सबै विद्यालयमा समयमा नै पाठ्यपुस्तक पुर्‍याउन संसदीय समितिको निर्देशन – Nepal Press

सबै विद्यालयमा समयमा नै पाठ्यपुस्तक पुर्‍याउन संसदीय समितिको निर्देशन

काठमाडौं । देशका सबै विद्यालयमा समयमा नै पाठ्यपुस्तक उपलब्ध गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको मंगलबार बसेको ११६ औं बैठकले यस्तो निर्देशन दिएको हो ।

देशका सबै विद्यालयमा पाठ्यपुस्तक समयमा नै उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित मन्त्रालय र सरोकारवालासँग छलफल गरिसकेपछि यस्तो निर्देशन दिइएको समितिका सभापति प्रकाश पन्थले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार समितिले पाठ्यक्रम तयारी, पाठ्यपुस्तक छपाइ एवं वितरणमा रहेका समस्या दीर्घकालीन रुपमा समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

विद्यार्थीले विगतका वर्षमा जस्तो समयमा नै पाठ्यपुस्तक नपाउने नियति र सास्ती आगामी शैक्षिक सत्रदेखि भोग्न नपरोस् र विद्यार्थीले भर्ना हुनासाथ समयमा नै पाठ्यपुस्तक पाउने सुनिश्चितता गराउने सम्बन्धमा मन्त्रालयलाई आवश्यक समन्वयसहित पहल गर्न समितिले निर्देशन दिएको हो ।

समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्मा, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्याल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेल, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रवन्ध सञ्चालक अनिलकुमार झा र नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी एवं सचिवालय सदस्य यादवप्रसाद शर्मा लगायत छलफलमा सहभागि भएका थिए ।

समितिको बैठकमा समितिका सदस्य मदेव गौतम, कमला पन्त, कृष्णप्रसाद पौडेल, जगप्रसाद शर्मा, नन्दा चपाई, नारायण दाहाल, भुवनबहादुर सुनार, विमला घिमिरे, सिँगबहादुर विक र शारदादेवी भट्टले विभिन्न सुझाव दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *