वैभवपूर्ण काठमाडौंलाई डिस्टर्ब नगर लुरी ! – Nepal Press

वैभवपूर्ण काठमाडौंलाई डिस्टर्ब नगर लुरी !

मज्जाले हिँड्ने डोल्पालीहरु ५-७ दिनमा नै दुनैबाट लुरी पुग्न सक्छन् । तर, शहरबाट आएको यस पंक्तिकारको समूहले १५-१६ दिनभन्दा चाँडो लुरीको आतिथ्य भेट्न नसक्ने रहेछ ।

लुरीको धारा र चामा (मही र सातु) सँगै यसो गम खाँदा सब ठीकठाक छ । पारिलो छ लुरी । माननीय चौधरीको चाउचाउ (रु १००+) र चाइनाको चामल (रु ३००+) लुरीमा उहिल्यैबाटै पाउन लागेको । मानिसहरु उवाको खेती गर्दछन् । बाख्रा, च्यांग्रापालन गर्दछन्, हिमालपारि गएर सामान ल्याउँछन् र बिक्री गर्दछन् । तलबाट खच्चरले ल्याइदिएका आधुनिक सरसामानहरुको उपभोग गर्दछन् । के फरक छ त अरु सुगम भनिएका ठाउँ र लुरीमा ?

प्रश्न गर्नेहरु त जेमा पनि गरिहाल्छन् नि ! खै विद्यालय रे ? खै स्वास्थ्य सेवा रे ? किन सुत्केरी हुन नसकेर आमाहरुले ज्यान गुमाउनु परिरहेको रे ? खै यातायात ? खै सञ्चार ? प्रहरी प्रशासन ? मातृशिशु स्वास्थ्य ? पिउने पानी ? बाल विवाहविरुद्धको चेतना ? रोजगारी वा उद्योग कलकारखाना (यो प्रश्न चाहिं नसोध्ने रे) ?

तर, खासमा उत्तरहरु सजिला छन् । पढाउन काठमाडौं वा नेपालगञ्ज लैजान सक्दैनौ भने भेंडाबाख्रा हेर्ने काम त गरेकै छन् तिम्रा सन्तानहरुले । स्कुल नै गएर के हुन्छ भन्ने ठानेका छौ ? सुत्केरीको बेथा लाग्यो भने हेलिकोप्टर आइहाल्छ । त्यत्ति हो मन्त्री आफ्नो मान्छे हुनुपर्‍यो र पर डाँडामा पुगेर फोन गर्दा फोनले नेटवर्क टिप्नुपर्‍यो । अनि मुख्य कुरा मन्त्रीले हेलो चाहिं भन्नुपर्‍यो ।

खासमा अब काठमाडौंले अरुका समस्या सुन्न सक्दैन लुरी । काठमाडौंले आफ्नै सान, मान, भव्यता, मौलिकता र महानताको लागि काम गर्नुपर्छ । यो कुरा काठमाडौंले बुझ्यो, अब तिमी पनि बुझ । अब हामी काठमाडौंलाई भव्य र गर्विलो शहर बनाउँछौं ।

अरु स्वास्थ्यका समस्या त धामीझाँक्रीको कमी नभएको देशमा, के कुरा भयो र ? यातायात त मानिसले हिँड्दा नै स्वास्थ्यको लाभ गरिराखेका छन् भने त्यत्रो पैसा किन खर्च गर्ने ? फेरि खच्चरको रोजगारी गुम्दैन ? अझ खासमा त राजधानी लगायतका शहरमा वर्षैपिच्छे कालोपत्र गर्नमै पैसा अपुग भैराखेको बेलामा वहाँ टाढासम्म कसले सक्छ पैसा पुर्‍याउन ? अझ गहिरो कुरा के छ भने पर्यटकहरु वर्षमा २-४ दर्जन त माथिल्लो डोल्पासम्म पुगी नै हाल्छन् । उनीहरुलाई हाम्रो गरिबी देखाइदिएर उनीहरुको आदिम कालको सभ्यतासँग साक्षात्कार गराइदिने महत्वपूर्ण जिम्मेवारी पनि त डोल्पा (लुरी) ले नै उठाइरहेको छ नि ! आफ्नो कर्तव्य बुझ न लुरी ।

हामीलाई जाडो धान्नै गाह्रो छ काठमाडौं यहाँ ! लुरीमा त झन् गर्मी मौसममै कठ्याङ्ग्रिने जाडो हुन्छ । हरेक जाडो मौसममा अर्को मृत्युलाई जित्नुपर्ने हुन्छ । ४,५०० मिटरको उचाइमा रात बिताउन लत्ताकपडा कहाँबाट जुटाउने होला ?

