छिमेकी मुलुकमा कोरोना फैलिएसँगै सीमा क्षेत्रमा कडाइ
विराटनगर । छिमेकी मुलुकहरूमा कोभिड महामारीको तेस्रो लहर शुरु भएसँगै भारतसँग सीमा जोडिएका नाकाहरूमा कडाइ शुरु भएको छ । नेपाल भारत सीमा नाका रानी विराटनगरमा रहेको हेल्थ डेस्कलाई पुन सञ्चालन गरी भारतबाट आउने यात्रुहरूको चेकजाँच शुरु भएको हो ।
यस अघि कोरोना महामारी कम भएसँग चेकजाँच रोकिएको थियो । चीन लगायतका मुलुकमा कोरोना महामारीको तेस्रो लहर तीव्र रूपमा फैलिएकाले सीमा नाकामा कडाइ गरिएको प्रदेश १ स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोभिडको जोखिमलाई ध्यानमा राखेर तयारी थाल्न स्वास्थ्य मन्त्रालयले समेत विज्ञप्तिमार्फत अनुरोध गरिसकेको छ ।
विराटनगर महानगरको सामाजिक समितिका संयोजक काजीबहादुर बस्नेत, स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिलगायतले महानगरले सञ्चालन गरेको रानी नाकास्थित हेल्थ डेस्कको शनिवार अनुगमन गर्दै चेकजाँचलाई कडाइ गर्न निर्देशन दिएको छ । सम्भावित जोखिमलाई ध्यानमा राखेर तयारी सुरु गरिएको स्वास्थ्य महाशाखा प्रमुख अलिले बताए ।
सम्भावित कोभिडको संक्रमणविरुद्ध लड्न महानगरको स्वास्थ्यका सबै संयन्त्रलाई तयारी अवस्थामा राख्न मेयर नागेश कोइरालाले निर्देशन दिइसकेका छन् ।
महाशाखा प्रमुख अलिका अनुसार विराटनगर–१६ को रानी हेल्थ डेस्क, १५ को प्राथमिक स्वास्थ्य केन्द्र रानी, वडा नम्बर १९ स्थित वैजनाथपुर स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र विराटनगर–५ मा कोभिडको निःशुल्क परीक्षण भइरहेको छ ।