत निर्वाचनलाई जीवनमरणको सवाल बनाएको बुझ्न कठिन छैन । तसर्थ पनि संसदीय दलको निर्वाचनपूर्व बालुवाटार प्रवेश गर्नेहरु तथा पार्टी संस्थापन पक्षसँग सम्पर्कमा पुग्नेहरुको सूचना संकलन गर्ने रणनीति संस्थापनइतर पक्षले लिने नै देखिन्छ । जसका कारण ‘भोलिको राजनीतिक भविष्य’ हेर्नेहरुले तत्कालको लाभ हेर्ने छैनन् भन्ने विश्वास संस्थापनइतरको छ भने संस्थापन पक्षले आफैंले टिकट वितरण गरेकाबाट आफू जित्ने कुरामा विश्वस्त देखिन्छ । परिणाम जे आए पनि राजनीतिक विश्लेषकहरु भन्छन्- नेपाली कांग्रेसका सांसदहरुले भोलिको आफ्नो तथा पार्टीसँगै मुलुकको भविष्यका निम्ति पनि परिवर्तनकै पक्षमा मतदान गर्नेछन् ।
पार्टी सभापति देउवाले यतिवेला छोरा पुस्ताका थापासँग ‘रिक्स’ लिएर निर्वाचन लड्नुभन्दा आफ्नै महामन्त्री थापालाई निर्विरोध रुपमा संसदीय दलको नेता बनाएर आफू राष्ट्रपतिमा ‘सिफ्ट’ हुनु नै देउवा तथा पार्टी संस्थापन पक्षको बृहत्तर हितमा देखिन्छ । तर, जीवनको उत्तरार्द्धमा यो आँटभन्दा पनि आफ्नैबाट घेरिन पुगेका देउवाले आफूलाई संसदीय दलको निर्वाचनमा होमिनबाट रोक्न सक्ने अवस्था देखिन्न ।
जीवनको कुनै कालखण्डमा इतिहासमा नाम लेखिने गरी काम गरेर पचास वर्षसम्म विजयी भएका मलेसियन प्रधानमन्त्री महाथिर मोहमदले यो पटक जमानतसमेत जोगाउन सकेनन् । सन्तानब्बे वर्षीय महाथिरको पराजयले उनको राजनीतिक यात्रामा विश्राम देखिन्छ । त्यो नियति कांग्रेस सभापति देउवाले नभोगून् भन्न पनि सभापति देउवाले शक्तिको आशक्तिबाट आफूलाई बाहिर निकालेर इतिहासमा सम्मानित नेतामा आफ्नो नाम ‘दर्ज’ गराउन पनि संसदीय दलमा थापालाई ‘निर्विरोध’ गराउनु पार्टी संस्थापन पक्षको मात्र नभई सिंगो कांग्रेसको हितमा देखिन्छ ।
सभापति देउवाले जीवनको उत्तरार्द्धमा आफ्नो राजनीतिलाई ‘दाउ’मा राख्नुको सट्टा आफ्नै राजनीतिक गुरु गिरिजाप्रसाद कोइरालाले आफ्नो अलोकप्रियताको मापन गर्दै ‘भावी सभापति’ किशुनजी भने झैं देउवाले पनि भावी संसदीय दलको नेतासँगै भावी प्रधानमन्त्री ‘गगनकुमार थापा’ भन्दा नै देउवाले भविष्यका लागि शक्ति सञ्चय गर्न धेरथोर सम्भव छ ।
भनिन्छ- सत्ता र शक्ति भन्ने चीज अत्यन्त चलायमान हुन्छ । हिजो गिरिजाप्रसाद कोइरालासँग रहेको शक्ति घटनाक्रमले देउवामा सरेको थियो । समयक्रम सधैं एकनास रहँदैन । तसर्थ पनि यो पटक कांग्रेसभित्रको शक्तिको केन्द्रमा ‘कोइराला-थापा’ रहने निश्चित प्रायः देखिन्छ । तसर्थ पनि शक्तिको दौडमा रहने आफू पक्षीय सांसदले समेत आफ्नै भविष्यका खातिर पनि पार्टीभित्रको गोप्य मतदानमा निर्भयतापूर्वक मतदान गर्दा कसको पक्षमा मतदान गर्लान् भन्ने सामान्य अनुमान देउवालाई छैन भन्न मिल्दैन ।
सँगै, देउवालाई मात्र ‘मानेर’ नपुगेर राणा शासनका विरुद्ध हतियारसमेत उठाएको पार्टीका नेता कार्यकर्ताले पुनः ‘राणा’लाई समेत छुट्टै शक्ति केन्द्र मान्दै ‘मान्नु’ पर्दाको पीडाबाट कोही अछुतो छैन । हुँदाहुँदा गुटभित्रको समेत शिकारमा परेर हार्न पुगेका कतिपय पूर्वसांसदहरुको पीडा स्वयं आफैंमा दुःखदायी छ । त्यसैले पनि सभापति देउवाले जीवनको उत्तरार्द्धमा आफ्नो राजनीतिलाई ‘दाउ’मा राख्नुको सट्टा आफ्नै राजनीतिक गुरु गिरिजाप्रसाद कोइरालाले आफ्नो अलोकप्रियताको मापन गर्दै ‘भावी सभापति’ किशुनजी भने झैं देउवाले पनि भावी संसदीय दलको नेतासँगै भावी प्रधानमन्त्री ‘गगनकुमार थापा’ भन्दा नै देउवाले भविष्यका लागि शक्ति सञ्चय गर्न धेरथोर सम्भव छ ।
नेपाली जनताले मूलधारका दलले जनतामा सुशासनको अनुभूति दिन नसक्दा नीति, सिद्धान्त तथा विचारसमेत सुस्पष्ट नहुँदैका कतिपय राजनीतिक दललाई आकारका हिसाबले ठूलो बनाइदिए ! समयको वेग बुझ्न नसक्ने दल जनताका बीचबाट विस्थापित हुने नै हो । यतिवेला नेपाली कांग्रेसका नेता देउवाले समयको वेगलाई बुझ्न नसक्ने हो भने नेपाली कांग्रेससँग महत्वपूर्ण पोजिसन मानिने प्रधानमन्त्री, राष्ट्रपति तथा सभामुख जस्ता कुनै पद रहने छैन । मुलुकको कुनै पनि कार्यकारी पद पार्टीसँग नरहँदाको पीडा कांग्रेसजनले बुझेकै हुनुपर्दछ ।
तसर्थ पनि कांग्रेसका सभापति देउवासँगै पार्टीका वरिष्ठ नेताहरु डा. शेखर कोइराला, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, पूर्णबहादुर खड्कासँगै पार्टीका उपसभापति धनराज गुरुङदेखि महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासमेतले सामूहिक रुपमा कांग्रेसलाई रुपान्तरण गर्दै नेपाली जनताले चाहेको युवा पुस्ता र मुलुकको समृद्धिका निम्ति पनि निर्विरोध थापालाई संसदीय दलको नेता चयन गर्नु सान्दर्भिक देखिन्छ । यो अवधि भनेको निर्वाचनपूर्व जुनसुकै वेला पनि रहने गर्दछ । अर्कातिर कांग्रेसभित्रको एकताको सन्देशले महत्वपूर्ण पोजिसनका निम्ति ‘बार्गेनिङ पावर’ समेत बढाउनेछ । यसको हेक्का नराखी अगाडि बढ्दा हुने सम्भावित दुर्घटनासँगै पार्टीको राजनीतिक अवसानमा ‘प्रौढ नेता’हरु यो वा त्यो बहानामा उम्कने ठाउँ रहने छैन ।