काठमाडौंले न्यानो सिरकमा घुस्रँदै प्रतिप्रश्न गर्छ, अनि आगो तापेर बसे भैगयो नि जाडो भगाउन । जाडो छल्न सिरककै लक्जरी किन चाहियो लुरी तिमीलाई ? उताबाट लुरीको चिसो जवाफ आउँछ, ‘जहाँ रुख विरुवा नै चिसोले गर्दा उम्रंदैनन् भने दाउरा कहाँबाट ल्याउने, अनि आगो बाल्ने ? हामी हिमाली मरुभूमिका बासिन्दा हौं भन्ने हेक्का छैन काठमाडौं तिमीलाई ?’

प्रश्न सुन्दा-सुन्दा काठमाडौंलाई झ्ँवाक पनि त चल्न सक्छ नि ? कसले रोकेको लुरीबासीलाई प्रगति गर्न ? राज्यले त समानताको नीति अंगीकार गरेकै छ त ? तिमी पनि गर न, चौधरी, गोल्छा, श्रेष्ठ, प्रधान वा ओली, थापाको जस्तो अनुकरणीय कामहरु । व्यवसाय गर, राजनीति गर, बैंक खोल, एनजीओ खोलेर देश सेवा गर, युरोप, अमेरिका जाऊ । किन अरुको डाह गरेर बस्छौ यार ? लुरी तिमी त साँच्चै लुरे रहेछौ । हाम्रा पनि त आफ्नै समस्या छन् यहाँ । कुरा किन बुझ्दैनौं यार ?

सुन न लुरी, हुन त वर्षौंदेखि हामीले नै राज गरिरहेको हो । तर, फेरि अर्कोचोटि राज सुरु गर्ने मौकैमा थाहा पायौं कि, हाम्रा एकथरि साथीभाइहरुलाई धेरै मर्का परेको रहेछ । उनीहरुलाई अनाहकमै हामीले जेलमा राखेर झेल गरेछौं । अहिले आएर महसुस भैरहेको छ । त्यसैले प्रायश्चितको लागि पनि उनीहरुलाई नुहाइदिनै पर्‍यो, दौडधुप गर्नै पर्‍यो । उनीहरुको आशिषविनाको शासन मधुर हुने देखिएन । यस्तो जटिलतामा तिम्रो सानो समस्याको लागि हामीसँग नगनगनाऊ न लुरी । एक थान शिक्षक जुटाएर, एउटा भवन बनाएर जाबो एउटा विद्यालय सुरुवात गर्ने विषयमा पनि तिमी काठमाडौं वा वीरेन्द्रनगरको मुख ताकेर बस्छौ ?

अर्कोतिर यही वेलामा एकथरि नयाँ मानिसहरु आइपुगेका छन् यहाँ । उनीहरु हाम्रा महान कृतिहरुमा टाङ अडाउन खोज्दैछन् । उदाहरण नै लिउँ न । वषौंदेखि हामीले ल्याएर माया गरेर ससम्मान राखेका मानिसहरुमाथि हाम्रो रिस पोख्दैछन् । भन्छन् कि तिम्रा मानिसहरुलाई तिमीहरुले नै व्यवस्थापन गर । यसरी अव्यवस्थित तरीकाले राख्यौ भने उनीहरुले पनि दुःख पनि पाउँछन्, शहर पनि कुरुप हुन्छ ।

अरे बाबा यिनीहरु त हाम्रा भोट बैंक हुन् नि ! चाहे यिनीहरुले जति नै अमानवीय जीवन जिउनु परोस् न ! हामीले दशकौंदेखि यिनीहरुको लागि सिन्को नभाँचे पनि हामीलाई नेता बनाइदिने त यिनै हुन् नि !

तर, म डराउँदिनँ । किनकि मलाई कसरी आफू सेफ साइडमा बस्नुपर्छ भन्ने पहिल्यै थाहा छ । त्यसैले मैले काठमाडौंको आदिवासी प्रमाणपत्र लिइसकेको छु । म विद्वत हुँ, म विकास हुँ, म समाधान हुँ, म रखवाला हुँ, म निर्णयकर्ता हुँ, म सर्वज्ञानी हुँ, म न्यायदाता हुँ । किनकि मलाई तिमीले चुन्यौ । र म तिम्रो काठमाडौं हुँ ।

फेरि लुरी, तिमीले दुःख पाएको भए तिम्रा नेताहरुलाई थाहा हुनुपर्ने होइन र ? खै त तिम्रा नेताहरु तिम्रो गरिबीको कुनै जिक्र नै गर्दैनन् त ? उनीहरुले त डोल्पामा एउटै कुराको अभाव देखाएका छन्, त्यो हो मन्त्री पद । त्यो त हामीले वेलावेला दिने गरेकै छौं नि ! तिमीलाई पनि मन्त्री चाहिएको हो लुरी ?

खासमा अब काठमाडौंले अरुका समस्या सुन्न सक्दैन लुरी । काठमाडौंले आफ्नै सान, मान, भव्यता, मौलिकता र महानताको लागि काम गर्नुपर्छ । यो कुरा काठमाडौंले बुझ्यो, अब तिमी पनि बुझ । अब हामी काठमाडौंलाई भव्य र गर्विलो शहर बनाउँछौं । यो महान र ऐतिहासिक कामलाई अन्जाम दिने क्रममा केही घुनहरु पिसिन सक्छन् । तर, त्यो काठमाडांैको भव्यताको लागि, सुन्दरताको लागि ठूलो कुरो होइन ।

हामी काठमाडौंलाई मौलिक बनाउन चाहन्छौं । त्यसको लागि यहाँको मौलिक आदिवासी जनताले मात्रै यहाँ निर्धक्कताको सास लिन सक्नेछन् । ती मौलिक वा आदिवासी को हुन् भनेर तिमी सोध्न पनि सक्छौ । तर, हामी उत्तरको लागि पूर्णतया तयार नै छौं । मौलिक आदिवासीमा ती नै पर्छन्, जसको घर काठमाडौंमा पर्छ । काठमाडौंका नेवारहरु त सीधै आदिवासी भैहाले भन्ने तिम्रो तर्क होला । तर, त्यसो होइन । जसका पितापुर्खाले आजभन्दा सयौं वर्षअघि देखि नै अनुमान गरेर यहाँ-यहाँ नवधनाढ्य काठमाडौंवासीलाई नयाँ-नयाँ गाडीमा हुइँकन मन लाग्छ भनेर चौडा सडकको लागि आफ्ना घर-आँगनै भत्काएर भए पनि जग्गा छोडिदिन सकेका थिएनन् भने तिनीहरुलाई पनि काठमाडौंको गर्विलो मौलिकताले बाँकी राख्नेछैन । त्यस्ता नेवारहरु पनि हाम्रा भव्य काठमाडौं अभियानका लागि आदिवासी होइनन् बरु विरोधी हुन् ।

अब पर्यटकले भनौं वा अझ विश्वले नै भनौं, काठमाडौंको भव्यता बुझ्न पाउनुपर्छ र यसमै विकासको वास्तविक मर्म लुकेको छ । बरु गरिब नेपालीको राजधानी शहरमा कुनै पहुँच नै किन नहोस्, त्यसले कान्तिपुरी नगरीको ओजलाई कुनै फरक पार्नसक्दैन । तर, कान्तिपुरको पहिचान निखारिनुपर्‍यो, टलक्क टल्कनुपर्‍यो । यो सब कसका लागि भन्दैछौ होला हैन तिमी ? यो सब तिम्रो लागि नहुन सक्छ । तर, यो सब हाम्रो महान सभ्यताको पुनरोदयको लागि हो । हाम्रो लिच्छवीकालीन, मल्लकालीन, शाहकालीन अगुवाहरु, जसले यस्तो कलात्मक भव्य शहर हामीलाई सुम्पेर गए । त्यसलाई जोगाउनु नै आजका अगुवाहरुको मुख्य दायित्व हो ।

अनि यी सब बनाउने कलाकारहरु त म जस्तै गरिब र निमुखा नै थिए होलान्, हैन ?

ठीक छ काठमाडौं, मैले तिम्रो शक्ति र शान बुझें । तिम्रा आफ्नै राजकाजसम्बन्धी ठूल्ठूला समस्याहरु रहेछन् । मेरो त गाँसबासको सानो समस्या न हो । तर, यदि मेरो समस्यामा तिम्रो कुनै सहानुभूति छैन भने मलाई तिम्रो राष्ट्रियताको गह्रौं भारी पनि नबोकाऊ काठमाडौं । तिमीले मबाट खोसेका मेरा सबै कुराहरु फिर्ता गर, जसको आडमा तिमीले मलाई बन्दी बनाएका छौ ।

तिम्रो सतही प्रश्न मलाई पहिल्यै थाहा छ । तर, गरिबले बनाए भन्दैमा तिनै गरिबलाई यी सब विनाश गर्न दिने त ? के कान्तिपुरको उम्दा छविले यो सबै विनाश भएको टुलुटुलु हेरेर बसोस् ? यसो भन्नलाई तिमी चाहिं काठमाडौंका आदिवासी हौ त भनेर सोध्छौ होला हैन मलाई ? तर, म डराउँदिनँ । किनकि मलाई कसरी आफू सेफ साइडमा बस्नुपर्छ भन्ने पहिल्यै थाहा छ । त्यसैले मैले काठमाडौंको आदिवासी प्रमाणपत्र लिइसकेको छु । म विद्वत हुँ, म विकास हुँ, म समाधान हुँ, म रखवाला हुँ, म निर्णयकर्ता हुँ, म सर्वज्ञानी हुँ, म न्यायदाता हुँ । किनकि मलाई तिमीले चुन्यौ । र म तिम्रो काठमाडौं हुँ ।

अनि काठमाडौंबाट सबैलाई लखेट्यौ भने उनीहरुले पनि त आऔआफ्नो ठाउँबाट तिमीलाई नाकाबन्दी लगाउलान् नि त ? तिमी के खाएर बाँच्छौ नि ? के तिमीसँग त्यसको कुनै समाधान छ ?

०००

लुरी, तिम्रो प्रश्न नै गलत छ । न त तिम्रो ल्याकत नै छ काठमाडौंलाई यस्तो प्रश्न उठाउन सक्ने । काठमाडौं केन्द्र हो र तिमी परिधिका एक विन्दु । तिमीलाई सुखै छैन, केन्द्रबिन्दुको परिक्रमा नगरिकन । के कुनै स्याटेलाइट सेन्टरको परिक्रमा नगरिकन रहन सक्छ ? तर, केन्द्रविन्दुलाई के आवश्यकता परिधिका विन्दुहरुका गुनासो सुन्दै हिँड्ने ? काठमाडौं केन्द्र हो, शक्ति हो, संसाधन हो, सत्ता हो, शासन हो र देशको शान हो । त्यसैले काठमाडौंलाई नहेप ।

०००

सायद मैले पनि तिम्रो उपनिवेशबाट छुटकारा पाउँदा एउटा सिंगो मानिस भएर शीर ठड्याउन सक्छु कि ? त्यसैले अब म तिम्रो भोटरम्यानको संकुचित परिचयबाट बाहिर निस्कन चाहन्छु काठमाडौं । तिम्रो खोक्रो राष्ट्रियतालाई अस्वीकार गर्दै पूर्ण कदको मानिस हुन चाहन्छु डियर काठमाडौं ।

ठीक छ काठमाडौं, मैले तिम्रो शक्ति र शान बुझें । तिम्रा आफ्नै राजकाजसम्बन्धी ठूल्ठूला समस्याहरु रहेछन् । मेरो त गाँसबासको सानो समस्या न हो । तर, यदि मेरो समस्यामा तिम्रो कुनै सहानुभूति छैन भने मलाई तिम्रो राष्ट्रियताको गह्रौं भारी पनि नबोकाऊ काठमाडौं । तिमीले मबाट खोसेका मेरा सबै कुराहरु फिर्ता गर, जसको आडमा तिमीले मलाई बन्दी बनाएका छौ । तिमीले मसँग राष्ट्रियता, भूगोल, भाषा, रहनसहन, संस्कार, सभ्यता सबै खोसेका छौ, तिम्रो फाइदाको लागि । तिम्रा शासन गर्ने साधनहरुले मलाई कति दुःख दिएका छन् तिमीलाई थाहा छ ? तिम्रो नागरिकता, तिम्रो परिचयपत्र, तिम्रो पासपोर्ट मेरा लागि कति पीडादायी छन्, तिमीले बुझेका छौ ?

सुनेको छु, पासपोर्ट बनाउने काम पनि मोटो कमिसन लिएर निम्छरो कम्पनीलाई दिएका छौ अरे ! त्यसैले लाखौं युवाहरु जो कोरिया, अरब, मलेसिया गएर रेमिट्यान्स पठाएर तिम्रो भाष्यको राज्य सञ्चालनमा टेवा पुर्‍याइराखेका थिए, उनीहरुको पासपोर्ट नबनेर काठमाडांैका सडकभरि सल्बलाउने बिचौलियाहरुलाई ऋण गरेको पैसा लुटाउन बाध्य पारिएका छन् रे हिजोआज ! नेपालमा त युवाले रोजगारी पाउन सकेनन् नै । तर, घरको छाक टार्न पाखोभित्तो धरौटी राखेर विदेश हिँडेका हाम्रा युवाहरुको पासपोर्ट पनि अब बिचौलियाविना नबन्ने भयो ।

त्यसैले अब म मेरो आफ्नै राष्ट्रियता विकास गर्छु । आफ्नै माटो सुहाउँदो रोजगारी खोज्छु । आफ्नै सभ्यता, संस्कार, शिक्षा, सम्पन्नता र खुशीका मानकहरु तयार गर्छु । सायद मैले पनि मेरो परम्परा, संस्कृति, जडिबुटी र भूगोलको मौलिकताबारेमा दुनियालाई बताउन सिक्छु कि ? सायद मैले पनि तिम्रो उपनिवेशबाट छुटकारा पाउँदा एउटा सिंगो मानिस भएर शीर ठड्याउन सक्छु कि ? त्यसैले अब म तिम्रो भोटरम्यानको संकुचित परिचयबाट बाहिर निस्कन चाहन्छु काठमाडौं । तिम्रो खोक्रो राष्ट्रियतालाई अस्वीकार गर्दै पूर्ण कदको मानिस हुन चाहन्छु डियर काठमाडौं ।

यसैले काठमाडौं अब मलाई तिम्रो राष्ट्रियता नथोपर । कागजको टुक्राका सीमित भएको नागरिकता नथमाउ, जसले मलाई विदेशमा मजदुरी गर्न जानसमेत बाधा गरिराखेको छ । तिमी सत्तामा, भव्यतामा र शक्तिमा मस्त रहु काठमाडौं र मलाई मेरै तरीकाले जिउन देऊ । यदि तिमीसँग सम्पन्नता र भव्यता छ भने मसँग पनि पहिचान र स्वतन्त्रता हुनुपर्‍यो । मैले तिम्रो भूगोलमा पहुँच पाउँदिनँ भने तिमीले पनि मेरो भूगोलको दाबी छोडिदिनुपर्‍यो । द््याट्स अल ।


प्रतिक्रिया

5 thoughts on “वैभवपूर्ण काठमाडौंलाई डिस्टर्ब नगर लुरी !

  1. लुरी को प्रश्न र काठमाडौं को उत्तर (प्रश्न उत्तर शैली ) मा समसामयिक राजनीतिक र सामाजिक समस्या लाई लेखकले सार्है मजाले प्रस्ट्याउनु भएको छ। पढ्नलाई पनि कति मिठ्ठो

  2. मुलुकको कुना कन्दराको यथार्थ आवाज बाहिर सम्म ल्याईएको असाध्यै मर्मस्पर्शी, यथार्थबादी लेख

  3. लुरिको स्वाभिमानी आवाज यो लेखको माध्यमबाट ती कोटामा बनेका मन्त्रीहरूसम्म पुग्छ कि पुग्दैन होला??? लुरिलाई त्यहाँका साम्सदहरुले भोटर बैंक बाहेक दिपक सरको जस्तो आखाले देख्छ कि देख्दैन होला??

  4. लुरी को जीवन वास्तविक दर्दनायिक रहेछ। कठै लुरी म्याद गयका चाउचाउ र चामल खायर लुरी ४५०० सयको उचाइमा दिन रात माईनस २०/२५ को कठ्याङ्रिने चिसो मा जीवन यापन धन्यवाद सर लुरी ब्यथाकथा जति पढ्दै अगाडि पढ्दै गयो त्यति रोचक र दुख प्रकट यो २१ अौ सब्दाब्दी मा पनि ।राज्य र सम्बन्धित निकायको ध्यानाकर्षण होस धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *