बुटवलमा आजदेखि रात्रीकालीन बजार सञ्चालनमा आउने – Nepal Press

बुटवलमा आजदेखि रात्रीकालीन बजार सञ्चालनमा आउने

रूपन्देही । आजदेखि बुटवलमा रात्रीकालीन बजार सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिकाले वडा नं ९ र ११ मा पर्ने कालिकापथ सडक बसपार्कदेखि होराइजन चोकसम्म रात्रीकालीन बजार सञ्चालन गर्न अनुमति दिएको हो । हाललाई राति ११ बजेसम्म बजार सञ्चालन गरिनेछ ।

व्यवसायीले रात्रीकालीन बजार सञ्चालनका क्रममा ग्राहकलाई निःशुल्क शौचालयको व्यवस्था गर्नुपर्नेछ । त्यस्तै पार्किङको लागि बुटवल बसपार्कमा व्यवस्था गरिएको बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेले बताए ।

उनका अनुसार व्यवसायीले बत्ती र सीसीटीभीको पनि व्यवस्था गर्नुपर्नेछ । अर्को वर्षसम्म उपहानगरले व्यवस्थित र राम्रो बत्तीको व्यवस्था गर्ने मेयर पाण्डेले प्रतिबद्धता व्यक्त गरे ।

रात्रीकालीन बजार सञ्चालन गर्न बुटवल उद्योग वाणिज्य संघ र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीलगायतले माग गरेका थिए । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले कोरोना कहरपछि थला परेका व्यवसायीलाई यसले केही राहत पुग्ने बताए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जिम्मेवारी बहन गरेर व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।

पर्यटन विकास परिषद लुम्बिनीका निर्देशक रामु जोशीले नेपालमा ६१ प्रतिशत पर्यटक रमाइलो गर्न आउने र रात्रीकालीन व्यवसायले उनीहरुको बसाइ लम्ब्याउन मद्दत पुग्ने बताए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजूले खस्किँदो बुटवलको बजारलाई चलायमान गर्न तथा व्यापार–व्यवसायको प्रर्वद्धन गर्न संघले लामो समयदेखि रात्रीकालीन बजार सञ्चालनबारे पहल पैरवी गर्दै आएको बताए ।

रात्रीकालीन बजारसम्बन्धी समितिका संयोजक प्रतीक पोखरेलले बजार सञ्चालन गर्न सबैभन्दा पहिले व्यवसायी तयार हुनुपर्ने बताए । त्यसपछि स्थानीय सरकारले वातावरण तयार गरिदिएर प्रहरी प्रशासनले शान्ति सुरक्षा व्यवस्था सहज बनाइदिनुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *