आरजू र मञ्जुको निगरानीमा ९ जना सांसदले खिचे मतपत्रको तस्बिर, सार्वजनिक गर्न गगनको चुनौती – Nepal Press

आरजू र मञ्जुको निगरानीमा ९ जना सांसदले खिचे मतपत्रको तस्बिर, सार्वजनिक गर्न गगनको चुनौती

काठमाडौं । नेपाली कांग्रेसको अहिले सम्पन्न संसदीय दलको निर्वाचनमा केही सांसदहरूले विधिविपरीत आफूले मत हालेपछि मतपत्रको तस्बिर खिचेका छन् । यसरी फोटो खिच्ने कम्तीमा ९ जना सांसदहरू संस्थापन अर्थात् देउवा पक्षका हुन् ।

कुनै पनि गोप्य मतदानमा मतदानपछि मतपत्रको फोटो खिच्न पाइँदैन । कांग्रेसको संस्थापनले भने आफ्नै पक्षका सांसदहरूमाथि पनि अविश्वास भएकाले फोटो खिच्ने लगाएको पाइयो । प्रधानमन्त्री पत्नी आरज राणा र गृहमन्त्री पत्नी मञ्जु खाँडको निगरानीमा ९ जना सांसदहरूले मतपत्रको फोटो खिचेको पाइएको छ । आफूले देउवालाई नै मत हालेको प्रमाण देखाउनका लागि उनीहरूले फोटो खिचेका हुन् ।

यसरी फोटो खिचिएको विषयमा संस्थापन इतरका उम्मेदवार गगन थापाले आपत्ति जनाएका छन् । उनले फोटो खिच्नेहरूलाई सामाजिक सञ्जालमा पोस्ट गर्न चुनौती पनि दिए ।

गगनका अनुसार उनले निर्वाचन समितिलाई मतदान स्थलमा मोबाइल लैजान नपाउने नियम बनाउनुपर्छ भनेर सुझाव दिएका थिए । तर, उनीहरूले मानेनन् ।

‘उहाँहरूले भन्नुभयो कि सांसदजस्तो मान्छेलाई मोबाइल बाहिरै राख्न भन्नु सम्मानजनक नहोला । हामीले पनि पार्टीको आन्तरिक निर्वाचन भएकाले यसलाई ठूलो विषय बनाएनौैं,’ गगनले भने ।

तर मतदानका क्रममा आफ्नै आँखा अगाडि १०/११ जना सांसदले मतपत्रको फोटो खिचेको उनको दाबी छ । गगनले भने, ‘हेर्दाहेर्दै केही सिनियर नेताहरू अरूलाई कुरेको भनेर छेउमा आएर बस्नुभयो । मेरै आँखा अगाडि हामीले कराउँदा कराउँदै १०/११ जनाले मोबाइल निकालेर तस्बिर खिच्नुभयो । अन्तर पार्टी लोकतन्त्रको सुखद अभ्यासमा यो लाजमर्दो कुरा हो ।’

उनले थपे, ‘यो सांसदहरू आफैँले बुझ्नुपर्ने कुरा थियो । अब तस्बिर खिचिसकेपछि यसलाई सार्वजनिक गर्ने पनि हिम्मत राख्नुपर्‍यो नि । मेरो सुझाव छ, आज बेलुका आफ्नो सामाजिक सञ्जालमा फोटो पोस्ट गरेर देखाइदिनुस् । फोटो खिचेर लगेर कसैलाई देखाउनुभन्दा सांसद साथीहरूले सामाजिक सञ्जालमा नै राखिदिनु उचित हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर