जाँदाजाँदै सरकारका प्रवक्ताले भने: राजनीतिक नेतृत्व भएकाले आज जान्छौं, भोलि फर्किन्छौं (भिडिओ)
काठमाडौं । सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारबाट आज बाहिरिए पनि भोलि फर्किनसक्ने बताएका छन् ।
सरकारबाट बिदा हुँदै गर्दा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामी राजनीतिक नेतृत्व हौं । यो मन्त्रालयमा आउँदा चौथो पटक मन्त्री भएर आएको छु । आज जान्छौं भोलि फर्किन्छौं । हाम्रो स्रोत भनेको जनता हो । त्यहाँबाट प्रतिनिधित्व गर्न पठाइसकेपछि आउने जाने क्रम जारी रहन्छ ।’
कांग्रेस नेतृत्वको सरकारले तीनै तहको निर्वाचन सम्पन्न गराएर लोकतन्त्रलाई सुदृढ बनाएको उनको भनाइ छ ।
जनताले स्थायित्वको साथ मुलुकलाई अगाडि बढाउन अभिमत दिएको उनले बताए । कोरोना भयावह बनेको वेलामा पनि कांग्रेस नेतृत्वको सरकारले उल्लेख्य काम गरेको उनको भनाइ छ ।