घट्यो अन्तरबैंक ब्याजदर, ऋणमा के गर्छन् बैंकहरु ? – Nepal Press

घट्यो अन्तरबैंक ब्याजदर, ऋणमा के गर्छन् बैंकहरु ?

काठमाडौं । बैंकहरुले एक-अर्काबीच गर्ने कारोबारको ब्याज एक प्रतिशत विन्दुले घटेको छ । राष्ट्र बैंकका अनुसार अहिले अन्तरबैंक ब्याजदर ७.८९ प्रतिशत छ ।

त्यस्तै कर्जा निक्षेप अनुपात सीडी रेसियो ८५.८७ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सीडी रेसियो ९० प्रतिशतभन्दा माथि जान पाइँदैन ।

पछिल्लो समय बैंकमा निक्षेप पनि केही बढेको छ । ब्याजदर घटाउनुपर्ने चौतर्फी दबाबबीच टसमस नगरेका बैंकहरु अब भने पुसको अवस्था हेरेर निर्णय लिने पक्षमा पुगेका छन् ।

एक बैंकर्सले ब्याजदर घट्ने नघट्ने अवस्थामा पुस महिनालाई नियालिरहेको बताए । पुससम्म तरलतामा थप सकस नपरे ब्याजदर घट्न सक्ने उनले संकेत गरे ।

अहिले विदेशी मुद्राको सञ्चिती सकारात्मक छ । तरलता, सीडी रेसियो, अन्तरबैंक ब्याजदरको अवस्थाले समग्र बैंकको ब्याजदर घट्न दबाब दिएको हो ।

पछिल्लो समय बैकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) समेत केही सहज भएको छ । राष्ट्र बैंकले विभिन्न उपकरणमार्फत अढाई खर्बभन्दा बढी अल्पकालीन सापटी दिँदै आएको छ । हाल यस्तो सापटी केही दिन यता घट्न थालेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका प्रवक्ता एवं कार्यकारी निर्देशक डा. गुणाकर भट्टले केन्द्रीय बैंकले केही दिन यता बजारमा कम तरलता पठाएको बताए । केन्द्रीय बैंकलेपुसमा २ पटक गरी १ अर्ब ८० करोड रुपैयाँ अल्पकालीन सापटी (स्थायी तरलता सुविधा) उपलब्ध गराएको छ ।

मंसिरमा मात्र केन्द्रीय बैंकले बैंकहरुलाई सवा एक खर्ब बढी स्थायी तरलता सुविधा दिएको मौद्रिक व्यवस्थापा विभागले जनाएको छ । साउनदेखि पुस ७ गतेसम्म बैंकहरुले २६ खर्ब बढी स्थायी तरलता सुविधा लिइसकेका छन् ।

अहिले बैंकिङ सिस्टममा करिब १२ अर्ब अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । तरलता प्रवाहका लागि अहिले रिपोमात्रै प्रयोग गर्न थालिएको छ । तरलतामा चरम समस्या हुँदा केन्द्रीय बैंकले विभिन्न औजारमार्फत तरलता प्रवाह गर्ने गरेको छ । तरलता प्रवाहको निम्ति रिपो र सोझै खरिद उपकरणको प्रयोग गरिन्छ भने तरलता प्रशोचनको लागि रिभर्स रिपो, सोझै बिक्री, निक्षेप संकलन र नेपाल राष्ट्र बैंक ऋणपत्रको प्रयोग गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *