शिक्षकका छोराछोरी बोर्डिङमा पढाएर सामुदायिक विद्यालयको सुधार हुँदैन: प्रअ धमला – Nepal Press

शिक्षकका छोराछोरी बोर्डिङमा पढाएर सामुदायिक विद्यालयको सुधार हुँदैन: प्रअ धमला

उदयपुर । २०७४ सालमा डोमिला धमला प्रधानाध्यापक भएर आउँदा उदयपुर पश्चिमी क्षेत्रको कटारी नगरपालिका- ७ रिस्कुस्थित जनप्रेमी माध्यमिक विद्यालयको अवस्था अस्तव्यस्त थियो । २०१९ सालमा स्थापना भएको विद्यालय सपार्न कहाँबाट काम सुरु गर्ने भन्ने अलमलमा थिएँ उनी ।

त्यसमाथि विद्यालयमा उनी एक्ली शिक्षिका थिइन् । विद्यार्थी संख्या पनि कम थिए । विद्यालयमा शिक्षकको दरबन्दी पूरा थिएन । त्यसैले धमलालाई विद्यालय सुधार्न चुनौती नै थियो । तर, आफूले हरेस नखाएको उनी बताउँछन् ।

सुरुमा के कसरी काम गर्ने भन्नेबारे कसैबाट सल्लाह सुझाव नपाएको बताउँदै प्रअ धमलाले भनिन्, ‘काम गर्दै गएपछि सबैले सहयोग गरे । त्यसपछि त विद्यालय सुधारको काम तीव्र भयो ।’

विद्यालयप्रति अभिभावकहरुको विश्वास जित्न प्रअ धमलाले आफ्नै छोरीलाई समेत जनप्रेमीमा भर्ना गरिन् । उनले विस्तारै अन्य शिक्षक तथा कर्मचारीका छाेराछाेरीलाई पनि जनप्रेमीमै पढाउन प्रेरित गरिन् । ‘सरकारी शिक्षकले आफ्ना छोराछोरीहरुलाई सामुदायिक विद्यालयमा नपढाइ अन्यत्रै निजीमा पढाए भने त आफैंले पढाएकोमा पनि विश्वास नगरेको जस्तै हुन्छ नि’, उनले भनिन्, ‘शिक्षकले आफ्ना छोराछोरी चाहिँ निजीमा पढाएर सामुदायिक विद्यालयको सुधार हुँदैन ।’

उनका अनुसार अहिले विद्यालयका सबै शिक्षक तथा कर्मचारीहरुका छोराछोरी जनप्रेमीमै पढ्छन् । यसले पनि अभिभावकहरुलाई जनप्रेमीमाथि विश्वास बढेको प्रअ धमला बताउँछिन् ।

विद्यालयमा शैक्षिकसँगै अतिरिक्त गतिविधि बढेपछि अभिभावकहरुमा सामुदायिक विद्यालयप्रति थप विश्वास बढेको उनकाे भनाइ छ । त्यसमाथि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएपछि सबैको ध्यान जनप्रेमीतिर तानिएको प्रअ धमलाले बताइन् ।

उनका अनुसार हाल कक्षा ४ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन भइरहेको छ । ‘अब कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गराउने तयारीमा छौं’, उनले सगौरव भनिन् ।

धमला उदयपुरमा उच्च मावि सञ्चालनमा रहेका विद्यालयकी एकमात्र महिला प्रअ हुन् । २०७४ मा जनप्रेमीकी एक्ली शिक्षिका एवं प्रअ धमलासँग अहिले महिला कर्मचारीमात्रै १० जना छन् । विद्यालयमा कूल २४ जना शिक्षक तथा कर्मचारी पुगेका छन् । विद्यालय सुधारमा सहयोग पुर्‍याउन पूर्वविद्यार्थी समाज पनि गठन गरिएको छ । प्रदीप ढुंगानाको अध्यक्षतामा गठन भएको समाजले विद्यालयमा शैक्षिक तथा अतिरिक्त क्रियाकलाप गर्न सघाइरहेको छ ।

प्रअ धमलाका अनुसार कटारी नगरपालिकाभित्र पूरा दरबन्दी भएको जनप्रेमी एउटामात्रै हो । जनप्रेमीमा शिक्षक तथा कर्मचारीमात्रै पूरा छैनन्, भौतिक पूर्वाधारसमेत मनग्ये भएको छ । पहिले अस्तव्यस्तको अवस्थामा रहेको जनप्रेमी अहिले कटारी नपाकै नमुना विद्यालय बन्न सफल भएको छ । विद्यालयमा अहिले ६६१ जना छात्रछात्रा अध्ययनरत छन् ।

‘नगरपालिकाले जनप्रेमीलाई नमुना विद्यालयको रुपमा विकास गर्दैछ’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर राउतले भने, ‘सबै गतिविधिमा विद्यालयलाई अगाडि बढाउन क्रियाशील डोलिमा धमला जनप्रेमीले प्रअ पाएपछिको नतिजा हो यो ।’

तर प्रअ धमलाले भने विद्यालय व्यवस्थापन समिति, अभिभावकहरु तथा सरोकार राख्ने सवै निकायको सहयोग र सहकार्यले मात्रै जनप्रेमीले नयाँ जीवन पाएको बताइन् ।

उनका अनुसार विद्यालय स्थापना भएको ६० वर्ष पुगेको अवसरमा यस वर्ष हिरक महोत्सव आयोजनाको तयारी अघि बढाइएको छ । ‘विगतमा विद्यालयले वार्षिकोत्सव, उत्सव तथा कुनै पनि महोत्सव गरेको रहेनछ’, प्रअ धमलाले भनिन्, ‘त्यसैले विद्यालयको इतिहास संरक्षण गर्न यस वर्ष महोत्सव गर्ने तयारी गरेका छौं ।’

धमला जनप्रेमीका १६ औं प्रधानाध्यापक हुन् । तर, आफू कतिऔं प्रअ भन्ने जानकारी लिन उनले गाउँभर सोधीखोजी गर्नुपरेको सुनाइन् । विद्यालयमा रेकर्ड नहुँदा हालसम्म को-को प्रअ भए भन्ने कुनै जानकारी नभएको उनको भनाइ छ ।

‘गाउँमा सोधीखोजी गरेर नाम पत्ता लगाएँ’, धमलाले भनिन्, ‘म जनप्रेमीको १६औं प्रअ रहेछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *