जर्नेल शाही पक्राउ र अदालतको आदेशबीच कुनै सम्बन्ध छैन: सैनिक प्रवक्ता – Nepal Press

जर्नेल शाही पक्राउ र अदालतको आदेशबीच कुनै सम्बन्ध छैन: सैनिक प्रवक्ता

काठमाडौं । नेपाली सेनाले उपरथी प्रेमप्रकाश शाहीलाई नितान्त आर्थिक अनियमितताको आरोपमा पक्राउ गरिएको दाबी गरेको छ । अनिवार्य अवकाशमा जानुअघि बिदामा बसेका शाही सर्वोच्च अदालतको पत्र लिएर सैनिक मुख्यालय पुगेका थिए । त्यही वेला सैनिक प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

‘हामीले उहाँलाई बाहिर निस्कन नदिएको विषय र अदालतको आदेशबीच कुनै सम्बन्ध छैन’, सैनिक प्रवक्ता कृष्ण भण्डारीले भने । सेनाले अनिवार्य अवकाशमा जानुभन्दा १५ दिनअघि शाहीलाई बिदामा राखेको थियो ।

प्रवक्ता भण्डारीले अनिवार्य अवकाशमा जानुभन्दा १५ दिनअघि बिदा बस्ने चलन भएका कारण शाही बिदामा बसेको बताए । शाही बुधबारबाट अवकाशमा जाँदै थिए ।

‘हाम्रोमा भएको रेकर्डअनुसार भोलिबाट अनिवार्य अवकाश लागू हुने गरी उहाँ १५ दिनअघि बिदामा बस्नु भएको थियो । तर, बहालमा रहँदा आर्थिक अनियमितताको विषय आएपछि उहाँलाई आवश्यक अनुसन्धानका लागि भित्रै राखिएको हो’, सहायक रथी भण्डारीले भने ।

सेनाले शाही २०२२ पुस २० गते जन्मिएको आधिकारिक कागजात रहेका कारण बुधबारबाट अनिवार्य अवकाशमा जान लागेको जनाएको छ ।

यता शाहीले भने आफू २०२३ साल पुस २० गते जन्मिएकाले अझै एक वर्ष सेवा अवधि बाँकी रहेको भन्दै सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले केही दिनअघि शाहीको पक्षमा अन्तरिम आदेश दिएको थियो ।

त्यसपछि उनी आफ्नो सेवा लम्बिएको भन्दै पुनः हाजिर हुन पुगेका थिए ।

यसअघि शाहीले आफूले बुझाएको डकुमेन्टमा विद्यालयको कमजोरीका कारण त्रुटि भएकाले २०२३ पुस २० गतेलाई जन्म मिति कायम गर्न माग गर्दै सैनिक मुख्यालयमै निवेदन दिएका थिए । सेनाले समिति बनाएरै उमेर विवादको टुंगो लगाएको सैनिक मुख्यालयको दाबी छ ।

२०७२ सालमा सेनाले शाहीको जन्म मितिलाई २०२२ पुस २० गते आधिकारिक भएको निर्क्योल निकालेपछि विवाद समाधान भएको सैनिक उच्च अधिकारी बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *