रुपन्देहीमा आत्महत्या गरेको भनिएकी युवतीको हत्या प्रमाणसहित जाहेरी दिँदा पनि प्रहरीले बेवास्ता गरेको गुनासो – Nepal Press

रुपन्देहीमा आत्महत्या गरेको भनिएकी युवतीको हत्या प्रमाणसहित जाहेरी दिँदा पनि प्रहरीले बेवास्ता गरेको गुनासो

रुपन्देही । आफ्नै कोठामा मृत फेला परेकी प्यूठानकी एक युवतीको रहस्यमय मृत्यु भएको ९ दिन वितिसक्दा पनि प्रहरीले आरोपित व्यक्तिलाई नियन्त्रणमा नलिए भन्दै उनका परिवार आक्रोशित भएका छन् ।

प्यूठान नगरपालिका ५ जुम्रिकाँढा पूर्णगाउँकी २२ वर्षीय लालमती खत्री क्षेत्री सिद्धार्थनगर नगरपालिका वडानम्वर १३ भैरहवा हाटबजार नजिकै आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनको हत्या हो वा आत्महत्याबारे वास्तविकता पत्ता नलागेपनि मृतकका परिवारले लालमतीको हत्या भएको भन्दै भैरहवाकै एक युवाको नाममा लिखित जोहरी दिएका छन् ।

दुई वर्षदेखि भैरहवामा लक्ष्मी बुटिङ टेलरिङ सेन्टर संचालन गर्दै आएकी खत्रीको अकस्मात मृत्युको खवर प्रहरीले पु¥याउँदा परिवार पीडामा छन् । बहिनीले आफ्नै कारणले आत्महत्या नगरेको भन्दै उनको कोठामा भेटिएका प्रमाणहरुसहित कान्छो दाई टेकराज खत्री ९ दिनदेखि बहिनीको न्यायको खोजीमा भौतारिएका छन् । लालमती घरकी झाइली (कान्छी माथिकी) छोरी हुन् ।

परिवारले सिद्धार्थनगर नगरपालिका वडानम्वर १ रुपन्देहीका ३० वर्षीय जोर्डनविक्रम श्रेष्ठको नाममा किटानी जाहेरी दिएका छन् । ‘बहिनीको कोठामा आरोपित व्यक्तिको नेपाली नागरिकता र सेतो गन्जीको कपडा भेटिएको छ’,दाई टेकराजले भने,‘प्रमाणसहित प्रहरीलाई लिखित जाहेरी दिँदा पनि प्रहरीले किन प्रक्राउ गर्दैन ?’,उनले प्रश्न गरे ।

९ दिनसम्म केही वास्ता नगरेपछि कानुनी उपचार खोज्ने भन्दै शव जलाएको उनले बताए ।आरोपित युवा र मृतक युवतीबीच गरिएका भिडियो, म्यासेजमा गरिएका कुराकानी, सँगै बसेका फोटा लगाएत प्रमाणले उनीहरु प्रेम सम्वन्धमा रहेको बुझिएको उनका निकटस्थहरु बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय भैरहवामा परिवारले जाहेरी दिएका छन् । आरोपित व्यक्तिको खोजी हुँदैछ, हुँदैछ भनेर मात्र प्रहरीले टार्न खोजेको परिवारको गुनासो छ । बहिनी र आरोपित व्यक्तिको बीचमा भिडियो च्याटको कुराकानी, बहिनी बस्ने कोठामा भेटिएको कपडा लगाएर बनाएको भिडियो र सार्थक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भैरहवामा दुवै जनाले गरेको बचत पासबुक पासबुक परिवारले प्रहरीलाई दिएका छन् ।

छिमेकीका अनुसार अघिल्लो साँझसम्म आरोपित व्यक्ति मृतकको कोठामा थिए । एक महिनादेखि विवाह गरेको भनेर सँगै बस्दै आएको छिमेकीसँग मृतक लालमतीले पनि भन्दै आएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दिपक कुँवरले आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी परेपनि आवश्यक कागजात नपुगेको जानकारी दिए । उनले भने–‘आत्महत्या दुरुत्साहन हो भनेर संलग्न गरिएका कागजातले पुग्दैन्,घटनाको अनुसन्धान भइरहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *