हिजो छुटेका चारमध्ये दुई सांसदले लिए शपथ (भिडिओ)
काठमाडौं। बिहीबार शपथ लिन छुटेका दुई सांसदले शुक्रबार शपथ लिएका छन् ।
शुक्रबार संसद् सचिवालयमा नेकपा माओवादी केन्द्रका रामकुमार राई र महिन्द्रराय यादवले शपथ लिएका हुन् । संसद् सचिवालयका अनुसार सांसदद्वयले संसदका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराबाट शपथ लिएका हुन् ।
सांसद रायले हिन्दी भाषामा शपथ ग्रहण गरेका छन् भने सांसद राईले नेपाली भाषामै शपथ लिएका छन् । बिहीबार ४ जना सांसदले शपथ लिन पाएका थिएनन् । शपथ लिन नपाएकामध्ये दुई सांसदको शपथ अझै बाँकी रहेको संसद् सचिवालयले जनाएको छ ।
शपथ लिन बाँकी रहेका नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले पारिवारिक शोकमा र नेपाली कांग्रेसकी माया राई सुत्केरी भई अस्पतालमा छिन् । अब उनीहरूलाई आफ्नो अनुकूलतामा शपथ गराउने सचिवालयले जनाएको छ ।