अर्घाखाँची पुगेर गहना चोरी महिलाको हत्या गर्ने भारतीय नागरिक पक्राउ
रुपन्देही । गाउँमा पुगेर महिलाको गहना लुटेर हत्या गरेको अभियोगमा अर्घाखाँचीमा एक भारतीय नागरिक पक्राउ परेका छन् । आइतबार बिहान ९ बजे अर्घाखाँचीको सितगङ्गा १० स्थित सिद्धागबोहखर जङ्गलमा स्थानीय ६० वर्षीया राधा थापाको शव रगताम्य अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
ती महिलाले लगाएको सुनको गहना लुट्ने उद्देश्यले भारतीय नागरिक सुशान्त सिंहले थापाको हत्या गरेको अर्घाखाँची प्रहरीले जनाएको छ । गाउँमा पसल संचालन गरेकी उनले हरेक दिन बिहानको समयमा दुध लिन जाने र उनले लगाएको गहनामा आँखा लगाएका सिंहले आइतबार बिहान थापालाई हंसिया र ढुंगाले प्रहार गरी हत्या गरेको अर्घाखाँची प्रहरीका सूचना अधिकारी कृष्णप्रसाद घिमिरेले जनाएका छन् ।
गहना लुटेर भाग्ने क्रममा गुँडगाँउ हरियाणा घर भई अर्घाखाँचीकी स्थानीय शिवकला परियारसँग बिबाह गरी चन्द्रौटामा बस्दै आएका सिंहलाई प्रहरीले पक्राउ गरेको हो । सिंहलाई सितगङ्गा ११ स्थित मुन्द्रिबास जङ्गलबाट पक्राउ गरिएको प्रहरी निरीक्षक घिमिरेले बताए ।
ससुराली आउँदा मृतक थापाले लगाएको सुनको गहना लुट्ने उद्देश्यले आफूले हत्या गरेको प्रहरीसमक्ष सिंहले सकार गरेको पनि घिमिरेले बताए । पक्राउ परेका सिंहलाई ७ दिनको म्याद थप गरि अनुसन्धान थालिएको पनि प्रहरीले जनाएको छ ।
शंकास्पदरुपमा जङ्गलमा फेला परेका सिंहले लगाएको कपडामा रगतको दाग देखिएपछि उनलाई पक्राउ गरिएको उनले बताए ।
श्रीमती शिवकलालाई चन्द्रौटाको कोठामा छाडेर एक्लै अर्घाखाँची पुगेका सिंहले बाटोमा ढुकेर बसेको र सधैको समयमा दुध लिन निस्केकी थापालाई पछाडिबाट ढुँगा र हंसियाले प्रहार गर िहत्या गरिएको प्रहरीले जनाएको छ ।