कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु (तस्बिरहरू) – Nepal Press

कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु (तस्बिरहरू)

काठमाडौं । कांग्रेस संसदीय दलको निर्वाचन सुरु भएको छ । सिंहदरबारमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा मतदान सुरु भएको हो ।

बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपनि झण्डै एकघण्टा ढिलो गरी मतदान सुरु भएकाे हाे ।

पहिलो भोट सभापति शेरबहादुर देउवाले हालेका छन् । यस्तै दोस्रो भोट महामन्त्री गगन थापाले हाले ।

त्यसपछि प्रकाशमान सिंह र रामचन्द्र पौडेलले मतदान गरेका छन् ।

अहिले अरु सांसदहरु पनि मतदान गरिरहेका छन् ।

मतदानमा सहभागी हुन सांसदहरू सिंहदरबार प्रवेश गर्ने क्रम पनि जारी छ ।

संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा रहेका छन् ।

सभापति देउवाको उम्मेदवारीको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहेका छन् ।

यसै गरी महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावक नेता डा शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका छन् ।

समितिले उम्मेदवारी दरखास्त दिन मङ्गलवार दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरेको थियो ।

कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले मतदान समाप्त भएपश्चात् आजै मतगणना र निर्वाचन परिणामको घोषणा हुने जनाएको छ । यस निर्वाचनका मतदाता पार्टीका प्रतिनिधिसभा सदस्य हुन् ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो ।

काँग्रेसमा संसदीय दलको नेता नै पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले यस निर्वाचनलाई महत्वपूर्ण मानिन्छ । कांग्रेसको विधानको दफा ४० मा संसदीय दलसम्बन्धी व्यवस्था छ । उपदफा (२) मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ ।

प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणामपश्चात् राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी नयाँ सरकार गठनका लागि आह्वान भएसँगै संसद्को सबैभन्दा ठूलो दलका हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न पहल सुरु गरिसकेको छ ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर