रुपन्देहीका १८ जना अव्यवस्थित बसोबासीलाई लालपुर्जा प्रदान


रूपन्देही । राष्ट्रिय भूमि आयोग रुपन्देहीले अव्यवस्थित बसोबासीहरुको लागि जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न सुरु गरेको छ ।
आयोगले बुटवल उपमहामनगरपालिका र मायादेवी गाउँपालिकाका नापचाँजको काम सकिएको अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको हो ।
बुटवल उपमहानगरपालिकामा सोमबार एक कार्यक्रमबीच १८ जनालाई लालपुर्जा वितरण गरिएको छ । बुटवल वडा नं १९ का १२ र मायादेवी वडा नं ८ का ६ जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले जानकारी दिए ।
जिल्लामा करिब १ लाख अव्यवस्थित, सुकुम्बासी तथा भूमिहीन रहेको बताउँदै उनले अहिले ३ हजार जनाको लालपुर्जा तयार भएको जानकारी दिए । जिल्लाको बुटवल, देवदह, सैनामैना, कञ्चन, मायादेवी, सिद्धार्थनगरमा नापजाँच सकिएर लालपुर्जा वितरणको काम अन्तिम चरणमा रहेको आचार्यले बताए ।
लालपुर्जा तयार भए पनि सरकारले लिने राजस्व बढी हुँदा वितरणमा कठिनाइ भइरहेको उनको भनाइ छ । उनले सरकारले राजस्वको दायरालाई कम गर्नुपर्ने सुझाव दिए ।
राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले स्थानीय तहको सहकार्यबाट नै अव्यवस्थित जग्गाको नापचाँज भएर लालपुर्जा वितरण गर्न सफल भएको बताए । जनतालाई जग्गाको मालिक हुने अधिकार संविधानमै ब्यवस्था भएका कुरालाई ऐन–नियमबाट लागू गर्दै आयोगले काम गरेको उनले बताए ।
उनका अनुसार चुनावअघि नै लालपुर्जा तयार भएको थियो । तर, निर्वाचन आचारसंहिताले गर्दा वितरण गर्न नसकेको उनको भनाइ छ ।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले अव्यवस्थित जग्गाको ब्लक छुट्याइएको र नापचाँज भएका जग्गाको विधि, प्रक्रिया र कानूनअनुसार लालपुर्जा वितरण गरिएको बताए । बुटवलमा अव्यवस्थित समस्या धेरै रहेको बताउँदै उनले राष्ट्रिय भूमि आयोगले आफ्नो कामलाई तीव्रता दिएर जनतालाई आफ्नो जग्गाको मालिक बनाउनुपर्नेमा जोड दिए ।
बुटवलमा करिब ३० हजार जना अव्यवस्थित रुपमा बसोबासमा रहेको उपमहानगपालिकाले जनाएको छ ।
मायादेवी गाउँपालिका वडा नं ८ का वडाध्यक्ष चोकबहादुर थापाले भूमि आयोगले तीव्र गतिमा काम गर्दा नै अव्यवस्थित भएकालाई व्यवस्थित गराउन सफल भएको बताए ।
अव्यवस्थित बसोबासमा रहेका स्थानीयले जग्गाधनी पुर्जा पाउँदा खुशी भएको प्रतिक्रिया दिएका छन् ।