जाँदाजाँदै मन्त्री शशी श्रेष्ठले फेरिन् दुईजना महानिर्देशक
काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका दुई विभागका महानिर्देशक फेरिएका छन् । मन्त्री शशी श्रेष्ठले जादाँजाँदै पुस ८ को मन्त्रीस्तरीय निर्णयबाट नापी र मालपोत विभागका महानिर्देशक हेरफेर गरेकी हुन् ।
उनले नापी विभागको महानिर्देशकको जिम्मेवारी जनकराज जोशी र भूमि व्यवस्थापन तथा अभिलेख विभागको महानिर्देशकको जिम्मेवारी पद्मनिधि सोतीलाई दिएकी छन् । नापी विभागका महानिर्देशक प्रकाश जोशी र भूमि व्यवस्थापन विभागका पीताम्बर घिमिरे मन्त्रालय तानिएका छन् ।
विभागबाट मन्त्रालय तानिएका जोशीले योजना महाशाखा हेर्नेछन् भने घिमिरेलाई भूमि व्यवस्थापन महाशाखाको जिम्मा दिइएको छ ।
नापी विभागको जिम्मेवारी पाएका जोशी मन्त्रालयमा दोस्रो वरीयताका सहसचिव हुन् । पाँच वर्षदेखि मन्त्रालयमा काम गरेको र अनुभवका हिसाबले पनि महानिर्देशकमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ । यसअघिका महानिर्देशक जोशी चार वर्षबढिदेखि महानिर्देशक थिए ।
यसैगरी ३४ वर्षदेखि भूमि प्रशासनमा काम गर्दै आएका र भूमि तथा मालपोत कार्यालयमै बिताएका सोतीले महानिर्देशकको अवसर नपाएकोले यसपटक जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।