पश्चिम तराईमा बढ्यो हुस्सु, जनजीवन प्रभावित – Nepal Press

पश्चिम तराईमा बढ्यो हुस्सु, जनजीवन प्रभावित

रुपन्देही । लुम्बिनी प्रदेशका तराईका जिल्लामा केही दिनयता बिहान बाक्लो हुस्सु लाग्न थालेपछि चिसो बढेको छ । दिउँसोमा पनि घाम नलागेपछि चिसो ह्वात्तै बढेको छ । मंसिरको अन्तिम साता र पुस सुरु भएपछि जाडो बढेको हो ।

प्रदेशका पहाडी क्षेत्रमा कुहिरो र तराईका जिल्लामा हुस्सु लाग्न थालेको छ । चिसो बढेपछि सर्वसाधारणका दैनिक कामकाज प्रभावित हुन थालेका छन् । चिसो बढेसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढेका छन् ।

प्रदेशमा रहेका तराईका ६ जिल्लामै ह्वात्तै चिसो बढेको छ । मंगलवारदेखि बाक्लो हुस्सुका कारण घाम लाग्न नसकेपछि अत्यधिक चिसो बढेको हो । हुस्सु लागेसँगै बिहानपख शीत लहर चल्न सुरु भएको छ । यसै गरी, पश्चिमबाट चिसो बतास चलिरहेको छ ।

सोमबारसम्म घाम लागेको थियो । तर मङ्गलवारदेखि एक्कासि अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । जाडोले गर्दा निम्न वर्गका परिवार, बालबालिका, मुक्त कमैया, ज्येष्ठ नागरिकलाई अत्यधिक समस्या भएको छ ।

जाडोले मान्छेको दैनिकीमा पनि असर भएको छ । एक्कासि जाडो बढेपछि बालबालिका, बृद्धबृद्धा, सीमान्तकृत समुदाय र निम्न वर्गका मान्छे समस्यामा परेका छन् । काम गरेर दुई छाक टार्ने मजदुर, किसान वर्गलाई जाडोले गर्दा समस्या भएको छ । हुस्सुका कारण केही दिनयता घाम लाग्न सकेको छैन । घाम नलाग्दा तापक्रम अझै घट्दै गएको छ । चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । चिसोबाट जोगिनका लागि मान्छेहरू सडक छेउछाउ, घर लगायत विभिन्न ठाउँमा आगो ताप्न थालेका छन् ।

जाडो याममा विद्यार्थीहरू विद्यालयको पोशाकमा विद्यालय जानुपर्ने बाध्यता छ । कतिपय विद्यालयले जाडोका लागि स्वीटर, कोट, ब्लेजर र ट्राउजरमात्रै विद्यार्थीले लगाउन पाउने नियम बनाएका छन् । विद्यालयका यस्तो नियमले जाडो याममा विद्यार्थीले समस्या खेपिरहेका छन् ।

चिकित्सकहरूका अनुसार अहिले अस्पतालमा चिसोका कारण विभिन्न समस्या देखिएका बिरामी आउन थालेका छन् । बिरामीको संख्या बढेपछि चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ जनरल फिजिसियन डा.नन्दु पाठकले अधिकांशमा श्वासप्रश्वासको समस्या पाइएको बताए । उनका अनुसार अस्पतालमा आउने बिरामीमध्ये धेरैमा श्वासप्रश्वास, रुघाखोकी र फोक्सोको समस्या देखिने गरेको छ । चिसो ह्वात्तै बढेकाले मर्निङवाक गर्ने वृद्धवृद्धा साथै बालबालिकालाई घाम लागेपछि हिँड्न, न्याना लुगा लगाउन, तातो खानेकुरा खान उनले अनुरोध गरे ।

अस्पतालमा रुघाखोकी र श्वासप्रश्वासमा गाह्रो भएर धेरै बिरामी आउने गरेको निजी अस्पतालले जनाएका छन् । जाडोयाममा अन्य रोगका बिरामीभन्दा दम, ज्वरो, खोकीका अधिकांश बिरामी आउने र भर्ना भई उपचार गर्नुपर्ने भएकाले सचेत रहन डाक्टरहरूको अनुरोध रहेको छ । प्रदेशका पश्चिम नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दिया लगायतका जिल्लाहरूमा पनि चिसोका बिरामी बढ्न थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *