कांग्रेसमा यथास्थितिवादको अट्टहास, मुर्झायो देशमा परिवर्तनको आश
काठमाडौं । आफूलाई राजनीतिको वास्तविक खेलाडीका रुपमा पुनर्पुष्टि गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस संसदीय दल नेतामा आरामदायी जीत हासिल गरेका छन् । आज भएको निर्वाचनमार्फत देशको सबैभन्दा ठूलो दलले आफूलाई यथास्थितिवादका पक्षमा सगौरव उभ्याएको छ ।
आगामी सरकारको नेतृत्वका लागि मुख्य दावेदार पार्टी भएको हुँदा कांग्रेसको यो आन्तरिक चुनावलाई पार्टी बाहिर पनि निकै चासोका साथ हेरिएको थियो । एकप्रकारले भन्नुपर्दा प्रधानमन्त्रीकै चुनावसरह थियो कांग्रेसको यो प्रतिस्पर्धा । खासगरी पार्टीका उम्दा महामन्त्री गगन थापाको उम्मेदवारीका कारण कांग्रेस चुनावलाई धेरैले नजिकबाट नियालिरहेका थिए । देशभरका बहुसंख्यक जनता चाहन्थे, गगन संसदीय दलको नेता चुनिऊन् र भावी सरकारको भार बोकून् । तर, जनताले चाहेबमोजिम पार्टीहरु चल्ने भए देशको यो दुर्दशा किन हुन्थ्यो ।
कांग्रेसको चुनावी नतिजाले यो लगभग निश्चित गरेको छ कि, सार्वजनिक कार्यक्रममा र्याल काढेर उँघ्दै बस्ने वयोवृद्ध शेरबहादुर देउवालाई फेरि केही समय प्रधानमन्त्रीका रुपमा झेल्न यो बबुरो देश अभिसप्त बन्दैछ । कुनै ठूलो उलटफेर नभए आफ्ना ज्योतिषीको भविष्यवाणीलाई यथार्थ नजिक पुर्याउँदै उनी छैटौंपटक प्रधानमन्त्री बन्नेछन् । आखिर सत्ताको हिसाबकिताब मिलाउन देउवाभन्दा बढी कसलाई आउँछ । अरु नेताहरु बढी गफ गर्छन्, देउवा बोल्दै नबोली आफ्नो चाल चल्छन् । सत्ताका लागि जे पनि गर्न तयार हुन्छन् ।
साम, दाम, दण्ड, भेद सबैमा पोख्त देउवाका अगाडि बिचरा ‘केटाकेटी’ गगनको के जोर चल्नु ? आफ्ना पार्टीका सांसदहरुले विवेकको मत हाल्लान् भन्ने उनको भ्रम नराम्ररी तोडिएको छ । सांसदहरुसँग जे छैन, त्यसको भर परेर बसेका थिए उनी । उनले बुझ्न सकेनन् कि देउवालाई भोट हालेर आगामी सरकारमा तर मार्ने अवसरबाट कोही किन बञ्चित हुन चाहन्छ ? त्यसैले त मतपत्रको फोटो खिचेरै सुरक्षित राखेका छन् धेरैले । त्यही फोटो ‘फस्र्ट लेडी’लाई भरेहुँदी पेश गरेर जुम्लाहात गर्दै भन्नु छ- ‘सेवकलाई निगाह होस् ।’
आखिर सत्ताको हिसाबकिताब मिलाउन देउवाभन्दा बढी कसलाई आउँछ । अरु नेताहरु बढी गफ गर्छन्, देउवा बोल्दै नबोली आफ्नो चाल चल्छन् । सत्ताका लागि जे पनि गर्न तयार हुन्छन् ।
शेरबहादुर र आरजुको हन्तकाली (राष्ट्रको ढुकुटीमा दोहोलो गरेर कहिल्यै नअघाउने) जोडीले बालुवाटारमा रजगज गरिरहँदा जनतालाई परिवर्तनको हुटहुटी अचाक्ली छ । चुनावले कांग्रेसलाई प्राविधिक रुपमा बहुमत दिए पनि जनताले देशमा नयाँ नेतृत्व चाहेका छन् भन्ने भर्खरै जन्मेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्राप्त मतबाट पनि अनुमान गर्न सकिन्छ । देउवा पनि जनताकै भोट पाएर त जितेका हुन् भन्ने तर्क गर्न सकिएला । तर, उनीविरुद्ध उठेका सागर ढकाललाई आएको मत हेर्नुस्, जसले बाहिरबाट गएर दुई-तीन महिनाको तयारीमा कुनै संगठनको बलविना १३ हजार मत ल्याए ।
अहिले कांग्रेस सांसदहरुले देउवालाई दुईतिहाइ भोटले जिताएको उनले देशका लागि केही गर्ने आशाले होइन । आफ्नो लागि केही गर्ने आशाले हो । नयाँ सांसद भएर आएकाहरुलाई एकबारको जुनीमा एकथान मन्त्री खानुछ । पुरानाहरुलाई पहिले नमेटिएको तलतल मेटाउनुछ । त्योबाहेक ‘पत्रम् पुष्पम्’ समेतका कुराहरु होलान् ।
चुनावअघिसम्म गगन थापा आफ्नो कमजोर अंकगणितबारे जानकार नै थिए । तर, गोप्य मतदान भएकाले देउवा पक्षका सांसदहरुबाट क्रस भोटिङ व्यापक हुने र आफू झिनो अन्तरले चुनाव जित्ने झिनो आशा उनलाई थियो । उनलाई मात्र होइन, देशमा परिवर्तनको चाहना बोकेका तमाम मानिसहरु पनि यही आशामा थिए कि जनताको मतादेश लिएर आएका कांग्रेस सांसदहरुले फल लाग्ने सम्भावना नै नभएको बुढो रुख र चिल्ला पातसहित फक्रिँदै गरेको जवान रुखमध्ये दोस्रोलाई रोज्नेछन् । तर, सोचेभन्दा ठ्याक्कै उल्टो भइदियो । क्रस भोटिङ देउवा पक्षबाट होइन कि गगन पक्षबाट भयो । उनले आफ्नै गुटका सबै सांसदको विश्वास पाएनन् । उनकै गुटका केही सांसदले बुढो रुख रोजेको मत परिणामबाट देखिन्छ ।
यदि गगनले चुनाव जितेको भए त्यसबाट कांग्रेसमा नयाँ ऊर्जाको प्रवाह हुने थियो भने देशमा नै एउटा आशाको सञ्चार हुने थियो । उनी भोलि प्रधानमन्त्री बन्दा जनताले परिवर्तनको महसुस गर्ने थिए । मञ्चमा दुई खुट्टा टेकेर उभिन नसक्ने र अरुले लतार्दै हिँडाउनुपर्ने प्रधानमन्त्रीको ठाउँमा एउटा जल्दोबल्दो सशक्त युवालाई प्रधानमन्त्रीका रुपमा पाउँदा जनताले आफ्नो अभिमतको सदुपयोग भएको महसुस गर्न सक्ने थिए । त्यो सबै आशा लगभग चकनाचुर बनेको छ । फेरि पनि देशलाई बोक्न सक्ने होइन, देशले बोक्नुपर्ने देउवालाई नै कार्यकारी प्रमुखका रुपमा झेल्नुपर्ने बाध्यता जनताका निम्ति एउटा ऐतिहासिक ऐठन हो ।
चुनावले कांग्रेसलाई प्राविधिक रुपमा बहुमत दिए पनि जनताले देशमा नयाँ नेतृत्व चाहेका छन् भन्ने भर्खरै जन्मेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्राप्त मतबाट पनि अनुमान गर्न सकिन्छ ।
त्यसो त कांग्रेसमात्र होइन, अरू पार्टीको पनि हविगत योभन्दा फरक छैन । बरु कांग्रेसले संसदीय दलको नेतामा प्रजातान्त्रिक अभ्यास त गर्यो, अरुमा त त्यो पनि भएन । देशका दुई प्रमुख कम्युनिष्ट दल एमाले र माओवादीमा हेर्नुस् । यी दुई दल कसरी अध्यक्षको एकाधिकारमा चलिरहेका छन्, हामीले प्रत्यक्ष देखिरहेकै छौं । कांग्रेसमा बरु देउवाविरुद्ध बोल्नेहरु छन् । तर, एमालेमा केपी ओलीविरुद्ध र माओवादीमा प्रचण्डमाथि त प्रश्न गर्न नै बर्जित छ । उनीहरुविरुद्ध कसैले मुख खोल्नु भनेको आफ्ना लागि निकै ठूलो अनिष्ट निम्त्याउनु हो । एमालेमा ओलीलाई चुनौती दिने दुस्साहस गर्दा घनश्याम भुसाल उछिट्टिएर कहाँ पुगे र भीम रावल कुन धुरीमा बसेर कराइरहेका छन् भनिरहनु नपर्ला । माओवादीमा प्रचण्डविरुद्ध बोल्नेहरु सबै लाखापाखा लागेर अहिले कसले बढी चाकडी गर्ने भनेर प्रतिस्पर्धा छ ।
कांग्रेसमै फर्किउँ । संसदीय दलको चुनावपूर्व केही सकारात्मक संकेतहरु देखिएका थिए । जस्तो कि शेखर कोइरालाले आफ्नो व्यक्तिगत आकांक्षालाई थाँती राखेर गगन थापालाई समर्थन गरे । उनको समर्थनसँगै कांग्रसको निरस ठानिएको प्रतिस्पर्धामा एकाएक रौनक आएको थियो, जसरी भर्खर कतारमा सम्पन्न विश्वकप फुटबलको फाइनलमा एम्बाप्पेले अर्जेन्टिनाविरुद्ध दुई गोल गरेपछि खेलमा रोमाञ्चकता फर्किएको थियो ।
तर, शेखरले आफ्नो समर्थनमा कति इमानदारिता देखाए, प्रदीप पौडेलले गगनको छेउमा उभिएर फोटो खिचाउँदै परिवर्तनको पक्षमा उभिने प्रतिबद्धता त जनाए । तर, भोट हाल्ने वेलामा त्यसलाई निभाए वा निभाएनन्, धनराजले के गरे ? इत्यादि समीक्षाहरु अब हुने नै छन् । अब मुख्य कुरा भनेको अहिले जनताबाट निर्वाचित भएर आएका कांग्रेस सांसदहरुले आफूलाई भोट दिने मतदाताहरुलाई के जवाफ दिन्छन् भन्ने हो । उनीहरु आफ्नै निर्वाचन क्षेत्रमा कसरी शीर ठाडो बनाएर हिँड्छन् भन्ने हो ।
त्यसो त अहिलेसम्म कुन चाहिँ पार्टीका सांसदले जनताप्रति जवाफदेहिता निभाएका छन् र ?
५ पटकसम्म असफल, विकृत र असक्षम भनेर प्रमाणित भएकोले नै पाउने भएपछि देश १० वर्ष पछि पर्यो । अब त बुढाबुढी मिलेर लुटने हो । त्यसमा विना पैसाका दलाल खेताला झदैछन सघाउने ।