सुदूरपश्चिममा भतिजा प्रकाश देउवालाई दलको नेता बनाउन बालुवाटारको दबाब, सहमतिको सम्भावना क्षीण – Nepal Press

सुदूरपश्चिममा भतिजा प्रकाश देउवालाई दलको नेता बनाउन बालुवाटारको दबाब, सहमतिको सम्भावना क्षीण

कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित कांग्रेसका प्रकाश देउवाले केही दिन पहिले भेटका क्रममा प्रदेश संसदीय दलका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब नदिन आग्रह गरे । संसदीय दलको चर्चामा रहेका सांसदहरूलाई प्रधानमन्त्री तथा पार्टी सभापति देउवालाई दबाब नदिएरै प्रदेशमा दलको नेता छनोट गर्नुपर्नेमा उनको जोड थियो ।

‘तपाईँहरू पनि मेरो ठूलोबुबालाई दलको नेता बनाइदिनुहोस् भन्दै भेट्न नआउनुहोस्, म पनि भन्दिनँ, त्यहीँ चुनाव लडौँ जो जित्छ उही बन्ने’, देउवाले ती नेतालाई भने ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाका भतिजा हुन् प्रकाश देउवा । प्रधानमन्त्रीपत्नी आरजू राणा देउवाको प्रमुख स्वकीय सचिव हुँदै कैलाली ५ (२)बाट प्रदेशसभामा निर्वाचित भएका देउवा अहिले संसदीय दलको नेताका प्रमुख दाबेदार हुन् ।

पार्टीमा उनी महासमिति सदस्यमात्रै हुन् । तर, देउवा परिवार भएकै कारण उनी नै संसदीय दलको नेता बन्ने धेरै सम्भावना रहेको कांग्रेस नेताहरूको बुझाइ छ । कांग्रेस उच्च स्रोतका अनुसार प्रकाश देउवाले कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायर, केन्द्रीय सदस्यद्वय एनपी साउद र रमेश लेखकलाई पनि यस विषयमा हस्तक्षेप नगर्न र आफूलाई सघाउन आग्रह गरिसकेका छन् । यी तिनैजना देउवा पक्षका नेता हुन् ।

एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायरलाई छुट्टा-छुट्टै भेटका क्रममा संघको अवसरको लागि प्रदेशमा आफूलाई सहयोग गर्न आग्रह गरेको बताइन्छ । कैलाली ४ बाट निर्वाचित भएका बलायर, कञ्चनपुर २ र ३ बाट निर्वाचित भएका साउद र लेखक दुबै संघीय सरकारमा मन्त्री बन्ने लाइनमा छन् ।

यी तीनजनको सहयोगमा आफू सर्वसम्मत दलको नेता बन्ने वा निर्वाचन भएपनि यी तीनजनाले सहयोग गरे आफू विजयी हुने देउवाको अपेक्षा छ ।

कञ्चनपुरबाट निर्वाचित बहादुर थापा, देवानसिंह विष्ट, अछामबाट निर्वाचित मेघराज खड्का र कैलालीबाट निर्वाचित कमल शाह पनि दलको नेताको रेसमा छन् ।

कञ्चनपुरका थापा पार्टीका पूर्वजिल्ला सभापति तथा संविधानसभा सदस्य हुन् । विष्ट संविधानसभा सदस्य तथा महासमिति सदस्य हुन् । अछामका खड्का तत्कालीन जिल्ला विकास समिति सभापति तथा हालका प्रदेश महामन्त्री हुन् । उनले यसअघि पनि संविधानसभा र प्रदेशसभामा टिकट पाएका थिए । तेस्रो प्रयासमा अहिले सांसद बने ।

कैलालीका थापा पनि महासमिति सदस्य हुन् । संसदीय दलको नेतामा अहिले चर्चामा रहेकामध्ये देउवा पार्टीमा सबैभन्दा जुनियर हुन् । तर, प्रधानमन्त्रीसँगको पारिवारिक सम्बन्धका कारण उनकै सम्भावना बढी छ ।

सर्वसम्मतमा सकस

प्रकाश देउवालाई नेता बनाउन बालुवाटार लागे पनि उनलाई सर्वसम्मत हुन भने सहज छैन । पार्टीका केही सिनियर नेताहरूले यसमा असहमति प्रकट गर्दै आएका छन् । यस्तो अवस्थामा चुनावको सम्भावना बढी छ ।

दलको नेतामा आकांक्षी रहेका प्रदेश महामन्त्री खड्का पनि निर्वाचन समिति बनाएर प्रक्रिया अघि बढ्ने बताउँछन् ।

‘दलको नेता सर्वसम्मत हुन्छ’ उनले भने ‘तर, आवेदन दिने कुराहरू अघि बढ्छ ।’

कांग्रेस प्रदेश समितिले प्रदेशमा प्रदेश संसदीय दलको नेता चयनको लागि निर्वाचन समिति गठन गर्ने तयारी गरेको छ । शपथ ग्रहणपछि मात्रै दलको नेता छनोट गर्ने तयारी भइरहेको प्रदेश महामन्त्री खड्काले बताए ।

देउवा पक्षमै समस्या

सुदूरपश्चिम प्रदेशमा कांग्रेसका प्रत्यक्ष तर्फ १२ र समानुपातक ७ गरी १९ सांसद छन् । प्रत्यक्षका १२ मध्ये देउवातिर १० जना छन् । कञ्चनपुरबाट निर्वाचित देवानसिंह विष्ट र दार्चुलाबाट निर्वाचित विक्रम धामी बाहेक अन्य देउवा खेमाका हुन् । १४ औँ महाधिवेशनमा कोइराला समूहबाट केन्द्रीय सदस्य लडेर पराजित भएका कमल शाहले पनि अहिले गुट फेरेका छन् ।

दलको नेतामा दाबी गरिरहेका पाँचजनामध्ये चारजना देउवा र एकजना शेखर समूहका छन् । समानुपातिकमा पनि ७ जनामध्ये ६ जना देउवा पक्षका सांसद छन् ।

देउवा पक्षले सर्वसम्मत रूपमा उम्मेदवार अघि सारे उनै सर्वसम्मत हुने संकेत छ । तर, यो समूहमै सहमति हुने सम्भावना न्यून छ ।

यता कोइराला समूहका मानिएका देवानसिंह विष्ट आफूलाई पार्टी सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैले मुख्यमन्त्रीको आश्वासन दिएका कारण आफू दलको नेता हुनेमा विश्वस्त छन् । प्रतिनिधिसभातर्फ माओवादी केन्द्रकी विना मगरलाई उम्मेदवार बनाएर आफूलाई मुख्यमन्त्रीको आश्वासनसहित प्रदेशमा उठाएको बताउँदै आएका छन् उनी ।

‘मेरो पार्टी सभापति र माओवादी अध्यक्ष दुवैले मलाई मुख्यमन्त्रीको रूपमा प्रस्तुत गर्नुभएको थियो । म त्यही सर्तमा प्रदेशसभामा उठ्न राजी भएँ । गठबन्धनले मुख्यमन्त्रीको रूपमा मलाई भनिरहेको बेला दलको नेता त म स्वाभाविक हो नि’, विष्ट सुनाउँछन् ।

सुदूरपश्चिममा यी हुन् कांग्रेसका सांसद

प्रत्यक्ष

१. प्रकाशबहादुर देउवा

२. प्रकाश बम

३. कमलबहादुर शाह

४. दिवानसिंह विष्ट

५. बहादुरसिंह थापा

६. बेलबहादुर राना मगर

७. मेघराज खड्का

८. मानबहादुर रावल

९. पृथ्वीबहादुर सिंह

१०. शिवराज भट्ट

११. विक्रमसिंह धामी

१२. पदमबहादुर शाही

समानुपातिक तर्फबाट

१. ललिता सुनार

२. मधु भारती

३. सरस्वती खड्का

४. जुना दानी

५. डम्बरी महरा

६. तुलसी देवकोटा

७. गीताकुमारी चौधरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर