उखु उत्पादन र चिनी उद्योगका समस्या समाधानार्थ नीति बनाउन निर्देशन – Nepal Press

उखु उत्पादन र चिनी उद्योगका समस्या समाधानार्थ नीति बनाउन निर्देशन

काठमाडौं । उखुको उत्पादन, चिनी उद्योगलगायतका समस्याको दीर्घकालीन समाधान गर्न बहत एवं विस्तृत रुपमा अध्ययन गरी आवश्यक नीति निर्माण गर्न सरकारलाई निर्देशन दिइएको छ ।

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।

समितिले समयमै उखुको मूल्य समयमा निर्धारण गर्न, किसानले उखु बिक्री गरेवापत पाउनुपर्ने रकममध्ये सरकारले दिने अनुदान समयमै उपलब्ध गराउन र उद्योगबाट दिने रकम पनि समयमै उपलब्ध गराउन आवश्यक समन्वयसहित पहल गर्न निर्देशन दिएको छ ।

सभापति प्रकाश पन्थका अनुसार समितिको बैठकमा नेपालको उखु उत्पादन व्यक्तिगत र बजारमा आधारित मोडेललाई परिवर्तन गरी सहकारी, सामूहिक मोडेलमा जानुपर्ने, उखु उत्पादन र वितरण कार्यलाई नाफामुखी नभएर सेवामुखी बनाउँदै उखु किसान र चिनी मिल सञ्चालकबीचको सम्बन्ध सुमधुर बनाउन सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने सुझाव आएका छन् ।

मुलुकभित्र उत्पादन भएको उखु स्वदेशी चिनी मिलले खरिद गर्न, नेपालमा उत्पादित चिनी स्वदेशमै बिक्री वितरण गर्ने, उखु किसानको भुक्तानीलगायतका समस्या समाधान गर्न दीर्घकालीन नीति आवश्यक भएको धारणा र सुझाव आएको उनको भनाइ छ ।

बैठकमा समितिका सदस्य कमला पन्त, कृष्णप्रसाद पौडेल, जगप्रसाद शर्मा, नन्दा चपाईं, वामदेव गौतम, भुवनबहादुर सुनार, विमला घिमिरे, सिंगबहादुर विक र शारदादेवी भट्टले आआफ्नो धारणा तथा सुझाव राखेका थिए । बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोयानारायण ज्ञवाली, नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनाली एवं सदस्य महाशंकर थिङ्गलगायतले समिति सदस्यले उठाएको प्रश्नको जवाफ दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *