रविलाई चिठी : कथङ् काम गर्न दिइएन भने सरकार छोडेर भण्डाफोर गर्नुस्
आदरणीय गृहमन्त्री ज्यू,
न्यानो अभिवादन !
पत्रकारितामार्फत सनसनी मच्चाइरहेको मान्छे राजनीतिक पार्टी खोलेको करिब पाँच महिनामा आश्चर्यजनक परिणामसहित तहल्का मच्चाउन सफल भए । सत्तामा उपप्रधान तथा गृहमन्त्री भएर डण्डासमेत समात्न सफल हुनु भएकोमा प्रथमतः हार्दिक बधाई र शुभकामना ! नेपाली राजनीतिमा यति छोटो समयमा चुनावमार्फत यो सफलता आजसम्मकै पहिलो हो । तपाईंले आजसम्म टेलिभिजन कार्यक्रम गर्दा उठाएका यावत विकृतिलाई डण्डा लगाउने ठाउँमा आइपुग्नु भएर त्यसले नेपाली जनताको आँखामा एउटा आशाको किरण झुल्केको देखिन्छ ।
प्रिय रवि सर,
म तपाईंलाई प्रश्न गरेर तपाईं अप्रश्ननीय मान्छे होइन भन्ने जानकारी तपाईंका आम कार्यकर्ता, पार्टी पङ्क्ति, शुभेच्छुक र हित-चिन्तकलाई दिन चाहन्छु । रविजी भगवान होइन र कुनै पनि मानेमा तपाईंलाई भगवान बनाउने प्रपञ्च ठीक हुँदैन । तपाईंलाई भगवान ठान्दा र बनाउँदा तपाईंले एउटा मान्छेको रूपमा गर्ने कमजोरीले समर्थकको मन कुँढिन्छ । तपाईंप्रति अचानक वितृष्णा पैदा हुन्छ, जसको कारण तपाईंको कमजोरी ढाक्न कि कमजोरी औंल्याउनेलाई निषेध गर्न तयार हुन्छ कि तपाईंलाई छोड्न ।
अतः यी दुवै कुराबाट समर्थकलाई बचाउन आलोचनात्मक दृष्टिकोणसहित कुनै पनि विषय, घटना, व्यक्ति र परिस्थितिलाई बुझ्न सिकाउनु जरूरी छ । फ्यान कल्चरले आफूलाई मन परेको खेलाडी, नेता, कलाकार र आदर्शले गलत गरे पनि समर्थन गर्ने र गलत भन्नेलाई निषेध गर्ने कल्चर सिकाएको छ । त्यसैले मेरो प्रथम सुझाव सैद्धान्तिक रहेको छ । पार्टी प्रशिक्षण, नीतिगत स्पष्टता र अनुशासनमा बस्ने नेता-कार्यकर्ता तयार गर्नमा केन्द्रित रास्वपा हुनुपर्ने देखिन्छ । हाल तपाईंहरू जसरी सङ्गठित हुनुभएको छ, दश दिशाबाट भेला हुनु भएको छ । त्यसमा उद्देश्य पवित्र र देश बनाउने नै होला । तर, सबैलाई बाँध्ने र सबै एकैतिर फर्केर उभिने वैचारिक धरातल देखिन्न । नेपालको संविधान नै पार्टीको आइडियोलोजी मान्न पनि प्रदेशसभा खारेजीको माग छ । तसर्थ यो अन्योल शीघ्रातिशीघ्र चिर्न जरूरी छ । जसको असर निर्वाचित संसद सदस्यका फरक-फरक धार सैद्धान्तिक झुकाव र बोलीमा सार्वजनिक भएर चर्चामा छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको डीएनए के हो भनेर लेखहरू छापिएका छन् । तपाईंहरू अहिले जो जसरी जम्मा भएर पार्टी निर्माण गर्नु भएको छ, चुनाव जित्नुभएको छ, समानुपातिकमा पनि देशभर राम्रो मत प्राप्त गरेर चौथो ठूलो दल र राष्ट्रिय पार्टी बन्नुभएको छ । यसमा पुराना पार्टीहरूप्रतिको वितृष्णा, आक्रोश र असन्तोष अनि चित्कारको अभिव्यक्ति छ । उनीहरूले दिन नसकेको सुशासन, विकास, समृद्धि र शान्तिको अभिलाषा घन्टी छापमा प्रतिविम्बित छ । यस्तो अभिव्यक्तिलाई दीर्घकालीन रूपमा आफैंसँग राख्न पार्टीहरू नराम्रोसँग चुकेको विगतदेखि निकट विगत छ ।
हाल तपाईंहरू जसरी सङ्गठित हुनुभएको छ, दश दिशाबाट भेला हुनु भएको छ । त्यसमा उद्देश्य पवित्र र देश बनाउने नै होला । तर, सबैलाई बाँध्ने र सबै एकैतिर फर्केर उभिने वैचारिक धरातल देखिन्न । नेपालको संविधान नै पार्टीको आइडियोलोजी मान्न पनि प्रदेशसभा खारेजीको माग छ । तसर्थ यो अन्योल शीघ्रातिशीघ्र चिर्न जरूरी छ ।
तपाईंलाई थाहा नै छ, २०६४ मा माओवादी राप र ताप त्यसपछि मधेसी जनअधिकार फोरमको मधेसमा उर्लेको शक्ति सम्झनुस् । वैकल्पिक राजनीति भन्दै नयाँ शक्ति गठन गर्दाको बाबुराम भट्टराईको तामझाम नियाल्नुस् । अनि विवेकशील नेपाली दल र त्यसप्रतिको आकर्षण गम्नुस् । साझा र विवेकशील बनेर २०७४ को स्थानीय निकाय, अनि प्रदेश र संघीय संसदमा प्राप्त मत अनाकर्षक थिएन । तथापि त्यो उनीहरूले टिक्न टिकाउन सकेनन् । त्यो खहरे थियो, आवेग थियो, भेल थियो । त्यसलाई एकीकृत गर्न त्यस्तै कार्ययोजना, भिजन र कार्यशैलीको तदारुकता आवश्यक हुन्छ त्यो उनीहरूमा रहेन र त्यो मत आज तपाईंको पोल्टामा आएको छ । हरेक चुनावमा आठ दश लाख स्वीङ मत हुन्छन् । तिनै मतमा अरू केही लाख थपिएर यो पटक तपाईंप्रति आकर्षित भएको पक्कै हो ।
तपाईंले गरेको पत्रकारितामार्फत तपाईंमा नायकत्व देखेको कारण आज तपाईं पत्याइनुभएको छ । तपाईंको आफ्नो माटो र साल गाडिएको आँगनप्रतिको ममत्व र देशभक्तिलाई मेरो केही भन्नु छैन । अञ्जानवस सामान्य नागरिक कानून उल्लंघन गर्दा जेल परेको सजाय भोगेको कुरा तपाईं जत्तिको सिद्धहस्त पत्रकारको जानकारीमा नहुने कुरै भएन । कानुनको अज्ञानताले दोषी निर्दाेष हुँदैन । इन्ट्रेस्ट अफ कन्फिल्क्ट हुँदाहुँदै गृहमा नजानुभएको भए हुन्थ्यो । यद्यपि यो प्राविधिक कुरामात्रै हो, तपाईं भएरमात्र यो कुरा उठेको हो, यस्ता अञ्जानका कमजोरी बोक्ने कति छन् कति ?
आदरणीय सभापति ज्यू,
संसदीय राजनीति धन हुनेको लागि मात्र भयो भनेर बदनाम छ । व्यवसायी, नातागोता र व्यापारीको कब्जामा समानुपातिक कोटाको बिक्री–वितरण, उपहार र लेनदेन हुन पुग्यो भनेर मान्छेमा समानुपातिक प्रतिनिधित्वको प्रणालीप्रति बेस्सरी शङ्का छ । तपाईंले छान्नुभएको समानुपातिक समावेशी सूचीमा पनि कतिपय व्यक्तिका बारे प्रश्न उठेका छन् । के प्रतिनिधित्व, पहिचान र समावेशी सिद्धान्त भनेको अनुहार, लिङ्ग र भूगोलको मात्रै प्रतिनिधित्व हो ? भौतिक उपस्थितिमात्रै हो ?
बेलायती सांस्कृतिक अध्येता स्टुआर्ट हलका अनुसार प्रतिनिधित्वले अर्थ निर्माण गर्नुपर्छ । कुनै वस्तुलाई कसरी चिनाउँछौं वा चिन्छौं, त्यसको वर्णन कसरी गर्छौं त्यसमा निर्भर रहन्छ ? एक दलितको प्रतिनिधित्व सहरको सम्पन्न र सबै सेवा-सुविधाले अन्य बराबर हैसियत भएकाले गर्नु र सुदूर ग्रामीण क्षेत्रको एक दलितले गर्नुमा आकाश-जमिनको अन्तर छ । त्यस्तै महिला, मधेसी, अपाङ्गतालगायत अन्य समानुपातिक समावेशीमा शक्तिशाली वर्गकै हालीमुहाली भयो भने नयाँ हुनुको अर्थ के रहन्छ र ? तसर्थ प्रतिनिधित्व अभिप्रायभिमुख हुनु अनिवार्य छ अनिमात्र फरकपनको बोध हुन्छ । अन्यथा रास्वपा रोज्नु र अरूलाई रोज्नुमा भिन्नता रहन्न ।
संसदीय राजनीति धन हुनेको लागि मात्र भयो भनेर बदनाम छ । व्यवसायी, नातागोता र व्यापारीको कब्जामा समानुपातिक कोटाको बिक्री-वितरण, उपहार र लेनदेन हुन पुग्यो भनेर मान्छेमा समानुपातिक प्रतिनिधित्वको प्रणालीप्रति बेस्सरी शङ्का छ । तपाईंले छान्नुभएको समानुपातिक समावेशी सूचीमा पनि कतिपय व्यक्तिका बारे प्रश्न उठेका छन् ।
आजको राजनीतिमा नयाँ र विवेकशील मूल्य निर्धारण गर्नुपर्ने, नैतिक मानक खडा गर्नुपर्ने र फराकिलो लोकतान्त्रिक पद्धति अवलम्बन गर्नुपर्ने स्थिति छ । राजनीतिको परम्परागत भाष्य बदलेर नयाँ भाष्य निर्माण गर्नु छ । राजनीतिक मूल्य परिवर्तन जरूरी छ । कुनै पनि आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनको प्रभाव यसमा आउने मूल्य परिवर्तन निर्देशित रहन्छ । सामाजिक रूपान्तरणको लागि सांस्कृतिक क्रान्ति अनिवार्य सर्त हो । चीनमा माओले क्रान्तिको उपलब्धिलाई जोगाइराख्न र थप उपलब्धि हासिल गर्न सांस्कृतिक क्रान्तिको अभियान चलाएको हामीले बिर्सनु हुँदैन । फलस्वरूप आज पनि चीन साम्यवादी मुलुक रहिरहेको छ ।
तसर्थ, अहिले भइरहेको गलत राजनीति, गलत संस्कृति र तौरतरिकाको मूल्य समायोजन गरी नयाँ मूल्य स्थापना गर्न राजनीतिक (क्रान्ति) परिवर्तन अत्यावश्यक छ । त्यसको लागि रविले सुसंस्कृत राजनीति र जनताकेन्द्री राजनीतिको अभ्यासमा अभ्यस्त बनेर शक्ति आर्जन गर्न अरू मेहनत र धैर्य गर्नुपर्ने हुन्छ । आजै र अहिल्यै हतार सत्तामा जाने उद्देश्यले पार्टीको भविष्य खतरामा त पर्दैन ?
रविजीलाई रोमान्टिक क्रान्तिकारी, स्टन्ट खोज्ने र स्कुप मार्ने पत्रकारको शैलीबाट मुक्त भएर जिम्वेवार नेता बन्ने मौका छ । मनभित्रको हिजोको आक्रोशलाई सिर्जनात्मक र रचनात्मक बनाएर कामयाबी बन्ने अवसर छ । यतिवेला रविको शक्ति सामर्थ्य र हाइदुहाइमा लोभिएर पार्टी प्रवेशको ताँती लाग्नेछ । नवप्रवेशीको सही व्यवस्थापन र जोसुकैलाई भित्र्याएर ठूलो दल बन्ने सपनाले गलत मान्छेले प्रवेश पाउने र दलमा अरू अराजकता बढ्ने खतरा हुन्छ । पार्टीमा मान्छे भित्र्याउने शुद्धीकरण गर्ने एउटा प्रणाली विकास गर्नु आवश्यक छ । पार्टी नेता-कार्यकर्ताको शैली, बोली, अनुशासन, आचरण फरक होस् । छुट्टै पहिचानको पार्टी बनोस् ।
२०४६ बहुदल आगमनपश्चात पञ्चायतमा बदनाम मान्छे र खुँखार पञ्च पार्टीमा भित्र्याउन कांगेस र एमालेले प्रतिस्पर्धा नै गरे । फलस्वरूप कांगेस, कांगेस जस्तो रहेन । एमाले, एमालेजस्तो भएन । पञ्चायती व्यवस्थामा बसेर दमन गर्नेलाई तत्कालीन मल्लिक आयोगले कारबाही गर्न सिफारिस गरेकोमा दलहरूले तिनलाई आफूमा समाहित गरेर पुरस्कृत गरे । त्यस्तै २०६२/०६३ को जनआन्दोलनमा दमन गर्नेलाई रायमाझी आयोगको सिफारिसविपरीत माफी दिइयो । माओवादीले २०६३ को अन्तरिम संसदमा पूर्वअञ्चलाधीश सूर्यबहादुर सेन वलीलाई र जर्नेल कुमार फुदुङलाई संसद बनाउनेदेखि लिएर कांगेस एमालेमा भ्रष्ट, बदनाम बनेका पात्रलाई पार्टीमा भित्र्याएर आफ्नो क्रान्तिकारी प्रगतिशील धार भुत्ते पार्यो ।
अहिले भइरहेको गलत राजनीति, गलत संस्कृति र तौरतरिकाको मूल्य समायोजन गरी नयाँ मूल्य स्थापना गर्न राजनीतिक (क्रान्ति) परिवर्तन अत्यावश्यक छ । त्यसको लागि रविले सुसंस्कृत राजनीति र जनताकेन्द्री राजनीतिको अभ्यासमा अभ्यस्त बनेर शक्ति आर्जन गर्न अरू मेहनत र धैर्य गर्नुपर्ने हुन्छ । आजै र अहिल्यै हतार सत्तामा जाने उद्देश्यले पार्टीको भविष्य खतरामा त पर्दैन ?
लोकमानसिंह कार्की जस्तो विवादित र बदनाम र लोकतन्त्रपछिको सरकारले कारबाही गरेको पात्रलाई अख्तियार प्रमुखमा नियुक्ति दिलाउन अगुवाइ गर्यो । यी यावत पृष्ठभूमि र उदाहरण स्मरण गराउनुको अर्थ रास्वपाले त्यस्तो भूल नगरोस् भनेर हो । रविको पार्टीको छाता ओढ्न पुराना पार्टीका अनेक काण्ड लागेर गनाएका पात्र तयारी गरिरहेका छन् । तिनलाई सुनपानी छर्किंदा कताकता चुनाव जित्न सजिलो होला । तर, तिनीहरूको चारित्रिक ह्रास र बदनामीले पार्टीको नाकमा धब्बा लाग्नेछ ।
तसर्थ जताततैबाट खुब मेहनत गर्नुपर्छ । पार्टी र सरकारमा जिम्मेवारी दिँदा र आफ्ना सल्लाहकार नियुक्त गर्दा पनि उत्तिकै होशियारी चाहिन्छ । बाहिर बसेकाले भन्दा नजिक रहेकाले धेरै कुरा बिगारिदिन सक्छन् । मान्छेको नियतसमेतको अन्वेषण गरेर उपयुक्त मान्छेलाई उपयुक्त जिम्मेवारी दिनु बुद्धिमानी हुन्छ । विज्ञता, क्षमता र युवा ऊर्जा प्राथमिकीकरण गर्ने जल्दाबल्दा विषय छन् । अन्यथा गलत र संदीग्ध मान्छेलाई स्थान दिएमा त्यसले पुग्ने नैतिक क्षतिले पार्टीलाई दुर्घटित गर्नसक्छ । डे वानदेखि नै जनता रास्वपाको गतिविधिलाई व्यग्रतापूर्वक नियालिरहेका छन् ।
माननीय रवि लामिछानेज्यू,
निर्वाचन नतिजा आएको भोलिपल्टदेखि रविले जनताको काम र सरोकारसँग जोडिने निष्ठालाई मान्छेहरूले उडाएको पनि पाइयो । जीतपश्चात महिनौं बधाई थाप्दै, माला खादाले पुरिएर, बाजागाजा धुमधडाका गर्दै शहर-गाउँ परिक्रमा गर्दै, जाँडरक्सीको खोलो बगाउँदै, भोजभतेर गर्दै हिँड्ने संस्कृति र परम्परा देखेका मान्छेले विजयी प्रमाणपत्र पाएको भोलिपल्टै फुस्रो निधार र रित्तो गला लिएर काममा कुदेको देख्दा नयाँको धेर ढर्रा भनेर उडाएको विषयलाई अनौठो मान्नुपर्दैन । यसमा दोष यस्तो प्रथा निर्माण गर्ने र निरन्तरता दिने राजनीतिकर्मीलाई दिनुपर्छ ।
त्यसैले अब काम हेर्ने, श्रम गर्ने, निरन्तर लाग्ने र खबरदारी गर्दै जनतासँग सदैव जोडिने संस्कृतिको निर्माण गर्नुपर्छ । जसको थालनी रविले गरिसकेकाले खुशी लागेको छ । विगतमा चुकेका दलहरूलाई परिवर्तन हुन सहज छैन । कम चुकेका र कहिल्यै नचुकेकाले गर्न सक्ने अवस्था ज्यादा छ । तसर्थ कमजोरीलाई अत्यन्त सीमित गर्दै यो अभूतपूर्व अवसरबाट लाभ प्राप्त गर्ने अवसर रास्वपाको निम्ति छ ।
नेपालमा सबैभन्दा बदनाम भ्रष्टाचारको केस हो । त्यसलाई प्राथमिकता दिनुस् । छानबिन थाल्नुस् । सो गर्दा सत्तासीन पार्टी र विपक्षी पार्टी ज-जसको नाम जता-जता मुछिएको छ, त्यता हात हाल्नुस् ।
हाम्रो देशमा जातीय छुवाछूत जस्तो अत्यन्तै गलत र अमानवीय प्रथा छ । जसको समुल नष्ट गर्न नसकेर आज हामी मानव मानवबीचको विभेदको गहिरो र फराकिलो खाडल खनेर बसेका छौं । जुन मानव अधिकारको विश्वव्यापी घोषणापत्रको विरुद्ध छ । यो समस्याले हजारौं वर्षदेखि पीडित र दलनमा परेका मान्छे आज ६० लाखको हाराहारीमा छन् । यो विषमताबाट मुक्ति दिन सामाजिक, कानूनी, मनोवैज्ञानिक उपचारात्मक, निदानात्मक र दण्डात्मक कामको थालनी गृह मन्त्रालयमार्फत गर्नुपर्नेछ । यसको लागि व्यापक तयारी र विज्ञ समूहमार्फत आवश्यक योजना तर्जुमा गरी अघि बढ्न विशेष ध्यानाकर्षण गराउँछु ।
प्रिय रविजी,
अब एउटा गृहमन्त्रीले गर्न सक्ने कामबारे केही कुरा गर्छु । तपाईंले सरकारमा प्राप्त गरेको पोजिसन अत्यन्त शक्तिशाली छ । यहाँ काम गर्ने र देखाउने अवसर जताततै छ । विगतदेखि तपाईं आफैंले उठाएका प्रश्नको उत्तर छिटो भेटिने ठाउँमा हुनुहुन्छ । बरू काम पो कसरी गर्नुहुन्छ, क्रिटिकल भएर हेरौं । तपाईं आज जसको प्रधानमन्त्रीत्वमा सरकारको सदस्य हुनुहुन्छ पहिलो र पेचिलो प्रश्न तपाईंले बारम्बार उहाँको पार्टी र उहाँलाई नै उठाएर गर्नुभएको छ । के अब माओवादी क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको फाइल खोलिन्छ ? यसमा प्रधानमन्त्रीको सहयोग रहला ?
त्यस्तै तपाईंले बालुवाटार प्रकरणमा विष्णु पौडेलको नाम लिएर र उनको सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उठाउनु भएको थियो । जो आज तपाईंसँगैका अर्का उपप्रधान हुनुहुन्छ । एमालेको पालामा भएका ओम्नी, यती, सत्तरी करोड घूस डिलकाण्ड, एनसेल, स्वास्थ्य सामग्री खरिदकाण्डलगायत अनेकौं काण्ड एमाले पार्टीसँग जोडिएका विषय र मुद्दा छन् । नेपाली कांग्रेस पनि डामिएका २०४८ सालदेखिका भ्रष्टाचारका फाइलहरू छन् । यस्ता मुद्दामा सत्ताको चाबी लिएर बसेका नेकपा एमालेका अध्यक्ष र उनको पार्टीले कति सहज मान्ला ? संसदको बलियो प्रतिपक्षको रवैया कस्तो होला ?
प्रदेश खारेजीको मुद्दा उठाएर प्रदेशसभा उम्मेदवारसमेत नउठाएको र भोटसमेत नदिएको तपाईंको सैद्धान्तिक प्रश्नको जवाफ प्रदेश खारेजीको लागि तपाईंले ल्याउने प्रस्तावमा संघीयता नै घोषित सिद्धान्त हुने र त्यसैको लागि लड्ने दलले मञ्जुरी दिन्छन् होला ? बालुवाटार प्रकरणमा माधव नेपाल, बाबुराम भट्टराई र विजय गच्छदारलगायत नेता पोलिएका छन् । भ्रष्टाचार निर्मूल र नियोजन गर्ने विषय हो ।
नवप्रवेशीको सही व्यवस्थापन र जोसुकैलाई भित्र्याएर ठूलो दल बन्ने सपनाले गलत मान्छेले प्रवेश पाउने र दलमा अरू अराजकता बढ्ने खतरा हुन्छ । पार्टीमा मान्छे भित्र्याउने शुद्धीकरण गर्ने एउटा प्रणाली विकास गर्नु आवश्यक छ । पार्टी नेता-कार्यकर्ताको शैली, बोली, अनुशासन, आचरण फरक होस् । छुट्टै पहिचानको पार्टी बनोस् ।
गृहमन्त्री ज्यू,
राम्रा भनिएका मान्छेहरूबाट काम बिगार्नुमात्रै होइन, काम नगर्नु पनि खराब काम जत्तिकै हो । काम नगर्नेलाई दण्ड आवश्यक हुन्छ । मैले काम बिगारेको छैन भनेर काम नदेखाई उम्कने छुट सायद छैन । त्यसैले म एउटा अर्काे पक्षमा पनि ध्यानाकर्षण गर्दछु । तपाईंले आजसम्म जे-जे विकृति र विसंगति देख्नु भएको छ ती सबैको लिस्ट बनाउनु होला । यदि त्यस्तो लिस्ट छैन भने आजसम्म तपाईंले चलाएका टेलिभिजन कार्यक्रममार्फत जनताबाट पाउनु नै हुनेछ । ती सबैलाई तपाईं र तपाईंको मन्त्रालयमार्फत जे गर्न खोज्नुभएको हो, सो गर्न थालनी गर्नुहोस् ।
नेपालमा सबैभन्दा बदनाम भ्रष्टाचारको केस हो । त्यसलाई प्राथमिकता दिनुस् । छानबिन थाल्नुस् । सो गर्दा सत्तासीन पार्टी र विपक्षी पार्टी ज-जसको नाम जता-जता मुछिएको छ, त्यता हात हाल्नुस् । प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्री नै सर्वेसर्वा हुनाले उनको अनुमति पाएर निर्धक्क र निर्भिक भएर काम गर्न म्यान्डेट लिएर आएको छु भन्नुभएको छ । त्यसको पालना गरेर आफ्नो वचनबद्धताअनुसार काम गर्नुस् । कतै कसैको स्वार्थ बाझिएमा वा कोही प्रतिकार गर्न आएमा प्रधानमन्त्री, अरु कुनै मन्त्री, दलका नेता, विपक्षी दलका नेता, जो-जो अवरोध गर्न आउँछन् तिनको हिसाब राख्दै काम गर्नुहोला । कदाचित प्रधानमन्त्रीले काम गर्ने वातवरण दिएनन्, हातखुट्टा बाँधिदिए र असहज स्थिति आयो भने सम्झौता गरेर सिद्धान्त र नैतिकता विसर्जन गरेर आफू पनि सत्तामा नबस्नु र पार्टीलाई पनि सत्तामा नराख्नुहोला । बाहिर निस्केर भण्डाफोर गर्नुस्, तपाईंले जित्नुहुनेछ र अर्काे चुनावमार्फत आफ्नै बहुमत लिएर प्रधानमन्त्री बनेर चाहेको गर्न सक्ने वातावरण बन्नेछ । आँधीबेहरी र तुफानको वेग थाम्न सकिने हुनुपर्छ ।
अन्यथा त्यो विनाशकारी र विष्मयकारी बन्ने खतरा रहन्छ । रविजी तपाईंलाई सत्तामा पुर्याउनेले ओछ्याउने रातो कार्पेटभित्र षड्यन्त्र र धोकाका अनेकौं पासो र अल्झनहरू पनि हुन सक्छन् । पुराना दलहरूलाई आफ्नो अस्तित्व संकटमा जाने तनाव र दबाब छ । तसर्थ मुसालाई मार्न पनि उसको सबैभन्दा प्रिय खानेकुरा खोजेर विष राखिदिने हाम्रो व्यवहारिक ज्ञान भएको तथ्य भुल्नुहुँदैन । कृपया सानो गल्तीले देश बनाउने अभूतपूर्व अवसर नगुमाउनुहोला ।
तपाईंको शुभेच्छुक
सञ्जीव कार्की
(लेखक कार्की त्रिभुवन विश्वविद्यालयका अनुसन्धाता एवं एमफिल-पीएचडी हुन् ।)