खै यो कस्तो देश ? रेमिट्यान्स चल्छ तर उपहारमा ल्याएको मोबाइल चल्दैन
खाली समयमा कुशलतापूर्वक मेरो कलमको मसीले मार्ग खोज्दै थियो । म केही कोर्ने प्रयास गर्दै थिएँ । सायद जिन्दगी भोगाइ, सिकाइ, अनुभवको सँगालो हो । मान्छेका हरेकका आफ्नै कथाव्यथा हुन्छन् । तर, परदेशिएपछि ती नोस्टाल्जिया बन्ने रहेछन् ।
सायद यात्रा नै हो जिन्दगी । जति दिन बित्दै जान्छ, त्यति नै यात्रा अघि बढ्दै जान्छ । मेरै कुरा गरौं न, हिजो बाल्यकालमा एक किसिमको हृदयस्पर्श यादगार जहाँ मेटेर नमेटिने फेरि त्यही दिन भेटेर नभेटिने अवस्था आज हृदयभरि चित्रलेखा बनेर बसेको छ ।
बाल्यकालदेखि अहिलेसम्म पनि सबैको जिन्दगी यादगार नै बन्ने गर्छ । सायद व्यक्त गर्ने उपज मा फरक पर्ने हो । ओखलढुंगा भूगोलमा जन्मिएँ । सुर्के झोला भिरेर धूलोमैलोमा रमाएको मान्छे म । आज परदेशमा रहेर जिन्दगीलाई फर्केर हेर्दा ती कालखण्ड मेरो लागि स्वर्णयुग जस्तै लाग्छ । सानो उमेर हुँदा नै बाबा परदेशी हुनुभयो ।
उहाँले परदेशमा हाम्रा लागि खुशी खोज्दै गर्दा घरमा ममी र मसँगै रहेको भाइ लक्ष्मण मेरो सारथि नै हुनुहुन्थ्यो । सायद स्कूलमा पढाउने गुरुबा र गुरुआमाबाट अति नै प्रभावित थिएँ । उहाँहरुले सिकाउनु भएको बाटो बिराउने कोसिस त बिल्कुल नै गरिएन । तर पनि बाबा परदेशमा रहनुभएकाले गर्दा अरु साथीहरुको जति स्कुल जान पाउने अवसर मिलेन ।
जिन्दगी एक असल कर्मको उपमा हो भन्ने मलाई नेपाली पढाउने गुरुआमाबाट अति प्रभावित थिएँ । जिन्दगी जिउनमात्र हैन, कसैको लागि जिउन सक्नु पो जिन्दगी । एउटा जिन्दगीको हुटहुटी अझै पनि जीवित नै छ । परदेशमा भएर पनि जिन्दगीमा कसैको लागि केही गर्नु छ । सायद मेरो जस्तै जिन्दगी अरुको पनि हो भन्ने लाग्थ्यो ।
जिन्दगी जिउनमात्र हैन, कसैको लागि जिउन सक्नु पो जिन्दगी । एउटा जिन्दगीको हुटहुटी अझै पनि जीवित नै छ । परदेशमा भएर पनि जिन्दगीमा कसैको लागि केही गर्नु छ ।
एसएलसपीपछि छिमेकी जिल्ला रामेछापको रेडियोमा काम गर्ने मौका पाएँ । मलाई काम गर्नुपर्छ भन्ने बाध्यता घरबाट थिएन । तर पनि पढाइ र अनुभव बटुल्ने मलाई हुटहुटी थियो । जिन्दगीको अविरल यात्रा बहँदै थियो । त्यही बहाव सम्हाँल्दै गर्दा मन या भाग्यले कता कता मोडिनुपर्छ । जिन्दगीको अर्को नयाँ अध्यायको सुरुवात गर्न मलाई मेरो मामा र माइजूले साथ दिनुभयो । आज पनि त्यो गुण बिर्सिन सक्दिनँ । असल कर्म र तथ्यपरक समयसापेक्ष पाएको साथ नै चित्रलेखा बन्ने गर्छ । व्यक्त गर्न वाणी कम होला । तर, मनमा भने व्यक्त गर्ने शब्द नै अपुग हुन्छ ।
कोरियन भाषा परीक्षा पास गरेपछि छोटो समय भए पनि टेलिभिजनको पर्दामा देखापर्ने इच्छा जाग्यो । जिन्दगीको त्यो यात्रामा पनि राम्रा मान्छेहरु भेटिए । त्यो पनि छुट्टै रमाइलो कहानी छ । सबै लेख्न र व्यक्त गर्न अलि समय पुग्दैन । ती साथी, त्यो समय अनि जावलाखेलमा पीपलको बोट मुनि बसेर पिएको चियाको सुर्पी वाह-वाह नै थियो ।
हरेक मान्छेको जीवन एक सुन्दर उपन्यास बन्नसक्छ । हुन त अनुभवहरुको सँगालो बल्ल हुँदैछ । यो लेख्ने र सुनाउने वेला भइसकेको छैन । तर पनि आज अनायास ब्लगमा उतार्न मन लाग्यो डियर जिन्दगी । हिजो पनि फरक मान्छे फरक परिवेश फरक काम गर्दै हिँड्दै थिएँ । आज पनि त्यही नै छ । फरक यति छ, हिजो म मेरो देशमा थिएँ, आज परदेशमा छु ।
यहाँ पनि बिल्कुल फरक परिवेश र फरक मान्छेका विचारसँगै आफूलाई रमाउन सिक्दैछु । कसैले दिएको साथ, माया, सदभाव या पीडा यो संयोग त हो ।
मातृभूमिको गुण त तिर्न बाँकी नै छ । अनायास आफ्नो जिन्दगीका बारेमा नोस्टाल्जिक हुँदै गर्दा देशप्रेम त मर्दैन, चुत्थो देश भए पनि ।
नपल्टिएका कैयौं पानाहरु भोलि पल्टिँदै जानेछन् । रङ्गमञ्चको नाटक र जीवन उस्तै हो भन्नुमा मलाई कुनै अफसोच बिल्कुलै छैन । केही समय बचत गर्ने मेरो अर्को उपाय लेख्नुमा थियो । खास शब्द छैन । तर, फेरि पनि नपल्टिएका पानाहरु पल्टाउनुछ । जिन्दगीलाई संघर्ष र प्राप्तिमा उतार्नु छ । देशको लागि हामी परदेशीले बगाएका पसिनाको मूल्य रेमिट्यान्समार्फत चुक्ता गर्नुछ ।
परदेशमा भएर पनि जोडिनु भएका कोही साथीहरु यस्ता हुनुहुन्छ, मौनतामा कुरा बुझ्दिने । धेरै साथीमध्ये एक-दुई जनाले मलाई नेपालभन्दा टाढा यो कोरियाको नयाँ जिन्दगीमा साथ दिनुभएको छ र भरोसाको ठूलो महलमा बसेर हामी फेरि स्वदेशमै पसिना बनाउने संकल्प गरिरहेका छौं । मातृभूमिको गुण त तिर्न बाँकी नै छ । अनायास आफ्नो जिन्दगीका बारेमा नोस्टिाल्जिक हुँदै गर्दा देशप्रेम त मर्दैन, चुत्थो देश भए पनि ।
हामी सबै आआफ्ना जीवन कहानी सुनाउँछौं । परदेशमा भएपछि परिवार, आफन्त, देश अनि आफ्ना पुराना कुराहरु नै समय बिताउने मेलो बन्ने रहेछन् । सबैका आ आफ्नो कथाव्यथा छन् । मात्र यति हो ठूला मान्छेका कथा बिक्छन्, साना मान्छेका व्यथा बिक्दैनन् । यस्ता अनुभूति परदेशीहरुमै धेरै हुन्छन् कि ? आज आफूलाई प्रश्न गरिरहेको हुन्छु ।
मलाई थाहा छ, मेरो यो ब्लगबाट कुनै शिक्षा वा सन्देश नमिल्न सक्छ । तर, जब मान्छे देश छाडेर परदेशी बन्छ नि ! अनि यस्तै जिन्दगीका लेखाजोखा, कथाव्यथा र अनुभव-अनुभूतिहरु शेयर गर्न मन लाग्दोरहेछ । हामीले पठाएको रेमिट्यान्स चल्छ । तर, हामी फर्किंदा उपहारमा ल्याउने एउटा जाबो मोबाइल चल्दैन विनापैसा । यस्ता कथा त अझ नागबेलीजस्तै जेलिएका छन् । तर पनि फर्किएर हेर्दा जिन्दगी यात्रा, एउटा फ्रेममा फोटो राखे झैं म्युजियममा यादगार राख्न सकूँ जस्तो लाग्छ डियर जिन्दगी !
म यो लेखाइ र यो लेख म प्रयोग गरियका सब्द को समिप देखि धेरै प्रभावित भए