सञ्चालन सुरूवातिमै पोखरा एयरपोर्टमा भद्रगोल, फितलो व्यवस्थापनले यात्रुको बिचल्ली (भिडिओ) – Nepal Press

सञ्चालन सुरूवातिमै पोखरा एयरपोर्टमा भद्रगोल, फितलो व्यवस्थापनले यात्रुको बिचल्ली (भिडिओ)

काठमाडौं । तीन दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त देखिएको छ । फितलो व्यवस्थापनका कारण विमानस्थलको टर्मिनल भवनमा सयौं यात्रुले सास्ती भोगेका छन् ।

आज बिहान ८ बजे उडानका लागि डेढ दुई घण्टाअघि नै आएका यात्रु ३ वटा जहाज लगातार डिले भएका कारण काठमाडौं आउन पाएका छैनन् । १ बजेसम्म जहाज उड्ने टुंगो नभएको एक यात्रुले बताए ।

ती यात्रुले नेपाल प्रेससँग गुनासो गरे, ‘विश्वका धेरै देशमा जहाजमा यात्रा गरेको थिएँ । तर, यहाँको विमानस्थल नयाँमै यस्तो बिजोक छ । सामान्य जानकारी लिन सहायता कक्षसमेत छैन । उडानबारे कसैले केही जानकारी दिएका छैनन् । अन्योलमा बसिरहेका छौं ।’

यात्रुहरूको व्यवस्थित बसाईको अभावमा टर्मिनल भवनमा कुनै हाटबजार लागे जस्तो भिडभाड छ ।

हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पोखरा विमानस्थलमा यात्रु किन यसरी भद्रगोल ? पारेको भनी सोध्दा अहिले सुरूको चरण भएकाले केही कमजोरी भएको बताउँछन् ।

उनले भने, ‘केही दिनअघि मात्रै विमानस्थल सञ्चालनमा आएको हो । विस्तारै सबै काम मिलाउँदै जान्छौं । अहिले नै सेवा राम्रो भएन भन्ने बेला भइसकेको छैन । तर, यात्रुले भने सेवा राम्रो नभएर दु:ख पाएका छन् । मौसम र विमानस्थल व्यवस्थापनको कारण केही समस्या आएको हो । हामी यसलाई जतिसक्यो छिटो हटाउनेछौं ।’

एक्जिम बैंकको ऋणले पर्न सक्छ समस्या

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चीन नेपालले चीनसँग ऋण लिएको छ । यदी यो विमानस्थल राम्ररी सञ्चालन हुन नसके ऋण तिर्नसमेत समस्या पर्न सक्छ । नेपालले एक्जिम बैंकबाट २२ अर्ब रूपैयाँ ऋण लिएको छ । एक्जिम बैंकले दिएको कुल रकममध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत अनुदान रकम हो । ब्याज २ प्रतिशत तिर्नुपर्नेछ ।

यो ऋण २० वर्षमा चुक्ता गरिसक्नुपर्ने सहमति छ । ऋण लिएको ७ वर्ष पूरा भइसकेको छ । आउँदै चैतबाट किस्ता तिर्न सुरू गर्नुपर्ने हुन्छ ।

तर, यात्रुलाई राम्रो सेवा दिन नसक्ने हो भने समस्या पर्ने देखिन्छ । अन्तर्राष्ट्रिय उडानका लागि पनि हवाई सेवा प्रदायक कम्पनीहरूले पोखराबाट उडान भर्न खासै चासो देखाएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *