लुम्बिनीको मुख्यमन्त्रीका दुई दाबेदार, गठबन्धन भत्काउने योजनामा कांग्रेस – Nepal Press

लुम्बिनीको मुख्यमन्त्रीका दुई दाबेदार, गठबन्धन भत्काउने योजनामा कांग्रेस

रुपन्देही । लुम्बिनी प्रदेशमा सत्तारुढ नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट संसदीय दलको नेतामा छानिएका नेता हुन् लीला गिरी र जोखबहादुर महरा ।

प्रदेशको भावी मुख्यमन्त्रीका रूपमै निर्वाचनमा एजेन्डा बनाए दुवै जना प्रदेश सांसदहरूमा आफ्नो पार्टीमा सिनियर नेता हुन् । पार्टीमा दलको नेता छानिएसँगै उनीहरू मुख्यमन्त्रीका दाबेदार स्वतः बनेका हुन् ।

प्रदेशमा सबैभन्दा ठूलो दल एमालेसँग २९ सांसद छन् भने माओवादीसँग ९ जना सांसद छन् । तर सत्ता गठबन्धनमा रहेकाले यहाँ दुवै दलले सरकारको नेतृत्व दाबी गरिरहेका छन्।

एमालेबाट प्रदेशसभामा संसदीय दलको नेता छानिएका लीला गिरीसँग यसअघि मन्त्री बनेको अनुभव छ । उनी पार्टी पोलिटब्युरो सदस्य तथा प्रदेशको सह इन्चार्जसमेत छन् । उनी यसअघि शंकर पोखरेल मुख्यमन्त्री हुँदा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री थिए ।

रूपन्देही–२ को १ बाट पुनः निर्वाचित भएका गिरीले गठबन्धन दलमा ठूलो दलको हिसाबले एमालेले नै नेतृत्व पाउने बताएका छन् ।

एमालेले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए गिरी मुख्यमन्त्री बन्नेछन् । प्रदेशमा ठूलो दल भएकाले एमालेले नेतृत्व पाउनुपर्ने एमाले महासचिव शंकर पोखरेलको भनाइले पनि यहाँको सम्भावना एमालेकै देखिएको छ ।

‘प्रदेश नम्बर १, लुम्बिनी, गण्डकीमा एमाले बलियो भएको क्षेत्र हो, जहाँ जसको बलियो क्षेत्र हो त्यहाँ उसकै नेतृत्वमा सरकार बन्ने कुरामा गठबन्धनमा रहेका दलहरूले सहमति गर्नुको विकल्प हुँदैन, अन्य क्षेत्रमा सहमतिका आधार खोज्न सकिन्छ‘, प्रदेश सांसदहरूको शपथका लागि पुगेका महासचिव पोखरेलले पत्रकारसँग भनेका थिए ।

पार्टी सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले प्रदेशको ठूलो दल भएकाले यहाँको नेतृत्व एमालेमै आउनेमा विश्वास रहेका बताएका छन् ।

लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा स्थायी समिति सदस्य जोखबहादुर महरा चयन भएका छन्। रोल्पाको १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित महरा दलको नेतामा चयन भएका हुन्। अध्यक्ष प्रचण्डको स्वकीय सचिव भएको सिनियर नेता भएकाले उनलाई माओवादीले मुख्यमन्त्री बनाउन खोजेको छ ।

लुम्बिनी माओवादीको आधार इलाका भएकाले पनि यहाँको नेतृत्व माओवादीले दाबी गर्नु सामान्य भएको माओवादी लुम्बिनीका अध्यक्ष सुदर्शन बराल बताउँछन् ।

एमाले स्रोतका अनुसार प्रदेश १, गण्डकी र लुम्बिनीमा सरकारको नेतृत्व एमालेले पाउने गरी करिब सहमति भएकाले लुम्बिनीको मुख्यमन्त्रीमा लीला गिरीको करिब पक्काजस्तै भएको छ ।

८७ सदस्यीय प्रदेश सभामा अहिले सत्ता गठबन्धनमा रहेका ६ दलमा ५२ जना सांसद रहेका छन् । तर ४ सांसद रहेको नागरिक उन्मुक्ति, ३ सांसद रहेको जसपा र जनमत उपयुक्त भागबन्डा नपाए निहुँ खोज्ने तयारीमा छन् । यसले सत्तारुढ दललाई चुनौती थपेको छ ।

यी तीन दलले निहुँ खोजेमा माओवादीबाट टिकट नपाएर स्वतन्त्र जितेका तीन सांसद निर्णायक हुनेछन् । विपक्षी नेपाली कांग्रेसले असन्तुष्ट यी दललाई समाएर गठबन्धन भत्काउने गरी योजना बनाएको छ । कांग्रेसका एक सांसदले भने, ‘केही दिनमा नयाँ खबर पाउन सक्नुहुन्छ ।’ कांग्रेस नेताहरूले भनेजस्तै केन्द्रमा गठबन्धन गरेका दलहरूले प्रदेशमा फरक गठबन्धन बनाउन भने चुनौती छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर