बुटवल मण्डपमा हुँदै पहिलो औद्योगिक प्रदर्शनी, हट्यो अस्थायी संरचना निर्माणको झन्झट – Nepal Press

बुटवल मण्डपमा हुँदै पहिलो औद्योगिक प्रदर्शनी, हट्यो अस्थायी संरचना निर्माणको झन्झट

रुपन्देही । बुटवल क्षेत्रका उद्योगी व्यवसायीले पहिलो पटक स्थायी संरचनामा प्रदर्शनी गर्ने भएका छन् । उद्योगी व्यवसायीले बुटवल मण्डपमा पहिलो पटक औद्योगिक प्रदर्शनी गर्ने भएका हुन् ।

यसअघि बुटवलमा अस्थायी संरचनामै प्रदर्शनी तथा महोत्सव हुँदै आएको थियो । बुटवल मण्डप तयार भएपछि अस्थायी संरचनामा हुने लाखौं रकम बचत हुनुको साथै हावाहुरी र पानीका कारण हुने क्षतिसमेत कम हुने भएको छ । अस्थायी संरचना निर्माण गर्नुपर्ने झन्झटसमेत कम भएको उद्योगी व्यवसायीहरुको भनाइ छ ।

रूपन्देही उद्योग संघले २०४५ सालमा पहिलो पटक काठमाडौंबाहिर बुटवलमा औद्योगिक प्रदर्शनी गरेको थियो । त्यसयता मेला प्रदर्शनीले निरन्तरता पाउँदै आएको छ । पहिले रूपन्देही उद्योग संघ र बुटवल उद्योग वाणिज्य संघले आलोपालो गर्ने प्रदर्शनी र मेला गरेका थिए । अहिले उद्योग संघ, वाणिज्य संघ, रूपन्देही व्यापार संघ र नेपाल उद्योग व्यापार संगठनले पनि हरेक वर्ष आलोपालो औद्योगिक प्रदर्शनी तथा व्यापार मेला गर्ने गरेका छन् ।

गएको दुई वर्ष कोभिड महामारीका कारण औद्योगिक प्रदर्शनीलगायतका आर्थिक गतिविधि बन्द भएका थिए । यस वर्ष रुपन्देही उद्योग संघले बुटवल मण्डपमा पहिलो पटक १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव आयोजना गरेको हो ।

नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग परिसंघसँगको संयुक्त आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने नाराका साथ पुस ७ देखि १९ गतेसम्म प्रदर्शनी हुने भएको हो ।

सुरूका वर्ष हाल लुम्बिनी बस टर्मिनल रहेको स्थानमा प्रदर्शनी तथा मेला महोत्सव आयोजना हुन्थ्यो । उद्योगी व्यवसायीले त्यसयता सडक विभाग परिसर र बुटवल मण्डपमा अस्थायी संरचना निर्माण गरी प्रदर्शनी आयोजना गर्दै आएका थिए । खुला ठाउँमा प्रदर्शनी तथा मेला आयोजना गर्दा प्रवेशद्वार, स्टल, मञ्चलगायतका संरचना निर्माणमा बढी रकम खर्च हुँदै आएको थियो ।

यसपटक निर्माणाधीन बुटवल मण्डपमा प्रदर्शनी आयोजना गरिएको छ । बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पश्चिमतर्फ एक अर्ब दुई करोडको लागतमा प्रदर्शनी केन्द्र निर्माण भइरहेको छ । ६.४ बिगा क्षेत्रफलमा शहरी विकास मन्त्रालयमार्फत् निर्माणाधीन प्रदर्शनी केन्द्र सरकारीस्तरको नेपालकै ठूलो प्रदर्शनी केन्द्र रहेको दाबी गरिएको छ । यहाँ विशाल प्रदर्शनी हलसमेत निर्माण भइरहेको छ । त्यस्तै दुइटा बैठक हल, प्रशासनिक भवन र खाजा घरको निर्माण जारी छ ।

१२ हजार स्क्वायर मिटरमा निर्माण हुने विशाल प्रदर्शनी हलमा चार वर्ग मिटरका साढे तीन सय स्टलको व्यवस्थापन हुनसक्छ । त्यही हलमा यसपटक प्रदर्शनी आयोजना गरिएको छ । निर्माणाधीन दुई बैठक हलमध्ये एउटा साढे तीन सय वर्ग मिटर र अर्को साढे दुई सय वर्ग मिटरको छ । सबै हलको निर्माण सम्पन्नपछि ८५० वटा स्टल व्यवस्थापन गर्न सकिने बताइएको छ ।

बाहिरबाट हेर्दा तीन वटा भवन देखिने प्रदर्शनी केन्द्रमा एकैपटक १० हजार जनाले अवलोकन गर्नसक्छन् । त्यस्तै २० हजार अटाउन सक्ने हल, दुई हजार जना क्षमताको फुड कोर्ट पनि निर्माण भइरहेको छ । ढिलै भए पनि स्थायी प्रदर्शनी केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ ।

प्रदर्शनी आयोजक रूपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल नयाँ संरचनामा प्रदर्शनी आयोजना गर्न लागिएकाले फरकपन दिन खोजेको बताउँछन् । स्थायी संरचना बनेसँगै खुला आकाशमुनि टेन्ट टाँगेर प्रदर्शनी गर्नुपर्ने बाध्यता हटेको उनले बताए ।

नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलम विदेशका औद्योगिक प्रतिष्ठानसँग नेपाली उद्यमीलाई प्रतिस्पर्धा गर्नसक्ने वातावरण तयार गर्न प्रदर्शनी सफल हुने बताउँछन् ।

प्रदर्शनीस्थलमा उत्पादन र वस्तुको प्रदर्शन तथा बिक्रीका लागि अलग अलग पेभिलियनको व्यवस्था गरिएको छ । १० वटा पेभिलियनमा करिब ४ सय स्टल रहेको महासचिव हीरामणि भट्टराईले जानकारी दिए ।

प्रदर्शनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनको सहभागिताका लागि छुट्टाछुट्टै १० वटा पेभिलियनको व्यवस्था गर्दै पहिलो पटक आल्मुनियमको पार्टेसनसहितका स्टल निर्माण गरिएको उनले बताए ।

प्रदर्शनीमा औद्योगिक प्रविधि, सूचना प्रविधि, रेूुरेन्ट, कृषि, हस्तकला, फ्लोरिकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आईटीलगायतका उत्पादन र वस्तुका स्टल छन् । प्रदर्शनी ७ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । आयोजकले २५ करोडको आर्थिक कारोबार हुने अनुमान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *