पुसको सिरेटोमा हजारौँ बुटवलवासीलाई ततायो नेपथ्यले – Nepal Press

पुसको सिरेटोमा हजारौँ बुटवलवासीलाई ततायो नेपथ्यले

रुपन्देही । पुसको दोस्रो सातासँगै बढेको बुटवलको चिसोमा शनिवार साँझ गीतसंगीतका पारखीलाई त्यसको कुनै महसुस नहुने गरी नेपथ्य ब्यान्डका प्रमुख अमृत गुरुङले भरपुर मनोरञ्जन दिए ।

मानव सेवा आश्रमको सहयोगार्थ लाइभ कन्सर्ट गर्दै देश दौडाहामा रहेका गुरुङले लगातार २ घण्टा आफ्ना प्रस्तुतिहरू राखिरहँदा धेरैलाई पटक–पटक नचाएका थिए । उनले गाउँदा दर्शकहरू गीतसँगै झुम्दै स्वरमा स्वर मिलाउँदै गाएर नाचेर कार्यक्रमस्थल गुञ्जायमान बनाएका थिए ।

मानवताका लागि संगीत अभियान अन्तर्गत बुटवलमा आठाैँ प्रस्तुति लिएर आएको नेपथ्य ब्यान्डका प्रमुख गुरुङ एक्लै करिब दुई घण्टा जमेर गाउँदा पनि सहभागी अधिकांशले एकश्वरले हुटिङ गरिरहेका देखिन्थे ।

गुरुङले गाएका गीतमा संगीतसँगै देशभक्ति र मानव सेवाको सन्देशले पनि रहेकाले सहभागीले विशेष चासो दिएर सुने । गुरुङले गीतबाटै राजनीतिक दलका नेताहरूलाई आत्मालोचना गर्दै दलगत विचार भन्दा माथि उठेर देश निर्माणमा लाग्न आह्वान गरे । चुनाव सकिएपछि दलहरू आपसी विवादमा लागेको भन्दै विवाद छाडेर देश निर्माणमा एकजुट हुन आग्रह समेत गरे ।

‘आकाशैबाट के उडी आयो भेडाको उन जस्तो’ गीतबाट मञ्च निस्केका गुरुङले ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले’, ‘झम्काइदेऊ गलै माया झम्काइदेऊ’,’मैमरि जाउला जीवन छोटो छ’, ‘लेखेको सम्झना नफाल सिरानमा फोटो छ’, ‘खान्न म त लामपाते सुरती, लाऊ कि नलाऊ जिउ जाने पिरती’ पुर्नेको जुन जस्तो ।’ चर्चित गीत सुनाएका थिए ।

गुरुङले ‘चरी मर्‍यो सिस्सैको गोलीले, माया बस्यो त्यो मीठो बोलीले उडायो रेलैले’, ‘जोमसोमै बजारमा १२ बजे हावा सरर, हे हजुर घर हाम्रो पोखरा अहिलेसम्म भा छैन घरबार’ गाउँदा अधिकांश कार्यक्रम स्थलमा नाचेका देखिन्थे ।

त्यसै गरी तालको माछा कोही गन्न सक्दैन, जातै सानो मायामा हुँदैन, माया साथैमा उडायो रेलैले’मार्फत विभेदविरुद्ध सन्देश दिएका उनले ‘जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना’ र ‘तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली’ भावका राष्ट्रभक्ति सन्देशका गीतहरू प्रस्तुत गरेर मन जित्ने प्रयास गरेका थिए ।

गुरुङ्गले प्रस्तुतिसँगै बीचबीचमा देशभक्त, शिक्षा, पर्यटन प्रवर्द्धन, चेतनाका नाराहरू पनि सुनाएका थिए । नेपालका पर्यटकीय स्थानहरू भ्रमण गर्न सल्लाह दिने, बालबालिकाको शिक्षामा पहुँच पुर्‍याउने, ट्राफिक सचेतनालाई उनले बीचबीचमा जोडिरहेका हुन्थे ।

बिहीबार नै आफ्नो टीमका साथ बुटवल आएका गुरुङले ‘सिरफूल सिरैमा वनफुल बनैमा, नैनताल नैनताल घुमिआए रेल’, ‘जीवन यो घाम छाया, यो जिन्दगानी’ पूर्वेली शब्दको गीत ‘कोसीको पानी यो जिन्दगी जाई जाने हो, आमाको कोखमा बास मात्र लिए पनि कुन देशको मरण हो’ जस्ता भावनात्मक सम्बन्ध जोड्ने गीतहरू प्रस्तुति गरेका थिए ।

दल, विचार र स्वार्थभन्दा माथि उठेर गाँउगाँउ र बस्ती बस्तीबाट देशको मुहार फेर्न उठ्ने बेला भएको सन्देश पनि दिए । ‘गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ’ भन्ने गीत गाउँदा सबैले मुट्ठी उठाएर गुरुङलाई साथ दिएका थिए ।

‘भटटट भटटट भटभटे आयो, बाटो छोडछोड’ ‘सानुमा सानु कमलको हाँगा रेशम’, ‘तालको पानी माछिले खानी’ ‘रातो र चन्द्रसूर्य, जङ्गी निशन हाम्रो’ लगायतका गीतहरू उनले प्रस्तुत गरेका थिए । उनलाई ड्रममा ध्रुव लामा, किबोडमा सुरज थापा, मादलमा खर्क बुढा, गितारमा सुबिन शाक्य, निरज गुरुङ र सबिन शाक्यले साथ दिएका थिए । मानव सेवा आश्रमका प्रमुख रामजी अधिकारीले नेपथ्य ब्याण्ड मनोरञ्जनसंगै नेपाली भाषा र संस्कृति जर्गेनाको अभियानमा लागेको बताए ।

यसअघि नेपथ्यले विराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगन्ज, धनगढी र वीरेन्द्रनगर सुर्खेतमा यस्तै कार्यक्रम गरिसकेको छ ।

बुटवल रामनगरस्थित खेलमैदानमा भएको लोकपप ब्याण्डको प्रस्तुतिमा बुटवलका दर्शकले भरपुर मनोरञ्जन लिए । मानव सेवा आश्रमको लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यका साथ सुरु भएको नेपथ्यको सांगीतिक यात्रामा ६ हजार टिकट र भिआईपी पासहरुबाट प्रवेश गरेका अतिथिहरू रहेका थिए । मानव सेवा आश्रमको अक्षयकोष स्थापनाको लागि आयोजना गरिएको कार्यक्रमको सहआयोजकका रूपमा रोटरी क्लब अफ बुटवल डाउन टाउन रहेको थियो ।

तस्बीरहरुः मानव सेवा आश्रमबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर