मिल्ने साथीले लेनदेनमा डुबाए, मुद्दा लगाएर प्रहरी हिरासत पुर्याए
काठमाडौं । ठेक्काको काममा भएको कारोबारबाट सुरु भएको विवाद झगडासम्म पुग्दा कुनै समय मिलेर हिँड्ने गरेको समूहका चार जना यतिबेला प्रहरी हिरासतमा पुगेका छन् ।
ड्यानियल न्यौपाने भनिने सुरज शर्माले आफुमाथि कुटपिट भएको भन्दै ज्यान मार्ने कसुरमा उजुरी दिएपछि आरोपीहरु प्रहरीकहाँ पुगेका थिए । न्यौपानेले आफूलाई फसाउन र विगतको कारोबार ‘डिसमिस’ गराउन मुद्दा लगाएको आरोपीहरुको दाबी छ ।
लेनदेनबाट सुरु भएको विवाद
अशिम बर्तौला, हेमन्त थापा, सुवर्ण लामा, ड्यानियल न्यौपाने साथी–साथी हुन् । हेटौँडामा उनीहरुबीच पुरानो चिनजान हो । ठेकेपट्टाको काम आउँदा उनिहरु मिलेर गर्थे ।
अमलेखगन्जस्थित आर्मी ब्यारेकभित्र घर निर्माणको काम पाएको डायना कन्स्ट्रक्सनका सन्चालक राजु चौलागाईले स्थानीय टोलीलाई परिचालन गर्ने सोच बनाएर नाताले भतिज पर्ने हेटौँडाका नवराज भट्टलाई भेट्छन् ।
उनीहरुसँग बर्तौला र न्यौपाने पनि जोडिएपछि काम अघि बढाउने निर्णय हुन्छ । चौलागाईसँग भट्ट नजिक रहेकाले स्थानीय प्रोजेक्टको समन्वय गर्ने जिम्मा उनैलाई दिन्छन् । तर काम सुरु भएपछि ठेकेदार सम्पर्कमा आउन छाडेपछि आवश्यक सामग्रीको अभाव हुन्छ ।
भट्टको अनुरोधमा बर्तौलाले २० लाख रुपैयाँ खोजेर सामान खरिदमा लगाउँछन् र सोही बराबरको चेक पनि लिन्छन् । बर्तौलाकाअनुसार त्यसपछि पनि न्यौपाने र भट्टले उनले उदारो लिन मिल्ने जति सबै ठाउँबाट सामान उदारो लिन लगाएका थिए ।
जब ठेकेदारले दिएको पैसा सबै न्यौपानेले झ्वाम पारे
काम सुरु भएपछि ठेकेदारले भट्टलाई दिएको एक करोड २१ लाख रुपैयाँ सबै न्यौपानेले लिएको र विभिन्न ठाउँमा लगानी गरेको दावी बर्तौलाले गर्दै आएका छन् ।
आफूले २० लाख रुपैयाँ दिएबापत दिइएको चेकसमेत नसाटिएको उनी बताउँछन् । अन्य विभिन्न ठाउँबाट लिएको उदारो तिर्न आफूलाई पटकपटक ताकेता भएपनि आफूसँग भएको जायजेथा सबै बिक्री भइसकेको उनको भनाई छ । ‘ड्यानियललाई अप्ठेरो पर्दा मेरी आमा, श्रीमती, दिदी र मेरो सबै सुनका गरगहना बैंकमा धितो राखेर २० लाख ऋण झिकेर दिएँ। पछिल्लोपटक विवाद हुनुभन्दा एक साता पहिले पनि मेरो श्रीमती र मेरो सुनका गरगहना बैंकमा राखेर १० लाख दिएको थिएँ । मोटरसाइकल बेचेर पनि पैसा तिरेको छु’, प्रहरीसँगको सोधपुछमा बर्तौलाले भनेका छन् ।
न्यौपानले भने ठेकेदारसँग अझै एक करोड ८० लाख रुपैयाँ पाउनु पर्नेभन्दै ठेकेदारसँग सम्बन्धित ट्रिपर, स्काईभेटर र अन्य उपकरण नियन्त्रणमा लिएको सन्चालक चौलागाईले दाबी गर्दै आएका छन् ।
त्यति मात्र होइन, आफूले पाउनुपर्ने रकम नपाएको भन्दै न्यौपानेले भट्ट र विभिन्न व्यक्तिका नाममा रहेको जग्गा श्रीमती, दिदी र सासुलगायतको नाममा जबर्जस्ती पास गरेको दाबी पक्राउ परेकाले प्रहरीसँगको प्रारम्भिक बयानमा गरेका छन् । ‘म डन हुँ कसले के गर्न सक्छ भन्दै हामीसँग न्यौपानेले व्यवहार गरे’, प्रहरीसँगको सोधपुछमा बर्तौलाले भनेका छन् ।
गत मंसिर २६ गते भएको साथीसाथीबीचको छलफलमा असिमलाई किन डुबाएको भन्दा न्यौपानेले उल्टै कुटपिट गरेको हाल प्रहरी हिरासतमा रहेकाहरुले बताएका छन् । ’ साथी भएर यत्तिसम्म गर्ने भन्दा न्यौपानेले उल्टै हाम्रा साथीलाई पिटे’, उनिहरुले प्रहरीसँग भनेका छन् ।
सोही विवादमा नङ काटिरहेको नेल कटरले न्यौपानको पाखुरामा अन्जानबस लागेको उनीहरुलाई भनाई छ । स्रोतका अनुसार न्यौपानेले विभिन्न व्यक्तिको नाममा काटिएको चेक बाउन्स भएपछि विभिन्न स्थानमा उनीविरुद्ध उजुरी रहेको छ । शक्तिको आडमा उनले आफुलाई कसैले केही गर्न नसक्ने बताउने गरेको बर्तौलाले बताएका छन् ।
मकवानपुर प्रहरीले जाहेरी आएका कारण अनुसन्धान भइरहेको बताएको छ ।’