मुख्यमन्त्री छँदै राजेन्द्र पाण्डेले लिए संघीय संसदको शपथ – Nepal Press

मुख्यमन्त्री छँदै राजेन्द्र पाण्डेले लिए संघीय संसदको शपथ

आलोचना बढेपछि राजीनामा दिने मुडमा

हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्रीबाट राजीनामा नगरी संघीय सांसदको शपथ लिएका छन् ।

७४ मा प्रदेश सांसद जितेका पाण्डे हाल प्रदेश मुख्यमन्त्री छन् । योपटक धादिङ- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पाण्डेले आज ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरासँग अन्य सांसदसँगै शपथ लिए ।

प्रदेश सांसदहरूको शपथ हुन अझै केही दिन लाग्ने भएकाले पाण्डे केही दिन दोहोरो भूमिकामा देखिने भएका हुन् ।

वागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले भने पाण्डेले शुक्रबार राजीनामा दिने बताए । संघीय सांसदको सपथ लिएपछि पनि मुख्यमन्त्रीमा बसिरहेको भन्दै आलोचना भएपछि उनी राजीनामा दिने मुडमा पुगेको बताइएको छ ।

‘नेपालको संविधानमा प्रदेशसभा सदस्यबाहेकका व्यक्ति मुख्यमन्त्री बन्न पाउँदैनन् । तर राजीनामा नदिएसम्म के हुन्छ भन्ने विषय स्पष्ट नभएको हुँदा उहाँ नै मुख्यमन्त्री हो’, शर्माले नेपाल प्रेससँग भने ।

संविधानको धारा १६९ को उपधारा १ (ग) मा प्रदेशसभा सदस्य नरहेमा मुख्यमन्त्री हुन नपाउने व्यवस्था कायम छ । तर, रिक्त भएको अवस्थामा को मुख्यमन्त्री हुने भन्ने अवस्था नदेखिएकोले पाण्डेले राजीनामा नदिएका हुन् ।

पाण्डेले भने आफूले राजीनामा दिएमा वागमती प्रदेश सरकारबिहनीन हुने भएकोले नयाँ मुख्यमन्त्रीलाई पद हस्तान्तरण गरेर बिदा हुने योजना बनाएको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर